मकवानपुर । अहिले देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेकोले अधिकांश भू-भागमा आंशिकदेखि सामान्य बदली रहेकाे छ । केही स्थानमा वर्षा र हावाहुरीको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
प्रदेश १ लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदली रहेको महाशाखाले जनाएकाे छ । महाशाखाका अनुसार प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघ गर्जनसहित-चट्याङ र क्षणिक वर्षा तथा हावाहुरीको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।
मंगलबार राति प्रदेश नं १, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रही रहेन छ । प्रदेश न १ र गण्डकी प्रदेशको पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जनसहित-चट्याङ र हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
देशभरका गर्जन/चट्याङ्ग सहित क्षणिक वर्षाको साथै हावा हुरीको समेत सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकाे छ । तराई भू-भागहरुमा हल्का तापक्रम बढ्ने क्रममा रहेकोले गर्मीका कारण हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन समेत आग्रह गरिएकाे छ ।

