मकवानपुर । बागमती प्रदेशसभामा मुख्यमन्त्री राजेन्द्र पाण्डेले बिश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री पाण्डेले बिश्वासको मत लिने कार्यक्रम रहेकाेले प्रदेशसभाको बैठक भोली दिउँसो ३ बस्ने भएकाे छ ।
भाेलीकाे बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची रहेकाे छ । भाेली नभ्याए विश्वासकाे मतकाे प्रस्ताव पेश हुने र पर्सी विस्वासको मतकाे अरु प्रक्रिया रहेकाे बताइएकाे छ। मुख्यमन्त्री पाण्डेले पनि विस्वासको मत लिएर मात्र मन्त्रिपरिषद् विस्तार गरिने तयारी थालेकाे बताइएकाे छ । कात्तिक ११ गते चार दलीय गठबन्धनको तर्फबाट मुख्यमन्त्री भएका नेकपा (एकीकृत) समावजादी संसदीय दलका नेता पाण्डेले विश्वासको मत लिने तयारी गरेका छन् ।
हालको अवस्थामा पाण्डे नेतृत्वको सरकारले सजिलै विश्वासको मत प्राप्त गर्ने देखिन्छ । सभामुखसहित प्रदेशसभामा १ सय ९ सांसद रहेका छन् । सरकारले विश्वासकाे मतकाे लागि ५५ सांसद भए बहुमत पुग्छ । अहिले गठबन्धन दलहरुसँग ५९ सांसद रहेकाे छ । संविधान अनुसार मुख्यमन्त्रीमा सपथ लिएको १ महिना भित्र विश्वासकाे मत लिन सकिने प्रावधान रहेकाे छ । तर पाण्डेले मुख्यमन्त्री सपथ लिएकाे १२ दिनमै कार्तिक २२ गते विश्वासकाे मत लिन लागेका हुन् ।
विश्वासकाे मत लिन मुख्यमन्त्री कार्यालयबाट प्रदेशसभामा पत्र पठाइ सकिएको छ । मुख्यमन्त्री कार्यालयबाट पत्र प्राप्त भएको प्रदेशसभा सचिवालयका प्रवक्ता विनोद अमात्यले जानकारी दिए । मुख्यमन्त्री पाण्डेको विश्वासको मतसम्बन्धी प्रस्ताव संसद् सचिवालयमा दर्ता भइसकेको प्रदेशसभा सचिवालयले पनि जनाएको छ । प्रदेशसभा सचिवालयका प्रवक्ता विनोद अमात्यले मुख्यमन्त्री कार्यालयबाट प्राप्त पत्रअनुसार २२ गते विश्वासको मत लिने व्यवस्थापनमा प्रदेशसभा लागेको बताए ।
विश्वासको मत लिने बित्तिकै प्रदेशमा मन्त्रालयको सख्या १२ वटा पुर्याउते तयारी गरिएको बताइएकाे छ । मुख्यमन्त्री पाण्डेले प्रदेशमा मन्त्रालय फुटाएर भागबन्डा मिलाउने कसरत गरिरहेकाे बुझिएकाे छ । सत्ता गठबन्धन दलहरुलाई मिलाउन मन्त्रालय फुटाउन लागिएकाे हाे । मुख्यमन्त्रीकाे शपथ ग्रहणलगत्तै गठबन्धनमा रहेका दलहरूलाई चित्त बुझाएर मन्त्रिपरिषद् विस्तार गर्ने बताएका थिए । माओवादी र कांग्रेसमा पनि मन्त्री बन्न सांसदहरूले लबिइङ थालिसकेका छन् ।
गठबन्धनमा रहेका माओवादी केन्द्रसँग २३, कांग्रेस २२, नेकपा (एस) १३ र जनता समाजवादीसँग १ मत रहेको छ । सरकारले पहिलो चरणमा ४ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरिसकेको छ । पहिलो चरणमा उनले कांग्रेस संसदीय दलका उपनेता कृष्णलाल भँडेल, माओवादी संसदीय दलका उपनेता कुमारी मोक्तान र एकीकृत समाजवादी संसदीय दलका उपनेता कृष्णप्रसाद खनाललाई मन्त्रीमा नियुक्त गरेका थिए ।
