मकवानपुर/प्राधिकरणले भारतबाट आयात हुने बिजुली आयात गर्न समस्या परेका कारण विद्युत् आपूर्ति बन्द हुँदा हेटौंडाका उद्योगहरु मारमा परेका छन् । कोरोना भाइसरको संक्रमणको कारण बन्द रहेका उद्योगहरु विस्तारै बाँमे सर्न लागेको बेला अघोषित लोड सेडिङ हुँदा फेरी समस्या परेको हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन प्रमुख राजेन्द्र कँडेलले बताए । लगातार १४ घण्टासम्म बत्ति काटिएको कारण उद्योग सञ्चालनमा समस्या भएको कंडेलले बताए ।
शनिबार ७ घन्टा आइतबार १२ घन्टा र सोमबार १४ घन्टा बत्ति काटिएको उनले बताए । आज मंगलबार पनि बिहान ६ बजेपछी मात्रै बत्ति आएकाे र साँझ पनि बत्ति काटीने संभावना रहेकाे उनले बताए ।
भारतबाट आयात हुने बिजुली आयात गर्न समस्या परेका कारण देखाउँदै प्राधिकरणले बत्ति काटेपछि हेटौंडाको मात्रै हैन देशका तीन ठूला औद्योगिक करिडोरसहित सयौं उद्योगमा विद्युत् आपूर्ति प्रभावित भएको छ । गत मंगलबार साँझबाट रोकिएको विद्युतको आपूर्ति केही ठाउँमा बुधबार बिहान र केही क्षेत्रमा दिउँसो मात्रै फेरि सुरु भएको थियो ।
हेटौंडा औद्योगिक क्षेत्र भित्र मात्रै चालु अवस्थाका एकसय १० वटा उद्योग सहित १३ वटा संघसंस्था तथा कार्यालयहरु छन् । औद्योगिक क्षेत्रको विद्युत काटिदा उद्योगसँगै यहाँका सरकारी कार्यालयहरु पनि प्रभावित भएका छन् । उद्याेगकाे करिब ५० प्रतिशत उत्पादन कटाैती भएकाे कंडेलले बताए ।
बैंक ब्याजदर, तरलता अभावबाट जुध्दै गरेका उद्योगीहरु अब विद्युत् आपूर्तिको समस्याबाट पीडित हुनुपर्ने अवस्था आएको भन्दै उद्योगिहरु निराश भएका छन् । लोडसेडिङ जस्तो अवस्था देखिएको बताउँदै कंडेलले भने ‘यो अवस्थाले उद्योगहरुलाई भयावह अवस्थामा पु¥याउने छ ।’ भारतबाट आउने तीन सय मेगावट बिजुलीमध्ये केही परिमाणको आयात रोकिएपछि औद्योगिक क्षेत्रमा मात्रै लाइन काटिएको जानकारी प्राधिकरणले गराएको छ ।
बिजुली आपूर्तिको सुनिश्चितता नहुँदा ओद्योगिक उत्पादनमा ठूलो समस्या देखिएको कंडेलले बताए । विद्युत आपुर्ति नहुँदा उद्योगको उत्पादन मात्रै हैन निर्माण कार्य समते प्रभावित भएको उनले बताए । हेटौंडा औद्योगिक क्षेत्रभित्र मात्रै हाल झण्डै २ दर्जन उद्योगहरु निर्माणधिन छन् । बत्ति काटिदा निर्माण कार्य समेत प्राभवित भएको छ ।
भारतबाट बिजुली किन्न गरिएको प्रतिस्पर्धामा प्राधिकरणलाई ‘बिड’ नपरेका कारण बिजुलीको आयात प्रभावित भएको प्राधिकरणले जनाएको छ । नेपालले भारतसँग प्रति युनिट भारु ६ देखि ७ रुपैयाँमा बिजुली किन्ने गरेको थियो । गत मंगलबारको प्रतिस्पर्धामा नेपालले भन्दा महँगोमा बिजुली किन्न भारतीय कम्पनीहरु तयार भएपछि नेपाललाई समस्या भएको बताइएको छ । नेपालले प्रतियुनिट ८ रुपैयाँ भारु बोलकबोल गरेकामा बिजुली प्रतियुनिट १२ रुपैयाँ भारुमा अन्यत्र विक्रि हुने भएपछि नेपालमा आपूर्ति रोकिएको हो ।
भारतसँग नेपालले दैनिक औसत ५ सय मेगावट बिजुली आयात गरिरहेकोमा बिहारबाट आउने तीन सय मेगावट बिजुलीको आयात पनि प्रभावित भएको प्राधिकरणले जनाएको छ । उत्पादित विद्युत भारतमै खपत बढेको भन्दै सम्झौताअनुसार बिजुली दिन भारत तयार नभएपछि थप समस्या देखिएको हो ।

