मकवानपुर । नारायणी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २५ औ बार्षिक साधारण सभा शनिबार हेटौंडामा भएको छ ।
साधारणसभामा बोल्दै प्रदेश सहकारी बोर्ड कार्यकारी उपाध्यक्ष तथा जिल्ला सहकारी संघ अध्यक्ष नारायण देवकोटाले बहुउद्देश्यीय सहकारीले गर्दै आएको लगानी प्रभावकारी रहेको बताएका छन् । सहकारीको उदाहरणीय कामलाई अझै पारदर्शी बनाउनु पर्ने उनले बताए । सहकारीहरू धेरै हैन व्यवस्थित बनाउन तर्फ कसरत जारी रहेको उनले बताए ।
सहकारीलाई व्यवस्थित गर्न ल्याईएको ऐनमा अझै पनि केही कठिनाइ रहेकोले संशोधन आवश्यक भएको देवकोटाले बताए । प्रदेश सरकारले पनि सहकारीलाई प्रोत्साहन गर्दै विकासको मेरूदण्डको रूपमा स्वीकार गरेको उनले बताए । कार्यक्रममा विशेष अतिथि रहेका हेटौंडा ९ का वडा अध्यक्ष लक्ष्मण भण्डारीले स्थानीय सरकारले गर्ने काममा सहकारीको भूमिका महत्त्वपूर्ण रहेको बताए ।
यसैगरी सहकारीका अध्यक्ष रामहरि न्यौपानेले संस्थाको गतिविधि तथा भाबी कार्ययोजना प्रस्तुत दिएका थिए । अध्यक्ष न्यौपानेले सहकारीले सदस्यमुखी काम गरेको बताए । सहकारीले हेटौंडा सिमेन्ट, रिद्दिसिद्दी सिमेन्ट, शिवम सिमेन्ट र बिश्वकर्मा सिमेन्टको बिक्री गर्दै आएको न्यौपानेले अध्यक्ष बताए ।
सहकारीले वृद्ध शेयर सदस्यलाई मासिक ५ सयका दरले बार्षिक एकमुष्ट ६ हजार प्रदान गर्दै आएको छ । शनिबार भएको साधारणसभामा पनि ४ जना वृद्ध शेयर सदस्यलाई सम्मान सहित रकम हस्तान्तरण गरेको थियो ।
कार्यक्रममा प्रदेश बचत संघ उपाध्यक्ष राधा सिंतान, सहकारी संस्थाका संस्थापक अध्यक्ष भोला शर्मा खरेल,हेटौंडा सिमेन्ट बिक्री बिभाग प्रमुख सीता गिरीलगायतको उपस्थिति रहेको थियो ।
कुल शेयर पुँजी ५ करोड ९ लाख ७४ हजार ५ सय रूपियाँ रहेको सहकारीमा १ हजार ८ सय ३३ जना शेयर सदस्यहरू रहेका छन् । संस्थाको कुल ऋणलगानी २० करोड ३६ लाख २६ हजार ५ सय र जगेडा कोष १ करोड ७० लाख ९९ हजार रहेको सहकारीले जनाएको छ । साधारणसभामा संस्थाका उपाध्यक्ष जंगबहादुर गुरुङले स्वागत गरेका थिए ।

