आसन्न स्थानीय तहको निर्वाचनको तयारीमा उम्मेदवारहरु अहिले घरदैलोमा व्यस्त छन् । हामीले निर्वाचनको संघारमा प्रतिनिधिको उम्मेदवार बनेकोहरुसँग प्रतिवद्धता लिनको लागि हामीले म बनाउँछु मेरो वडा/पालिका स्तम्भ सुरु गरेका छौ । यसै अन्तरगत हेटौंडा उपमहानगरपालिका वडा ५ मा एमालेबाट वडा अध्यक्षका उम्मेदवार बनेका सुशिल घिमिरेसँग सोधेका छौं तपाईलाई नै किन जिताउनु पर्ने, वडाको विकासमा तपाईको संकल्प के छ ?
वडाको भौतिक पूर्वाधारसँगै समाजिक तथा वातावरणीय सवालमा हाम्रो टीमले धेरै राम्रा राम्रा कार्यक्रहरु अघि सारेको छ । उपयुक्त स्थान पहिचान गरी ज्येष्ठ नागरिक पार्क स्थापना गरिने, उहाँहरुको निुशल्क स्वास्थ्य जाँच गरिने योजनाहरु हामीसँग छन् । यसैगरी ज्येष्ठ नागरिकको अनुभव र कथा बालबालिकालाई सुनाउने र बालबालिकाको प्रश्न र जिज्ञासा ज्येष्ठ नागरिकलाई सोध्न पहिलो पुस्ता र तेस्रोबीच माया, सम्मान र हार्दिकता बढाउन विशेष प्रकारको कार्यक्रमका योजनाहरु हामीसँग छन् ।
दुर्घटना, आगलागि वा अन्य विपद् वा संकटको बेला आकस्मिक उद्वार एवम् प्राथमिक उपचारको कार्य गर्न आकस्मिक उद्वार वा रेस्पोन्स टिम तयार गर्ने, वडालाई वातावरण मैत्री हरित वडा बनाईने, सार्वजनिक जमिनको खोजी एवम् पहिचान गरि संरक्षण गर्ने, शहरी सौन्दर्य वृद्धिका लागि अस्तब्यस्त तारहरुको व्यवस्थापन गर्ने, जोखिममा रहेका जिर्ण विद्युतका पोलहरुको सट्टामा नयाँ पोलहरुको व्यवस्था गर्ने, वडाभित्र रहेका मठमन्दिर, पाटी पौवाहरुको संरक्षण गर्ने धेरै महत्वपूर्ण र दुरगामी महत्व राख्ने योजनाहरु हामीले अघि सारेका छौ ।
हामीले हाम्रो वडाको लागी ५ वर्षे योजना बनाएका छौ । छरपस्ट रुपमा रहेको वस्तिलाई प्लानिङ गरेर व्यवस्थित बस्ति बनाउने योजना हामीमा छ । अपार्टमेन्ट जस्तो बसाउन सकियो भने, बस्तिहरुको जमिन अनावश्यक रुपमा दुरुपयो हुँदैन, बस्तिको विकासमा सहजता हुनेछ, कृषि भूमिहरु रहने छन्, प्रयाप्त खालि ठाउँहरु रहने छन् । बस्तिमा सबै पूर्वाधार पुरा गर्न सकिन्छ ।
यि त भए केही प्रतिवद्धता तथा योजनामा रहेका कुराहरु । अब मतदानको लागि केही समय मात्रै बाँकी छ । अबको हाम्रो अभियान भनेको मतदाता शिक्षाको हो । बितेको घरदैलोमा छुटेका घरघरहरुमा हामी जाने छौ ।
वडावासीहरुलाई मेरो आग्रह, हामीलाई एक चान्स दिनुस्, हामी तपाईको आशालाई निराशा हुने मौका दिने छौनौ, वडामा आउँदा तपाईलाई आफ्नो घरको वातावरण प्राप्त हुनेछ, तपाईहरुको आग्रह, आदेश र निर्देशन अनुसार नै हाम्रो टीमले सिङ्गो वडाको विकासमा लाग्ने छौ ।

तपाईहरुको साथ बिना यो संभाव छैन । हर जनताको दुख सुखमा हामी साथ हुने विश्वास दिलाउन चाहन्छौ, हाम्रो चाहानालाई व्यवहारमा उतारेर देखाउने सुनौलो अवसर हाम्रो टीमलाई मतदान गरेर बाटो खुल्ला गरिदिनुहोस । मसंगै मेरो टीममा रहनु भएका ज्ञानबहादुर थापा, रामबहादुर राई, रञ्जिता सिलवाल र भगवती बिकलाई जिताइदिनु हुन मेरो अनुरोध छ ।

