आसन्न स्थानीय तहको निर्वाचनको तयारीमा उम्मेदवारहरु अहिले घरदैलोमा व्यस्त छन् । निर्वाचनमा प्रतिनिधिको उम्मेदवार बनेकाहरुसँग प्रतिवद्धता लिनको लागि हामीले म बनाउँछु मेरो वडा/पालिका स्तम्भ सुरु गरेका छौ । यसै अन्तरगत हेटौंडा उपमहानगरपालिका वडा ५ मा एमालेबाट वडा सदस्यको उम्मेदवार ज्ञानबहादुर थापासँग सोधेका छौं तपाईलाई नै किन जिताउनु पर्ने, वडाको विकासमा तपाईको संकल्प के छ ?
हेटौंडा ५ वडाका मतदातहरुसँग एक चरणको घरदैलो अभियान सकेका छौ । यो अभियानले हामीलाई साह्रै उत्साही पनि बनाएको छ । उहाँहरुलाई घरभेटमा आफ्नो प्रतिबद्धताबारे जानकारी गराएका छौ । उहाँहरुले पनि एकदम राम्रो रेस्पोन्स गर्नु भएको छ ।
विगतमा पनि उहाँहरुको माया पाएकै हौं, यस पटक झनै धेरै माया र सहयात्राको लागि साथ पाउनेमा हाम्रो टीम ढुक्क छ । नेकपा एमालले विगतमा गरेको काम नै उहाँहरुले अहिले हाम्रो टीमलाई विश्वास गर्ने दरीलो आधार हो । हामी हिजो पनि वडावासीसँगै उहाँहरुको दुख सुखमा साथै थियौ, आज पनि छौं, र भोली पनि उहाँहरुकै साथमा रहने छौ ।
हेटौंडा ५ को वडावासीहरु एमालेसँग एकदमै सकारात्मक हुनुहुन्छ । एमाले जनताको पार्टी हो, एमालेले जित्दा मात्रै जनताको भलाई र वडाको विकास संभव छ भन्नेमा वडावासीहरु जानकार हुनुहुन्छ । निर्वाचनमा मतदान गर्ने समय अझै बाँकी छ । हामी यो बाँकी समय मतदाता शिक्षा बारे सचेतना कार्यक्रम गर्दैछौ । हामीलाई अझै केही मतदाताहरुले घरघरमा बोलाउनु भएको छ, आफ्नो प्रतिवद्धता बारे अझै प्रष्ट हुनको लागि बोलाइराख्नु भएको छ । हामी यो बाँकी समयमा उहाँहरुको सल्लाह सुझाव लिनेछौ । वृद्धवृद्धाहरु, महिलाहरु, बालबालिकाहरुको लागि हाम्रो टीमले गर्ने र गर्नुपर्ने योजना तथा कामबारे उहाँहरुको सल्लाह र सुझावको लागि हामी घरघर जाँदैछौ ।
वडालाई विभिन्न क्लस्टरमा विभाजन गरी सामाजिक अमनचयन र सुरक्षाका लागि निगरानी समुहहरु बनाई परिचालनदेखि भौतिक पूर्वाधारको कार्यक्रम हामीले ल्याएका छौं । वडाका सुरक्षार्थ मुख्यमुख्य स्थानहरुमा सिसिटिभिबाट निगरानी गरिने ब्यवस्था गरिनेछ, वडाका वासिन्दाहरुको रोजगारी, विदेशमा रहेको संख्या, महिला पुरुष, बालबालिका, जेष्ठ नागरिक, श्रमिक, कृषकहरुको लगायत सम्पुर्ण जानकारीहरुको डिजिटल रेकर्ड राख्यो योजना हामीले बनाएका छौ । जसले गर्दा वडाको तथ्यगत वस्तुस्थिती पत्ता लगाउन सकिन्छ ।
प्रविधिमैत्री वडा बनाउने योजनाहरु पनि हामीसँग छ । वडाको प्रत्येक टोलमा फ्रि वाईफाईको व्यवस्था गरिनेछ, सार्वजनिक स्थानमा शौचालयको व्यवस्था गरिनेछ । वडा भित्र पर्यापर्यटन विकासको लागी साईकल ट्रयाक निर्माण तथा कर्रा खोलामा करिडोर निर्माण गर्ने कार्यक्रम पनि हाम्रो टीमको योजनामा छ । वडामा रहेका भएका बाटोहरु सार्वजनिक गरिने छ भने, सार्वजनिक भवनहरू मन्दिर, सामुदायिक भवन, पुस्तकालय, वन समितको सभाहल, प्रतिक्षालय, कृयापुत्री भवन मर्मत सुधार, रंगरोगन गरिनेछ । शान्ति पार्कको निर्माण र विस्तार गरिनेछ ।

अन्तमा मतदाताहरुलाई भन्न चाहन्छु कि, तपाईहरुले हाम्रो क्षमता र योग्यतालाई चिन्नु नै भएको छ । हाम्रो नेतृत्वलाई जिताउनको लागि तपाईको अमुल्य मत दिएर हामीलाई अवसर दिनुहोस् भोलीको काम तपाइहरुकै सल्लाह र निर्देशन अनुसार नै हुने छ । मसंगै मेरो टीममा रहनु भएका अध्यक्षका उम्मेदवार सुशिल घिमिरे र सदस्यहरु रामबहादुर राई, रञ्जिता सिलवाल र भगवती बिकलाई जिताइदिनु हुन मेरो अनुरोध छ ।

