मकवानपुर । बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्य पदका उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरिएको छ । निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले आइतबार प्रदेशबाट उम्मेदवारी दिएका ६ जनालाई चुनाव चिन्ह प्रदान गरिएको हो ।
राष्ट्रियसभा सदस्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले उम्मेदवारको प्रतिनिधिहरुको रोहवरमा उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरेका हुन् । उम्मेदवारहरुलाई सम्बन्धीत दल कै चुनाव चिन्ह प्रदान गरेको छ । कार्यालयले बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्य पदका लागि उम्मेदवार बनेका नेपाली कांग्रेसका कृष्णप्रसाद पौडेललाई ‘रुख’, नेकपा एकीकृत समाजवादी पार्टीकी गोमा तिमल्सिनालाई ‘कलम’ चिन्ह प्रदान गरेको छ । त्यस्तै नेकपा एमालेका उम्मेदवार गोपाल शाक्य, निरकुमारी कुंवर, दर्लामीलाई ‘सुर्य’ चिन्ह दिएको छ । नेमकीपाका उम्मेदवार कृष्णबहादुर तामाङ र गिता काफ्लेलाई ‘मादल’ चिन्ह प्रदान गरेको छ ।
आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनमा बागमती प्रदेशबाट महिला र अन्य समुहतर्फबाट २ जना सदस्यहरुका लागि निर्वाचनको हुँदैछ । हेटौंडा–८ स्थित औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयको सभाहललाई मतदान केन्द्र ताकिएको छ । मतदानको कार्यक्रम माघ १२ गते विहान ९ बजेदेखि ३ बजेसम्म संचालन हुने तालिका रहेको छ ।
राष्ट्रियसभा निर्वाचनमा स्थानीय तहका प्रमुख‚ उपप्रमुख, अध्यक्ष‚ उपाध्यक्ष र प्रदेशसभा सदस्यले मतदाता रहनेछन् । बागमती प्रदेशमा रहेकाे १ सय १९ स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष गरी कुल २ सय ३८ जना र प्रदेशसभाका कुल १ सय १० जना सदस्य गरी राष्ट्रियसभा निर्वाचनमा बागमती प्रदेशमा ३ सय ४८ मतदाता रहेका छन् ।
जसमध्ये १ पालिका अध्यक्ष कारवाहीमा परेकाले निलम्बित छन् । उनी मतदान प्रक्रियामा भाग लिन पाउने छैनन् । जसका कारण स्थानीय तहमा २ सय ३७ जना मतदाता कायम भएको छ । त्यस्तै, बागमती प्रदेश सभाका १ जना सांसद कोरोनाका कारण निधन भएकाले १ सय ९ जना सदस्य मात्र मतदाता कायम रहेका छन् । निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख तथा उपप्रमुख र अध्यक्ष तथा उपाध्यक्षको मतभार १८ हुन्छ ।

