मकवानपुर । हेटौंडामा जारी हेटौंडा भेट्रान्स कप फुटबल प्रतियोगितामा बुधबारकाे खेलबाट ४ टिम क्वार्टरफाइनलमा प्रवेश गरेको छ । हेटौंडा-५ स्थित निर्माणाधीन पिप्ले क्याम्पा रंगशालामा बुधबारकाे खेलबाट वालिङ, एबीसी भेट्रान्स, बगर भाईखलक पोखरा र बानेश्वर भेट्रान्स क्वार्टरफाइनलमा प्रवेश गरेका हुन् ।
बुधबारको पहिलो खेलमा वालिङले बुटबल भेट्रान्सलाई २-० ले हराएकाे थियाे । वालिङको तर्फबाट कैलाश राईले १३ औं र शंकर केसीले २७ औं मिनेटमा गोल गरेका थिए । यस्तै दोस्रो खेलमा एबीसी पोखराले बगर भाईखलक पोखरा ‘बी’ लाई २-१ गोलले हराएको छ । एबीसीको तर्फबाट हरि खड्काले चौथो मिनेटमा र सञ्जय गुरुङले ३२ औं मिनेटमा गोल गरेका थिए । बगर भाईखलकको तर्फबाट राजकुमार घिसिङले ३० औं मिनेटमा गोल गरेका थिए ।
यसै गरी बुधबार भएको तेस्रो खेलमा आयोजक हेटौंडा भेट्रान्स रातो टिमलाई टाइब्रेकरमा निराश बनाउँदै बगर भाईखलक पोखरा ‘ए’ विजयी बन्यो । निर्धारित समयमा दुवै टिमको तर्फबाट दुई-दुई गोल भएपछि टाइब्रेकरमार्फत निर्णय लिइएको हो । खेलमा हेटौंडाको तर्फबाट बलबहादुर गुरुङले ३५ र ४० औं मिनेटमा गोल गरेका थिए भने बगर भाईखलकको तर्फबाट ३० र ४३ मिनेटमा बीरबहादुर गुरुङले गोल गरेका थिए ।
यस्तै बुधबार भएको अन्तिम खेलमा हेटौंडा भेट्रान्सलाई ३-१ गोलले हराउँदै बानेश्वर भेट्रान्स क्वार्टरफाइनलमा प्रवेश गरेको छ । बानेश्वरको तर्फबाट सुमन शर्मा घिमिरेले ११ र २४ औं मिनेटमा गोल गरेका थिए भने उदय श्रेष्ठले २२ औं मिनेटमा गोल गरेका थिए । हेटौंडाको तर्फबाट सुरेश बानियाँले ४३ औं मिनेटमा एक गोल फर्काएका थिए ।
पौष ३ गते सम्म सञ्चालन हुने प्रतियोगितामा नेपालका विभिन्न जिल्लाको १८ वटा क्लबको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ र उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त तथा विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकले जनही ५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्ने छन् ।

