मकवानपुर । मकवानपुर फुटबल संघको आयोजनामा जारी स्थानीय तह शहिद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकपको शनिबारको खेल स्थगित भएको छ ।
हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंंगशालामा भइरहेको प्रतियोगिता अन्तर्गत शनिबारको खेल हेटौडामा भारी बर्षा भएपछि स्थगन गरिएको खेल संयोजक प्रताप बिष्टले बताए । बर्षाको कारण खेल मैदानमा पानी जमेर आल बनेपछि शनिबारको खेल स्थगन भएको हो। खेल तालिका अनुसार शनिबार आजको खेल एपीएफ र फ्रेण्डस क्लब बिच रहेको थियो ।
शनिबार दिउँसो हेटौंडामा भारी बर्षा भएको थियो । खेल मैदानमा पानी जमेर खेल्न सक्ने अबस्था नरहेका कारण शनिबारको खेल आईतबार बिहान ८:३० बजे देखी आयोजना गरिने बिष्टले बताए । साथै आईतबार अपरान्हको प्रतियोगिता नेपाल पुलिस र खुमलटार क्लब बिच हुने तालिका रहेको छ ।
३० गते सम्म जारी रहने प्रतियोगितामा विजेता टोलीले शिल्ड,मेडल र प्रमाणपत्रसहित १५ लाख र उपविजेता टोलिले १० लाख प्राप्त गर्ने छन् । प्रतियोगितामा १२ वटा क्लबले सहभागिता जनाएका छन् । अघिल्लो बर्षको भन्दा यस बर्ष पुरस्कारर राशी बृद्धि गरिएको छ । अघिल्लो बर्ष विजेताले १० र उपविजेताले ५ लाख रुपैयाा प्राप्त गरेका थिए । प्रतियोगिताको लागि करिब १ करोड १७ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजकले बताएको छ । अघिल्लो संस्करणमा नेपाल आर्मी च्याम्पियन हुँदा घरेलु टिम उपविजेता बनेको थियो ।
प्रतियोगिताको उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता तथा उत्कृष्ट प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ तथा प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद १० हजार रुपैयाासहित ट्रफी प्रदान गरिनेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडलाई बुलेट मोटरसाइकल प्रदान गरिने प्रतियोगिता संयोजक प्रताप विष्टले जानकारी दिए ।
अघिल्लो बर्षझैं यस बर्ष पनि सर्वोत्कृष्ट खेलाडीका लागि हेटौंडाको हेटौंडा स्कुल अफ म्यानेजमेण्ट एण्ड सोसियल साईन्सेज कलेजका संयोजक पुरणबहादुर जोशीले बुलेट मोटरसाइकल उपलब्ध गराउने भएका हुन् । प्रतियोगितामा एक करोड १७ लाख ९२ हजार रुपैयाँ कुल लागत लाग्ने अनुमान गरिएको आयोजकले बताएको छ ।

