आसन्न स्थानीय तहको निर्वाचनको तयारीमा उम्मेदवारहरु अहिले घरदैलोमा व्यस्त छन् । निर्वाचनमा प्रतिनिधिको उम्मेदवार बनेकाहरुसँग प्रतिवद्धता लिन हामीले म बनाउँछु मेरो वडा /पालिका स्तम्भ सुरु गरेका छौ । यसै अन्तरगत हेटौंडा उपमहानगरपालिका वडा ५ मा एमालेबाट वडा सदस्यको उम्मेदवार रञ्जिता सिलवालसँग सोधेका छौं तपाईलाई नै किन जिताउनु पर्ने, वडाको विकासमा तपाईको संकल्प के छ ?
सर्वप्रथमतः अघिल्ला जनप्रतिनिधिहरुले गरेर बाँकी रहेका काम पुरा गर्ने प्रतिवद्धता हामी गर्दछौ । निर्वाचन नजिकिदै गर्दा हामीलाई हाम्रो वडावासीले थप हौसला र उत्साह प्रदान गर्नु भएको । यसको लागि वडावासीलाई यस्तै माया र हौसला भोलीका दिनमा पनि दिनुहोस् भन्न चाहन्छु ।
नेकपा एमालेबाट उम्मेदवार बनेको हाम्रो टीमले वडाको समग्र क्षेत्रको विकास निर्माणको योजनाबारे संकल्प पत्र सार्वजनिक गरिसकेको अवस्था छ । म महिला भएको कारणले पनि वडाको विकासमा विशेषतः महिलाको क्षेत्रमा मेरो ध्यान हुनेछ । महिलालाई सशक्तिकरण गराउने, महिला मैत्री पार्क निर्माण गर्ने वृद्धा महिलाहरुको लागि स्वास्थ्य सेवा, उहाँहरुको सामाजिक सुरक्षाको लागि आवश्यक कार्यहरु गर्नेमा मेरो ध्यान रहने छ । म महिला भएकोले पनि मैले महिलाको धेरै समस्यालाई नजिकबाट देखेको छु, सुनेको छु, भोगेको पनि छु ।
महिलाको नितान्त व्यक्तिगत समस्यालाई साझा समस्याको रुपमा समाधान गर्नेमा मेरो पहल हुने छ । महिलाको सशक्तिकरण, महिला सुरक्षा र महिला नेतृत्वको लागि म लाग्नेछु । महिलाहरुले आफ्नो पीडाहरु भन्नुहुन्न, उहाँहरुको लागि धेरै काम गर्नु छ । स्वास्थ्य समस्या झेलेर बस्ने महिलालाई स्वास्थ्योपचारको लागि काम गर्नुछ । घरैमा बसेर समय बिताउने धेरै महिलाहरु हुनुहुन्छ, जो घर बाहिर निस्कन चाहनुहुन्छ तर अवसुर नहुँदा घरैमा मोवाइल र टीभि हेरेर बस्न बाध्य हुनुहुन्छ । उहाँहरुलाई घर बाहिर ल्याएर स्वरोजगार बन्ने अवसरको खाँचो छ । उहाँहरुको लागि पनि उहाँहरुको सिप विकास गरी क्षमता अनुसारको लघु उद्यमहरुको व्यवस्था हुनु पर्नेछ ।
म प्रतिनिधि भएर आएपछि यस्ता यस्ता काममा पहल गर्ने छु । जसले गर्दा हाम्रो वडाका सबै महिला सशक्त हुनुहोस् र कुनै प्रकारको हिंसाबाट प्रताडित नहुनुहोस् । हामी हाम्रो वडालाई महिलाहिंसा मुक्त वडा बनाईने सपना पनि देखिरहेका छौ । यसका लागि चेतनात्मक तालिम एवम् जागरण अभियान संचालन गरिनेछ ।
महिलासँगै बालबालिकाको लागि खेल्न र रमाउन सक्ने, प्रकृति र कलाले मिश्रित सिर्जनशिल पार्क निर्माण गरिनेछ । वडाबाट प्रदानगरिने सेवाहरुमा बालबालिका सम्बन्धिकामहरु विशेष प्राथमिकता साथ छिटो छरितोरुपमा प्रदान गरिनेछ । यस वडामा विद्यालय जाने उमेर भएका सबै बालबालिकाहरु विद्यालय भर्ना हुने अवस्था सिर्जना गरिनेछ । कक्षा ८ सम्म पढि पढाई छोडेका बालबालिकालाई खुल्ला विद्यालयमा भर्ना गरि एसईई परिक्षा दिने ब्यवस्था गरिनेछ ।
अर्को कुरा म आफूले मात्रै जितेर त्यहाँ पुग्दा मैले बनाएको योजनाहरु लागु नहुन सक्छन्, मेरो मात्रै बलले योजनाहरु पुरा नहुनसक्छन्, यसको लागि टीमकै खाँचो छ । हाम्रो टीम भएमात्रै हामीले चाहेको काम गर्न सक्नेछौ । विगतमा नै देखिएको छ कि वडाको एक वा दुई सदस्यहरुले मात्रै चाहेर समग्र काम गर्न सकिदैन । एमालेको टीम आएमा मात्रै हामीले बनाएका संकल्पहरु पुरा गर्न सक्छौ ।

हाम्रो वडावासीले हामीलाई अवसर दिनुहुने छ भन्ने हाम्रो आशा छ, र आव्हान पनि यहि हो । यो पटकको निर्वाचनमा हाम्रो टीमलाई विजयी गराइदिनुहोला । मसंगै मेरो टीममा रहनु भएका अध्यक्षका उम्मेदवार सुशिल घिमिरे र सदस्यहरु रामबहादुर राई, ज्ञानबहादुर थापा र भगवती बिकलाई जिताइदिनु हुन मेरो अनुरोध छ ।

