मकवानपुर । आसन्न स्थानीय तहको निर्वाचनका सन्दर्भमा यस मकवानपुर जिल्ला भित्र १० वटा स्थानीय तहमा निर्वाचन सुरक्षा अवस्था बारे मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले अनुगमन गरेका छन् ।
जिल्लाको १६५ वटा मतदान स्थल र ३५६ वटा मतदान केन्द्रहरू कायम भएसँगै प्रजिअले सुरक्षा व्यवस्था बारे अनुगमन गरेका हुन् ।
सुरक्षाका दृष्टिकोणले १६५ वटा मतदानस्थलमध्ये १९ वटा अतिसंवेदनशील, ६० वटा संवेदनशील र बाँकी ८६ वटा कम संवेदनशील (सामान्य) रहेका बताइएको छ।
जिल्लाभित्र स्थानीय तहको निर्वाचन भयरहित शान्तिपूर्ण र सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्नका निम्ति गृह मन्त्रालयबाट प्राप्त स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना, २०७८ का आधारमा मकवानपुर जिल्लाको स्थानीय तह निर्वाचन विशेष सुरक्षा योजना जिल्ला सुरक्षा समितिबाट पारित गरी कार्यान्वयनमा ल्याइएको प्रजिअ पाण्डेले बताए ।

विशेष सुरक्षा योजनाका आधारमा जिल्लाभित्रका करिब ४० प्रतिशत भन्दा बढी मतदानस्थल तथा मतदान केन्द्रहरूको निरीक्षण पाण्डेको नेतृत्वमा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूबाट भइसकेको र बाँकी मतदानस्थल तथा मतदानकेन्द्रहरूको निरीक्षण जारी रहने बताइएको छ ।
स्थानीय तहको निर्वाचनलाई भरपर्दो एवं विश्वसनीय बनाउन जिल्लाभित्र रहेका इजाजतपत्र प्राप्त हातहतियारहरू मिति २०७८ साल चैत्र मसान्तसम्म नजिकको प्रहरी इकाईमा बुझाउन हतियार धनीहरूको लागि ११ चैतमा नै सूचना जारी गरिएको छ । हाल हातहतियार बुझ्ने कार्य भइरहेको प्रशासनले जनाएको छ ।
जिल्लामा १ हजार ४७३ जना म्यादी प्रहरी छनौट गरी २८ चैतबाट जिल्ला प्रहरी कार्यालय, मकवानपुरद्वारा तालिम प्रदान गर्ने कार्य प्रारम्भ गरिएको छ । यसका साथै स्थानीय तहको निर्वाचनका समयमा जिल्लाभित्रका विभिन्न मतदानस्थल /मतदानकेन्द्रहरूमा खटिने कर्मचारीहरूको विवरण तयारीको कार्य समेत भइरहेको छ ।

