मकवानपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा–१९ नेवारपानीमा बसकाे ठक्करबाट २ जना पैदल यात्रीकाे मृत्यु भएकाे छ । गए राति देउसी खेल्दै हिँडेका पैदल यात्रुलाई बसले ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।
रौतहटको गौरबाट हेटौंडा हुँदै नारायणगढ तर्फ जादै गरेको बागमती प्रदेश ०३ ००१ ख ०९३६ नम्बरको बसको ठक्करबाट मृत्यु हुनेमा हेटौंडा–१९ का २० वर्षीय सुरज विष्ट र चितवनको पिप्ले स्थायी निवासी ३४ वर्षीय प्रेमबहादुर सिं ठकुरी रहेका छन् ।
गएराति करिब १० बजेको समयमा दूर्घटना भएको हो । घटनापछि आक्रोशित स्थानीयले बसमा आगजनी गरी पूर्ण क्षती गरिदिएका छन् । सडकमा आगो लागिरहेको बसका कारण केही समय राजमार्ग अवरुद्ध समेत भएकाे थियाे ।
बसकाे ठक्करबाट घाइते हुनेमध्ये १ जना सामान्य घाइतेको उपचारपछि राति नै घर पठाइएको थियाे । घाइतेहरुमध्ये ५ जनाको हेटौंडाको चुरेहिल अस्पताल र ३ जनाको भरतपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।
घटनापछि बसका चालक फरार रहेको र उनको खोजी कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।
