मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) मकवानपुरले आगमी स्थानीय तह निर्वाचनकाे लागि चैत्र २५ गतेसम्म उम्मेद्वारकाे टुंगो लगाउने भएको छ ।
एमाले मकवानपुरको सचिवालय बैठकले स्थानीय तह निर्वाचन कार्यतालिका निर्माण गरी वडा समितिलाई उम्मेदवार सिफारिस गर्न सर्कुलर समेत जारी गरेकाे छ । पार्टी वडा कमिटीले निर्णय गरी वडा अध्यक्ष सहित सदस्यको उम्मेद्वार जिल्ला कमिटिलाई सिफारिस गर्ने छ भने पालिकाले निर्णय गरी जिल्ला कमिटीलाई प्रमुख/अध्यक्ष तथा उपप्रमुख/उपाध्यक्षको उम्मेद्वारकाे सिफारिस गर्ने एमाले मकवानपुर सचिव नविन सिग्देलले बताए ।
पार्टीकाे निर्वाचन कार्यतालिका अनुसार गाउँपालिका वडा कमिटिको बैठक आगामी चैत्र २३ र २४ गते तथा पालिका बैठक २५ गते तय भएको छ । त्यसैगरी जिल्ला कमिटी बैठक चैत्र २९ गते बस्ने तय गरेकाे सचिव सिग्देलले जानकारी दिए । जिल्ला कमिटिले प्रदेश कमिटिलाई उक्त नाम अनुमोदनको लागि सिफारिस गर्ने भएकाे छ ।
बैठकमा पार्टीलाई स्थानीय तहमा विजयी बनाउनको लागि सबै जनसंगठनहरुलाई निर्वाचन केन्द्रीत कार्यक्रमहरुमा परिचालन गर्ने, मतदाता नामवलीको अध्ययन गर्ने, मतदाता शिक्षा कार्यक्रमलाई प्रत्येक वडामा लागु गर्ने लगाएको निर्णय भएकाे सचिव सिग्देलले बताए ।

