मकवानपुर । बागमती प्रदेश सरकारले प्रजातन्त्र दिवसको अवसरमा शनिवार शुभकामना आदानप्रदान कार्यक्रम गरेकाे छ । प्रदेश सरकारले ३ दिनसम्म प्रजातन्त्र दिवस मनाउने निर्णय गरेसँगै आज शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रममा प्रमुख विपक्षी दल नेकपा एमाले भने सहभागी भएन । कार्यक्रमस्थलमा गठबन्धनका मन्त्री, तथा सांसद्हरुको मात्रै उपस्थिति रहेको थियो । विपक्षी एमालेसहित अन्य दलका नेता, सांसद् कोही पनि आएका थिएनन् । आयोजकले पनि विपक्षी दललाई सम्बोधन गरेन ।
त्यस्तै कार्यक्रममा प्रदेश प्रमुख यादवचन्द्र शर्मा, सभामुख सानुकुमार श्रेष्ठ, उपसभामुख राधिका तामाङ पनि देखिएनन् । प्रदेश प्रमुख शर्माले भने स्वास्थ्य समस्याका कारण कार्यक्रममा उपस्थित हुन नसकेको जानकारी गराएका थिए । मञ्चमा मुख्यमन्त्री राजेन्द्र पाण्डे, आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेल तथा स्वास्थ्यमन्त्री निमा लामा मात्रै देखिए ।
यसैबीच बागमती प्रदेशका मुख्यमन्त्री राजेन्दप्रसाद पाण्डेले प्रजातन्त्र दिवसको अवसरमा प्रदेश सरकारद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय राजनीति जटिल अवस्थामा पुगेको बताए । पाण्डेले विदेशी अनुदान सहायता एमसीसीको विषयलाई लिएर राष्ट्रिय राजनीति जटिल बन्दै गएको बताएका हुन् ।
‘नेपाली जनताको त्याग तपस्या र बलिदानीबाट प्राप्त उपलब्धीको रक्षा जनहितको काम गर्नुपर्ने समयमा विदेशी अनुदान सहायताको विषयले राष्ट्रिय राजनीतिलाई नै जटिल मोडतर्फ धकेलेको छ ।’ मुख्यमन्त्री पाण्डेले भने– ‘ विदेशी अनुदानले नेपाली राजनीतिलाई विवाद पुर्याएकाे अहिलकाे अवस्थामा समस्याको समाधान मिलेर गर्नुपर्ने पर्छ ।’
पाण्डेले बागमती प्रदेशलाई समृद्ध तुल्याउन सरकारले न्यूनतम साझा कार्यक्रम बनाई दत्तचित्तले लागिरहेको उल्लेख गरे । उनले अब बागमतीलाई डिजिटल एवम् उज्यालो प्रदेश बनाउने बताए ।

