मकवानपुर । १ सय ८ औँ विपी जन्म जयन्ती आाज भदाै २४ गते विभिन्न कार्यक्रम गरी मनाइएकाे छ । नेपाली राजनीति र साहित्यमा महत्त्वपूर्ण योगदान दिएका नेपालका प्रथम जन निर्वाचित प्रधानमन्त्री विपी कोइरालाको १ सय ८औँ जन्म जयन्ती विभिन्न कार्यक्रम गरी आज देशभर मनाइएकाे हाे ।
कोरोना भाइरसको सङ्क्रमणको जोखिम कायमै रहेका कारण भौतिक दूरी कायम गरी मास्क लगाएर वा जुम प्रविधिका माध्यमबाट कार्यक्रम गर्न काँग्रेसले गरेकाे आह्वान अनुसार कार्यक्रम गरिएकाे बताइएकाे छ।
बिपी जयन्तीका अवसरमा नेपाली काँग्रेस, उसकाे भ्रातृ एवं शुभेच्छुक संस्था र विपी सङ्ग्रहालयले मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरेका छन्। काँग्रेसले १४ महाधिवेशनसँगै बिपी जयन्ती मनाउने भएको छ। यस अवसरमा बिपी सङ्ग्रहालयले काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माको प्रमुख आतिथ्यमा विशेष कार्यक्रम आयोजना गरेको छ।
विपी कोइरालाको विसं १९७१ भदौ २४ गते जन्म भएको थियो। उनका पिता कृष्णप्रसाद कोइरालाले जहानियाँ राणा शासनको विरोधमा गरिब किसानले पक्षमा राणा प्रधानमन्त्री चन्द्रशमशेर विरद्ध लागेपछी कोइराला परिवार भारत निर्वासनमा जानुपरेको थियो।
निर्वासनमै बिपीले भारतको स्वतन्त्रता सङ्ग्राममा भाग लिएका थिए। भारत निर्वासनकै क्रममा जहानियाँ राणा शासनको अन्त गर्न विसं २००३ मा बिपीको नेतृत्वमा नेपाली राष्ट्रिय काँग्रेस स्थापना भयो। विसं २००६ मा स्थापना भएको नेपाल प्रजातन्त्र काँग्रेससँग प्रजातन्त्र स्थापना नै मुख्य लक्ष्य लिएर एकता भएकाे थियाे ।
२००७ सालमा प्रजातन्त्र स्थापना पश्चात राणा-काँग्रेस सरकारमा बिपी गृहमन्त्री बने। विसं २०१५ को आमनिर्वाचनमा काँग्रेसले दुई तिहाइ बहुमत प्राप्त गरेपछि प्रथम जन निर्वाचित प्रधानमन्त्री बनेका कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गरे।
विसं २०१७ पुस १ गते शाही नेपाली सेनाको शक्तिका भरमा जन निर्वाचित सरकार अपदस्त गरिएपछि कोइरालालगायत नेतालाई सिंहदरबारमा बन्दी बनाइएको थियो। एक महिनापछि सेनाको सुन्दरी जल आर्सनलका प्रमुखको सरकारी निवासलाई वरिपरि पर्खालले घेरेर नेता कोइराला, सांसदका प्रथम सभामुख कृष्णप्रसाद भट्टराई, नेता गणेशमान सिंहलगायत मन्त्रीलाई सुन्दरी जल बन्दी गृहमा सारियो।
विसं २०२५ मा स्वास्थ्य परीक्षणका लागि जेलमुक्त भएका कोइरालाले आठ वर्षसम्म भारतमा निर्वासित जीवन बिताएका थिए। भारतमा निर्वासित भएर प्रजातन्त्र पुनः स्थापनाका पक्षमा सङ्घर्ष गर्दा राष्ट्रियता कमजोर भएको विश्लेषण गरी विसं २०३३ पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई उनी स्वदेश फर्के।
उनले नेपाली साहित्यका क्षेत्रमा पनि महत्त्वपूर्ण योगदान पु¥याएका छन्। नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन्। कोइरालाका ‘तीन घुम्ती’, ‘मोदी आइन’, ‘हिट्लर र यहुदी’, ‘सुम्निमा’, ‘नरेन्द्र दाइ’ एवम् ‘बाबु, आमा र छोरा’ गरी छ उपन्यास प्रकाशित छन्। त्यसै गरी दुई कथा सङ्ग्रह ‘श्वेत भैरवी’ र ‘दोषी चस्मा’, हरिप्रसाद शर्माको सम्पादनमा ‘विश्वेश्वरप्रसाद कोइरालाका कथा र कविता’ प्रकाशित छन्।
गणेशराज शर्मासँगको वार्तामा आधारित ‘आत्मवृत्तान्त’, सुन्दरी जल बन्दी गृहमा बस्दाको दैनिकीमा आधारित ‘जेल जर्नल’, विसं २०३३ पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिई स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सीधै सुन्दरी जल बन्दी गृहमा लगिएपछि लेखिएको दैनिकी ‘फेरि सुन्दरी जल’ ले नेपालको तत्कालीन राजनीतिक अवस्थाको यथार्थ चित्रण गरेको छ।
प्रथम जन निर्वाचित सरकारका प्रधानमन्त्री, सांसदका सभामुख एवं मन्त्रीहरूलाई बन्दी बनाइएको सुन्दरी जल बन्दी गृहलाई विसं २०६१ भदौ २४ गते बिपी सङ्ग्रहालय बनाइएकाे छ । बिपीको जीवनका महत्त्वपूर्ण चिजबिजको सङ्कलन गरी दर्शनीय बनाइएको सङ्ग्रहालय विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त बनेपछि पुनर्निर्माण हुदै गरेकाे छ । सङ्ग्रहालयमा बिपीको जीवनका महत्त्वपूर्ण सामग्रीका साथै विसं २००७ को क्रान्तिमा प्रयोग गरिएको ट्याङ्कर, काँग्रेसले विसं २०३० जेठ ३० गते क्रान्तिलाई खर्च जुटाउन अपहरण गरेको नेपाल वायुसेवा निगमको विमान पनि राखिएको छ।

