मकवानपुर । सप्ताहव्यापी रूपमा विश्व वातावरण दिवसका मनाउने सन्दर्भमा आज हेटौंडामा वातावरणीय सचेतना मूलक सन्देश सहितको साइकल र्याली गरिएको छ ।
हेटौंडा उपमहानगरपालिका कार्यालयबाट सुरु भएको साइकल र्यालीले हेटौंडा बजार परिक्रमा गरेको थियो । टोल विकास संस्था नगर समन्वय समितिको हेटौंडा उपमहानगरपालिकाको आयोजनामा कार्यक्रम गरिएको हो ।
उपमहानगरपालिका कार्यालयबाट सुरु भएको र्याली चौघडा, हटिया, रातोमाटे, बजार क्षेत्र हुँदै पुन उपमहानगरपालिका कार्यालयमा आएर समापन गरिएको थियो । उपमहानगरपालिका प्रमुख मेयर मिना कुमारी लामाले साइकल र्यालीको उद्घाटन गरेकी थिइन् ।
कार्यक्रममा हेटौंडा–२ का वडा अध्यक्ष बिष्णु गोपाल महर्जन, उपमहानगरपालिका सामाजिक विकास महाशाखा प्रमुख विष्णु कुमारी लामिछाने लगायतकाको आतिथ्यता रहेको थियो । टोल विकास संस्था नगरसमन्वय समिति हेटौंडाका अध्यक्ष धुर्ब अधिकारीको अध्यक्षतामा कार्यक्रम भएको हो ।
अध्यक्ष अधिकारीले टोल बिकास संस्था नगर समन्वय समिती हेटौंडा उपमहानगरपालिकाको हरेक बर्षको जेठ २२ गते बिश्व बाताबरण दिवसलाई सप्ताहब्यापी रुपमा बाताबरण संरक्षणका बिबिध कार्यक्रमको आयोजना गरेर मनाउने गरेको बताए । भोलि बृहत र्याली तथा झाँकी सहित वातावरण संरक्षण बारे जनचेतना र्याली गर्ने तयारी भएको अध्यक्ष अधिकारीले बताए ।
हेटौंडा उपमहानगरपालिका भित्रका ४ सयबढि टोल विकास संस्था, सामाजिक संघसंस्था तथा वन समितिहरूले र्यालीमा सहभागिता जनाउने छ । र्यालीमा सर्वोत्कृष्ट हुनेलाई प्रोत्साहन स्वरुप १५ हजार प्रदान गरिने सचिब ज्ञानबहादुर थापाले बताए ।

