मकवानपुर/ बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज सोमबार बिश्वासको मत लिने भएका छन् ।
आज दिउँसो ३ बजे बस्ने प्रदेश सभाको बैठकमा मुख्यमन्त्री पाण्डेले बिश्वासको मत लिने कार्यक्रम रहेको प्रदेश सभाले जनाएको छ । “बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची रहेको” प्रदेशसभा सचिवालयका प्रवक्ता विनोद अमात्यले भने । आज नभ्याए विश्वासको मतको प्रस्ताव पेश हुने र भोली मंगलबार विश्वासको मतको अरु प्रक्रिया अगाडि बढाइने बताइएको छ ।
मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिएर मात्र मन्त्रिपरिषद् विस्तार गरिने योजना बनाएपछि यो पक्रिया पहिलो बघि बढाउन थालिएको हो । नेकपा (एकीकृत) समावजादी संसदीय दलका नेता पाण्डे कात्तिक ११ गते चार दलीय गठबन्धनको तर्फबाट मुख्यमन्त्री भएका हुन् ।
हालको अवस्थामा पाण्डे नेतृत्वको सरकारले सजिलै विश्वासको मत प्राप्त गर्ने विश्लेषण गरिएको छ । सभामुखसहित प्रदेशसभामा १ सय ९ सांसद रहेका छन् । सरकारले विश्वासको मतको लागि ५५ सांसद भए बहुमत पुग्छ । अहिले गठबन्धन दलहरुसँग ५९ सांसद रहेको छ ।
संविधानको धारा १६८ बमोजिम मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिन लागेका हुन् । यसको उपधारा ४ मा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बनेका मुख्यमन्त्रीले नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था गरिएको छ ।
पाण्डेले मुख्यमन्त्री सपथ लिएको १२ दिनमै कार्तिक २२ गते विश्वासको मत लिन लागेका हुन् । विश्वासको मत लिन मुख्यमन्त्री कार्यालयबाट प्रदेशसभामा पत्र पठाइ सकिएको छ । मुख्यमन्त्री कार्यालयबाट पत्र प्राप्त भएको प्रदेशसभा सचिवालयका प्रवक्ता विनोद अमात्यले जानकारी दिए । मुख्यमन्त्री पाण्डेको विश्वासको मतसम्बन्धी प्रस्ताव संसद् सचिवालयमा दर्ता भइसकेको प्रदेशसभा सचिवालयले पनि जनाएको छ । प्रदेशसभा सचिवालयका प्रवक्ता अमात्यले मुख्यमन्त्री कार्यालयबाट प्राप्त पत्रअनुसार २२ गते विश्वासको मत लिने व्यवस्थापनमा प्रदेशसभा लागेको बताए ।
गठबन्धनलाई चित्त बुझाउन जम्बो मन्त्री परिषद् बन्ने
विश्वासको मत लिने बित्तिकै बागमती प्रदेशमा मन्त्रालयको सख्या १२ वटा पु¥याउते तयारी गरिएको छ ।
सरकारको जानको लागि बनाइएको गठबन्धनका सबै दलहरुलाई चित्त बुझाउनको लागि बागमती प्रदेशमा जम्बो मन्त्री परिषद बन्ने भएको छ । यसको लागि मुख्यमन्त्री पाण्डेले प्रदेशमा मन्त्रालय फुटाएर भागबन्डा मिलाउने कसरत गरिरहेको बुझिएको छ ।
सत्ता गठबन्धन दलहरुलाई मिलाउन मन्त्रालय फुटाउन लागिएको हो । मुख्यमन्त्रीको शपथ ग्रहणलगत्तै गठबन्धनमा रहेका दलहरूलाई चित्त बुझाएर मन्त्रिपरिषद् विस्तार गर्ने बताएका थिए ।
माओवादी र कांग्रेसमा पनि मन्त्री बन्न सांसदहरूले लबिइङ थालिसकेका छन् । गठबन्धनमा रहेका माओवादी केन्द्रसँग २३, कांग्रेस २२, नेकपा (एस) १३ र जनता समाजवादीसँग १ मत रहेको छ । सरकारले पहिलो चरणमा ४ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरिसकेको छ ।
पहिलो चरणमा उनले कांग्रेस संसदीय दलका उपनेता कृष्णलाल भँडेल, माओवादी संसदीय दलका उपनेता कुमारी मोक्तान र एकीकृत समाजवादी संसदीय दलका उपनेता कृष्णप्रसाद खनाललाई मन्त्रीमा नियुक्त गरेका थिए ।
