मकवानपुर । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयलाई स्वास्थ्य सामाग्री सहयोग गरिएकाे छ । प्रतिमाननिमा स्मृति प्रतिष्ठानले प्रदेशको स्वास्थ्य मन्त्रालयलाई १ करोड मुल्य बराबरको स्वास्थ्य सुरक्षा सामाग्री सहयोग गरेको हाे ।
कोरोना महामारी र अन्य स्वास्थ्य सेवा समस्याकाे समयमा प्रयोगकाे लागि मन्त्रालयलाई विहीबार प्रतिष्ठानका कार्यकारी निर्देशक स्वाती थापाले स्वास्थ्य सामाग्री सहयोग हस्तान्तरण गरेकी हुन् । २००७ सालका प्रजातान्त्रिक योद्धा प्रतिमानचन्द बोहराको नाममा उनका छोरा दीपक बोहराले स्थापना गरेको प्रतिमान निमा स्मृति प्रतिष्ठानकाे तर्फबाट निर्देशक स्वाती थापाले मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको उपस्थितीमा प्रदेशका स्वास्थ्य मन्त्री प्रदीप कुमार कटुवाल क्षेत्रीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेकी थिइन् ।
प्रतिष्ठानले गाउन २ हजार ४ सय थान, फेस शिल्ड २ हजार ३ सय ३२ वटा, एननाइन्टी फाइप मास्स एक हजार ८ सय मास्क ८ हजार ४ सय, थर्मोमिटर २० थान, पीपीइ २ सय ७६ थान, ग्लोब्स एक लाख थान ११ थरिका स्वास्थ्य सामाग्री सहयोग गरिएको थापाले बताइन् ।
केही दिन अघी प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रालय फुटाएर स्वास्थ्य मन्त्रालय बनाई मन्त्री समेत नियुक्त गरेकी थिइन । कार्यक्रममा बोल्दै मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेशमा स्वास्थ्य क्षेत्रको विकासको लागि मन्त्रालय फुटाएका बताइन् । एउटै मन्त्रालयमा शिक्षा,स्वास्थ्य, महिला तथा बालबालिका, युवा, खेलकुद भएकोमा चुस्त दुरुस्त काम गर्न फुटाएर मन्त्रालय खडा गरिएको उनले बताइन् ।
कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री केशवराज पाण्डे, मन्त्रालयका सचिव यज्ञप्रसाद ढुङ्गेल, राप्रपाका केन्द्रीय नेता मधु अधिकारी लगायतको सहभागिता रहेको थियो । प्रतिष्ठानले सात प्रदेशमा करिब ८ करोडको स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

