मकवानपुर । हिन्दु महिलाहरुले आज हरितालिका तिज पर्व मनाएका छन् । भाद्र शुक्ल तृतीयाका दिनमा पर्ने याे पर्व देवादिदेव महादेवको पूजा आराधना गरी मनाइएकाे हाे ।
भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । हरितालिका पर्वमा व्रत गर्ने नारीले अटल सौभाग्य र अविवाहित केटा केटीले गुण सम्पन्न वर वा वधु पाउने विश्वास गरिन्छ ।
यसवर्ष कोरोना संक्रमण कम हुँदै गएको र निषेधाज्ञा पनि हटेको कारण पोहोरको तुलनामा तीजको रमझम बढी देखिएकाे छ । तर जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्ड पालना गर्न र सकेसम्म घरमै मनाउन र भौतिक दूरी कायम गर्न सरकारले आग्रह गरेकाे छ । साेही अनुसार यस बर्ष मन्दिरहरुमा भीडभाड कम देखिएकाे थियाे । हेटाैडामा पनि मन्दिरहरुमा चहलपहल कम देखिएकाे छ । प्रायले आ आफ्नै घरका सदस्य भेला भई रमाइलाे गरी पर्व मनाएका छन् । मन्दिरमा पुगेर पुजाआजा गरिएकाे तस्विरकम पारिवारिक जमघट बढी भएकाे तस्विर सामाजिक सञ्जालमा धेरै आएका छन् ।
पहिले जस्ताे राैनकता हराउँदै गएकाे देखिएता पनि यसकाे माैलिकता र मिहला अधिकारकाे सवालमा तिजकाे महत्वलाई भुल्न नहुने अधिकारकर्मीहरु समेत बताउँछन् । हेटाैडाका सविता तिमल्सिना सामाजिक सञ्जालमा यसरी लेख्छिन ‘तपाईंहरू मान्नोस नमान्नोस नेपालमा महिला अधिकारकोलागि चेतना जगाउने र आफ्ना अधिकारका लागि लड्न सिकाउने पर्व तिज नै हो र तिजका गितनै हुन । भलै आज भोलिका गित र पर्व मनाउने शैली गलत होला। व्रत आफ्नो इच्छा अनुसार बस्ने म त मज्जाले तिज मान्छु। र तिजलाई महान पर्व नै मान्छु।

भाद्र शुक्ल द्वितीयका दिन दर खाएपछि औपचारिक रुपमा सुरु भएको तीज पर्व भाद्र शुल्क पञ्चमीकाे दिन सम्म मनाइन्छ । ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेश भगवान्को पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ ।
सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले श्रीमहादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ । तर यसको अर्थ सबैले निराहार व्रत बस्नु नपर्ने संस्कृतिविदहरु बताउँछन् । सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने वरदान पाएकी थिइन् । तर पिता हिमालयले पार्वतीको इच्छा विपरित विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरुलाई आफ्नो समस्या सुनाइन् ।
पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरुले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिएको र साथीहरुले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई पतिको रुपमा प्राप्त गरेको भन्ने कथन हिन्दु धार्मिक ग्रन्थहरुमा उल्लेख छ । यसरी पार्वती साथीहरुद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका तीजको व्रत लिने प्रचलन शुरु भएको शास्त्रीय मत रहिआएको छ ।
यसै अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले पनि तीजको शुभकामना सन्देश दिदै काेराेना जाेखिम कायम रहेकाे अवस्थामा स्वास्थ्य मापदण्ड पालनासहित हरितालिका तीजको मौलिकता र सांस्कृतिक महत्वको जगेर्ना गर्दै मनाउन अनुरोध गरेका छन् ।

