मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) हेटौंडा उपहानगरपालिका कमिटिले स्थानीय तह निर्वाचन अभियान थालनी गर्ने भएकाे छ ।
नगर कमिटिको मंगलबार बसेको चौथो पूर्ण बैठकले निर्वाचन केन्द्रित कार्ययोजना पारित गरेकाे छ । कार्ययाेजना पारित गरेसँगै नेकपा एसले चुनाव केन्द्रित अभियानकाे थालनी गर्ने भएकाे हाे । बैठकले हेटौंडा उपमहानगरपालिकाको हरेक वडामा यही चैत १९, २०,२१ र २२ गतेभित्र भेला, घरदैलो, सदस्यता वितरण, चुनावका लागि स्वयंसेवक समूह गठन गर्ने लगायतका कार्ययोजना पारित गरेको हो ।
बैठकमा एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं राष्ट्रियसभा सदस्य गोमा तिमल्सिनाले कार्ययोजना सफलताकाे शुभकामना दिदैं एकीकृत समाजवादी पार्टी कम्युनिष्ट जोगाउने आन्दोलनमा रहेकाे बताइन् । यस्तै, एकीकृत समाजवादी मकवानपुरका अध्यक्ष श्रीधर पाख्रेलले एकीकृत समाजवादीमा लाग्नेहरु पद र पैसाका लागि नलागेकाे बताए । कम्युनिष्ट आन्दोलन जोगाउँनैका लागि पार्टी निर्वाचनमा होमिएको पाख्रेल बताए ।
बैठकले पार्टीको हेटौंडा उपमहानगरपालिका कमिटीको प्रचार प्रसार संयोजकमा भुपेन्द्र पराजुलीलाई जिम्मेवारी प्रदान गरेको छ । बैठक पार्टी हेटौंडा उपमहानगरपालिका कमिटीका अध्यक्ष ध्रुव बहादुर भुजेलको अध्यक्षतामा तथा जिल्ला कमिटीका उपाध्यक्ष एवं हेटौंडा उपमहानगरपालिकाका उप प्रमुख मीनाकुमारी लामाको विशीष्ट आतिथ्यता भएकाे थियाे ।

