मकवानपुर/जिल्लाको ठुलो दल नेकपा एमाले र सत्ता गठबन्धनका पार्टीहरुले स्थानीय तहहरुमा आगामी ५ वर्षको लागि नेतृत्व पठाउनको लागि रस्साकस्सी जारी छ । बागमती प्रदेशको एक मात्रै उपमहानगरपालिका हेटौंडा उपमहानगरपालिकामा मेयर र उपमेयरको टुङ्गो लगाउन आइतबार बसेको पार्टी नगर कमिटीले अन्तिम प्रयास गर्दा पनि सहमतिमा नामको टुङ्गो लगाउन सकेन ।
नगरको मेयर र उपमेयरको आकाक्षिहरु धेरै भएपछि र उनीहरु बिचमा सहमति नभएपछि नगरकमिटीले जिल्ला कमिटीमा सबैको नाम सिफरीस गर्नुपर्ने वा आन्तरीक निर्वाचन गराउनु पर्ने अवस्थामा पुगेको छ । जसमा १ महिला सहित ९ जना मेयरको दाबिमा छन् भने १ पुरुष सहित ७ जना उपमेरको दाबिमा छन् ।
एमाले हेटौंडा नगर कमिटीको बैठकले सर्वसम्मत् निर्णय गर्न नसकेपछि हेटौंडा उपमहानगरपालिकाको मेयर पदका लागि हाल बहालवाला मेयर हरिबहादुर महत सहित ९ जनाको नाम सिफारिस गरेको हो । पार्टी नगर कमिटीका अनुसार रघुनाथ खुलाल, रामेश्वर राना, एकलाल श्रेष्ठ, अनन्त पौडेल, मदनकुमार दाहाल, ध्रुब चौलागाईं, विके महर्जन र गणेशकुमारी प्रधानलाई मेयरको लागि सिफारिस गर्नु पर्ने अवस्थामा नगर कमिटी पुगेको छ ।
त्यस्तै उपमेयर पदका लागि सुमित्रा काफ्ले, मेनुका दाहाल, सीता बिष्ट, प्रतिमा श्रेष्ठ, आरती पाठक, रमिला सापकोटा र इन्द्र नेपाललाई सिफारिस गर्ने तयारी गरेको बुझिएको छ । यद्यपि अझै २ दिन सहमतिको प्रयास गरिने र नभए निर्वाचनको प्रक्रियमा जाने आन्तरीक तयारी भएको एक नेताले बताए ।

