मकवानपुर । आगामी जुन २१ र २२ मा बंगलादेशको ढाकामा हुने मैत्रीपूर्ण बंगबन्धु रग्बी सिरिज खेलका लागि मकवानपुरका विक्रम भरती छनौट भएका छन् ।
नेपालको राष्ट्रिय रग्बी टिममा मकवानपुरका विक्रम भारती दोस्रो पटक पर्न सफल भएका हुन् । नेपाली राष्ट्रिय रग्बी टिमका प्रशिक्षक विनोद तामाङ, राज टङ्क र गोपाल क्षेत्रीले यसै महिनाको सुरुमा भएको छनोट शिविरमा बोलाइएका ३५ जना खेलाडीमध्ये २८ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका विक्रम भारतीले जानकारी दिए ।
बंगबन्धु बंगलादेश–नेपाल मैत्रीपूर्ण सिरिजको तयारीका लागि छनोटमा मकवानपुरका ३ खेलाडी सहभागी भए पनि बन्द प्रशिक्षणमा जिल्लाबाट आफू मात्र पर्न सफल भएको उनको भनाई छ ।
मैत्रीपूर्ण खेलको क्रममा नेपाली रग्बी टिमले बंगलादेशमा दुई ‘७ साइड’ र एक ‘१५ साइड’ को खेल खेल्ने जनाइएको छ । भारती दोस्रो पटक रग्बीको राष्ट्रिय टिममा परेका हुन् । यसअघि पनि यसै प्रतियोगिताको लागि राष्ट्रिय टिममा परेका भारती प्रतियोगिताको मिति सारिएपछि पुनः छनोटबाट फर्वाडको भूमिकामा टिममा परेका हुन् ।
भारती मकवानपुर जिल्ला रग्बी टिमका प्रशिक्षक समेत रहेका छन् । बन्द प्रशिक्षणको लागि राष्ट्रिय रग्बी टिमको फर्वाडमा भारतीसहित श्रीराम श्रेष्ठ, सुमन चौलागाईं, यदु अधिकारी, रोशन घर्ती, सुजन कुमाल, रमित बहादुर मल्ल, बिवेश बसु, नवीन महर्जन, किरण गुरुङ, अमरसिंह श्रेष्ठ, रामकिशोर चौधरी, शेरबहादुर ओली, क्षितिज कार्की, सञ्जीव कुमाल पर्न सफल भएका छन् ।
यसैगरी टिमको ब्याकतर्फ कृष्ण क्षेत्री, प्रेमबहादुर कोइराला, विक्रम पुरी, सञ्जय अधिकारी, विराट श्रेष्ठ, हुत्तराज प्रधान, झुकेन राई, दिनेश ठोकर तामाङ, निरोज कार्की, सुरज चौधरी, पुजन फेवाली, भेस राजबस्तोला र सविन महत रहेका छन् ।

