मकवानपुर । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाले प्रशोधित पिउने पानीको गुणस्तर तथा स्वच्छता अभिबृदिको लागि व्यवसायीहरूसंग अन्तरक्रिया कार्यक्रम गरेको छ ।
चितवन र मकवानपुरका पानी व्यवसायीहरूको उपस्थितीमा कार्यालयका प्रमुख वरिष्ठ अनुसन्धान अधिकृत छितिज श्रेष्ठले उद्योगहरूले अनिवार्य लागू गर्नुपर्ने कानुनी सर्त तथा निर्देशकाले जारी गरेको अनिवार्य सर्तका बिषयहरूको बारेमा जानकारी गराएका थिए ।
उद्योग सन्चालनार्थ उद्योगीले पालना गर्नुपर्ने निर्देशिका व्यवहारत: नभएको प्रमुख श्रेष्ठले बताए । निर्देशिका अनुसार उद्योगमा भौतिक संरचना नहुनु, उद्योगमा निजि ल्याबको व्यवस्थापन हुन नसक्नु जस्ता चुनौती रहेको उनले बताए ।
कार्यक्रममा उपभोक्ता हित संरक्षण मन्च बागमती अध्यक्ष बासु खतिवडा, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय काठमाडौको खाद्य अनुसन्धान अधिकृत रोजिना श्रेष्ठ, खाद्य अनुसन्धान अधिकृत श्रद्धा खनाललगायतको उपस्थिति थियो ।
पानीको बोटल र जारको बिर्कोमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले अनिवार्य लगाउने भनेको सिल अझै व्यवहारमा लागू नभएको श्रेष्ठले बताए । कार्यक्रममा मकवानपुरका ६ वटा पानी उद्योग र चितवनका ५ वटा उद्योगको सन्चालकहरू तथा प्रतिनिधिहरूको उपस्थिति थियो ।

