मकवानपुर । हेटाैडा भेट्रान्स कप फुटबलमा एबीसी भेट्रान्स पोखरा र जोरपाटी भेट्रान्स सेमिफाइनलमा प्रवेश गरेका छन् । हेटौंडा–५ स्थित क्याम्पा रंगशालामा जारी सातौं हेटौंडा भेट्रान्सकप फुटबल प्रतियोगिता अन्तर्गत विहीबार भएको क्वाटरफाइनल तर्फको खेलहरुमा जीत हात पार्दै दुबै टिमले सेमिफाइनलको यात्रा सुनिश्चित गरेका हुन् ।
हेटौंडा भेट्रान्स क्लबको आयोजना भएकाे ‘८ ए’ साइड राष्ट्रिय रनिङशिल्ड हेटौंडा भेट्रान्सकप फुटबल प्रतियोगितामा विहीबार भएको पहिलो खेलमा चितवन राष्ट्रिय भेट्रान्स क्लबलाई ५–० को फराकिलो गोलअन्तरले पराजित गर्दै एबीसी भेट्रान्सले सानदार जीत हात पारेको छ । उक्त खेलको म्यान अफ दि म्याच २ गोल गर्न सफल एबीसी भेट्रान्सका विजय गुरुङ भए । यस्तै दोस्रो खेलमा बिहानी फरेष्ट्री भेट्रान्स हेटौंडालाई ३–१ गोलअन्तरले पराजित गर्दै जोरपाटी भेट्रान्स पनि सेमिफाइनलमा छिरेको छ । खेलका म्यान अफ दि म्याच जोरपाटीका गोलरक्षक सुनिल लामा घोषित भए ।
यसैगरी विहीबार भएको तेस्रो खेलमा नागस्वती भेट्रान्स हेटौंडा–७ ले बालिङ भेट्रान्स स्याङ्जाबिरुद्ध १–० को कठिन जीत हात पार्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । खेलका म्यान अफ दि म्याच नागस्वतीका मिलन राई भए । प्रतियोगितामा शुक्रबार क्वाटरफाइनलतर्फ बाँकी रहेको १ खेल र सेमिफाइनलका २ खेल हुनेछन् । क्वाटरफाइनलतर्फ नागस्वतीले बगरभाई खलक ए पोखराको सामना गर्नेछ भने उक्त खेलको विजेताले सेमिफाइनलको दोस्रो खेलमा जोरपाटी भेट्रान्ससँग प्रतिस्पर्धा गर्नेछ । यस्तै पहिलो सेमिफाइनलमा एबीसी भेट्रान्स र बानेश्वर भेट्रान्सबिच खेल हुने आयोजकले जनाएको छ ।
नेपालका विभिन्न जिल्लाको १८ वटा क्लबको सहभागिता रहेको प्रतियोगिता पौष ३ गते सम्म सञ्चालन हुने छ । प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ र उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त तथा विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकले जनही ५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्ने छन् ।

