मकवानपुर / बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मानव अधिकार रक्षकको नाममा भक्षक नबन्न आग्रह गरेका छन् ।
मानव अधिकार रक्षक प्रादेशिक सम्मेलनको उद्घाटन गर्दै पाण्डेले यस्तो बताएका हुन् । “मानव अधिकार अत्यन्त गहिराहीको कुरा हो, अब पुग्यो भन्ने सर्त छैन, सधैं यसबारे सचेत रहनु पर्छ” पाण्डेले भने । राज्यपक्षबाट भएको मानव अधिकार हनन मात्रै मानव अधिकार हनन नभइ घर घरमा पनि मानव अधिकार हननको सवाल रहेको उनले बताए । घरैभित्र जीवन, मर्यादा, समानता र स्वतन्त्रताको अधिकार सुनिश्चित हुनुपर्ने उनले बताए ।
संघीयताले स्थानीय तहहरूमा नेतृत्वको अवसर कानुन मै ब्यवस्था गरेको र यसले महिला, दलितलगायत सिमान्तकृत समुदायलाई आफ्नो आवाज उठान सक्ने ठाउँमा पुर्याएका छौ उनले बताए । “यसबाट मानव अधिकार रक्षाको सम्मान भएको छ” उनले भने । शिक्षा, सीप, रोजगारीको सवालमा प्रदेश सरकार सबैलाई सधैं सम्बोधन गर्ने प्रतिबद्धता ब्यक्त गरे । मानव अधिकार रक्षकको नाममा हुनेगरेको विकृतिहरूको विरुद्ध लाग्न र द्वत चरित्र नदेखाउन पाण्डेले आग्रह गरे ।

मानव अधिकार रक्षक प्रादेशिक सम्मेलनमा आयोग सदस्य लिलि थापाले बनेका नीति, नियम,ऐन कानुन कार्यान्वयनमा सरकारले ध्यान दिनुपर्ने बताइन् । महिलाका नाममा समाबेशिताको दुरुपयोग नगर्न र अझै समाबेशिताको सवाललाई ध्यान दिन थापाले आग्रह गरिन ।
कार्यक्रममा मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले मानव अधिकार रक्षकहरूको सकारात्मक दबाबले राज्यलाई आधारभुत सुरक्षाको लागि सहयोग पुग्ने बताए । “राज्यलाई जिम्मेवारीमा सहयोग भएको छ, प्रशासकलाई सही निर्णय गर्न सहयोग गर्छ” पाण्डेले बताए ।



