मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघले वीरगंज उद्योग वाणिज्य संघको टोलीलाई शनिबार हेटौंडामा स्वागत गरेको छ । वीरगंज उवासंघका अध्यक्ष डा. सुवोधकुमार गुप्तासहितकाे टाेलीलाई स्वागतसँगै मउवा संघ र वीउवा संघबीच आपसी सहकार्य गर्ने समझदारी पत्रमा हस्ताक्षर समेत गरिएको छ ।
स्वागत कार्यक्रयमा मउवासंघका अध्यक्ष कृष्ण कुमार गुप्ताले मकवानपुर जिल्लाको औद्योगिक तथा पर्यटकीय सम्भावना, उद्योगी/व्यवसायीका समस्याहरु र संघको गतिविधि जानकारी गराएका थिए । त्यसैगरी वीरगंज उवासंघका अध्यक्ष डा. सुवोधकुमार गुप्ताले मउवासंघ र वीरगंज उवासंघ मिलेर संयुक्त परियोजना संचालन गर्न सकिने बताएका थिए । मउवासंघका व्यवसायिक समस्याहरु समाधानको लागि वीरगंज उवासंघले पनि पहल गर्ने उनले बताए ।
गुप्ताले २ हजार ७ सालमा स्थापना भएको वीरगंज उवासंघले त्यहाँको औद्योगिक करिडोरमा सिसिटिभीको लागि पहल अघि बढाएको, ५० प्रतिशतभन्दा बढी रेभिन्यु वीरगंजले राज्यलाई दिएको, पाँच करोड भन्दा माथिको कारोवारमा मात्र भिसिटियस लगाउनु पर्ने, राष्ट्र बैंकले नै. ५ प्रतिशतमा दिइरहेको कर्जा ७ प्रतिशत पु¥याएको कार्य सहि नभएको, बैंक व्याज सिंगल डिटिजमा हुनुपर्ने, क्रेडिट ऐन ल्याएर व्यवसायीको उधारो कारोवार व्यवस्थित गरिनुपर्ने, तरलता अभाव हुन नदिन राज्यले कम्तिमा ७०–८० प्रतिशत पुँजीगत खर्च अनिवार्य गर्नुपर्ने जस्ता विषयहरु चर्चा गरेका थिए । कार्यक्रममा बैंकले आफूखुशी व्याज बढाउने, अघोषित लोडसेडि· जस्ता विषय जटिल बनिरहेको चर्चा गरिएको थियो ।
वीरगंज उवासंघका वरिष्ठ उपाध्यक्ष अनिल कुमार अग्रवाल, मउवासंघका पूर्व अध्यक्ष भुवनलाल श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, उपाध्यक्षद्वय उज्वल चौलागाई, राजु अधिकारी र सहकोषाध्यक्ष निलम पाण्डेले मन्तव्य राखेका थिए ।
अध्यक्ष डा. सुवोधकुमार गुप्ताको नेतृत्वमा टोली हेटौंडा आएको थियो । अध्यक्ष गुप्ताको नेतृत्वमा आएकाे वीरगंज उवासंघकाे टोलीमा निवर्तमान अध्यक्ष गोपाल केडिया, वरिष्ठ उपाध्यक्ष अनिल कुमार अग्रवाल, सचिव अरविन्द्र अमात्य, सहकोषाध्यक्ष प्रेमचन्द्र गोयल, सदस्यहरु रविन्द्र वर्णवाल, मनोज शर्मा, सुरेशकुमार रुंगटा, अंकित खेतान, प्रमोदकुमार चौरसिया, कार्यकारी सचिव सुनिलकुमार कण्ठ र अधिकृत खड्ग रावलको सहभागिता रहेको थियो ।
त्यसैगरी मकवानपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष भुवनलाल श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, उपाध्यक्षद्वय उज्वल चौलागाई, राजु अधिकारी, कोषाध्यक्ष सन्तोष कुमार अर्याल, सचिवद्वय राजाराम कार्की, श्रीकृष्ण कर्माचार्य, सहकोषाध्यक्ष निलम पाण्डे, सदस्यहरु कुल प्रसाद चौलागाई, अनिल भक्त श्रेष्ठ, नेत्र प्रसाद खतिवडा, विकेशलाल श्रेष्ठ र विशेष आमन्त्रित सदस्य राजेन्द्र लामिछानेको सहभागिता रहेको थियो ।
मकवानपुर । पेट्रोलियम व्यवसायीहरुले आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु स्थगित गरेका छन् । नेपाल पेट्रोलियम डिलर एसोसिएसन लगायतले पेट्रोलियम बिक्रेतालाई कमिसन नथप्ने सरकारी निर्णयकाे विराेधमा पेट्रोलियम पदार्थको ढुवानी तथा बिक्री बन्द गरेका थिए । पेट्रोलियम पदार्थ ढुवानी तथा बिक्री बन्द भए पछी शनिबार पेट्रोलियम पदार्थकाे अभाव हुने संकेत देखिएकाे थियाे ।
एलपी ग्यास तथा पेट्रोलियम पदार्थको कारोबार गर्ने व्यवसायीले राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समिति बनाएरै आन्दाेलन गरेका थिए । राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिले आयल निगमसँग शनिबार ४ बुँदे सहमति गर्दै आन्दोलन फिर्ता लिएका हुन् । निगम प्रवक्ता बिनितमणि उपाध्यायका अनुसार व्यवसायीको मागको सन्दर्भमा ७ दिनभित्र उचित निष्कर्ष निकाल्ने गरी सहमति भएको हो । पेट्रोलियम बिक्रेता कमिसन र ढुवानी भाडा समायोजनसम्बन्धी मागको हकमा ७ दिनभित्र र इन्धनको कारोबारसम्बन्धी मागको सम्बन्धमा जेठ १५ सम्म सम्बाेधन हुने सहमति भएकाे उपाध्यायले बताए । उनले भने, ‘समहतिसँगै विरोधका कार्यक्रमहरु शनिबारकै मितिबाट स्थगन गरी इन्धन कारोबार यथावत् राख्ने निर्णय भयो ।’
बाह्य तथा आन्तरिक ढुवानी साधनको भाडामा डिजेलको मूल्य अनुपातमा घटबढ हुने गरी स्वचालित भाडा कायम गर्न माग गर्दै पेट्रोलियम डिलर्स एशोसिएशन र पेट्रोलियम ढुवानी व्यवसायीहरु आन्दोलनमा उत्रिएका थिए । यातायात क्षेत्रमा जसरी इन्धन ढुवानीमा समेत वैज्ञानिक भाडा लागू गर्नुपर्ने भन्दै एलपी ग्यास तथा पेट्रोलियम पदार्थको कारोबार गर्ने व्यवसायी समिति बनाएर आन्दोलन गरेका थिए । ‘हाम्रा मागका सम्बन्धमा निगमसँग ४ बुँदे माग सहमति भएकाे छ’ समन्वय समिति प्रवक्ता विश्व प्रसाद अर्यालले भने– ‘इन्धन ढुवानी तथा विक्री वितरण सहज गराउँछाैं । आम उपभाेक्तालाई आवश्यक इन्धन खरिद गर्न तथा अनावश्यक संचित नगरी दिन आग्रह गर्दछु ।’
रुसले युक्रेनमा गरेको आक्रमणका कारण कच्चा तेलको मूल्य बढेपनि निगमले पेट्रोलियम व्यवसायीले पाइरहेको कमिसन बढाएको छैन । पेट्रोलियम ढुवानी व्यवसायीहरुले ६ बुँदे माग राख्दै अत्यावश्यक वस्तु इन्धनको ढुवानी नै बन्द गरेका थिए । त्यसकाे मारमा शुक्रबार र शनिबार सर्वसाधरण परेका थिए ।
मकवानपुर । स्थानीय तहको निर्वाचन मिति नजिकिदै गर्दा जनप्रतिनिधिहरूले आफ्नो लोकप्रियता बढाउने अनेक तरिका अपनाउन थालेका छन् ।
यसै बिच मकवानपुरको एउटा गाउँपालिकाका जनप्रतिनिधिले कार्यकालको अन्तिमतिर आउँदै गर्दा आफूहरूले खांदै आएको सरकारी सुबिधा त्यागेको घोषणा गरेका छन् । मकवानपुरको राक्सिराङ गाउँपालिकाका जनप्रतिनिधिले आफूहरुले पाउँदै आएको सरकारी सुविधा त्यागेको स्वघोषणा गरेका हुन् । शनिबार राक्सिराङ–९ स्थित गैजुराङमा कार्यपालिकाको अन्तिम बैठक बस्दै जनप्रतिनिधि भएबापत आफूहरुलाई प्राप्त भएको सरकारी सवारी तथा तलब भत्ता त्याग गरेको घोषणा गरेका हुन् ।
गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, ९ वटै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्यसहितको बैठकले आफूहरु अब आआफ्नो पार्टीको चुनावी प्रचारप्रसारमा व्यस्त हुनुपर्ने भएकाले नैतिकताको आधारमा सरकारी सुविधा त्याग गरेको घोषणा गरेका हुन् । सरकारले आगामी ३० वैशाखको लागि स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै दलहरुमा निर्वाचनको चटारो सुरु भइसकेको छ ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट विजयी भएका अध्यक्ष राजकुमार मल्ल, उपाध्यक्ष निर्मला हिमडुङसहित कांग्रेस र अन्य दलबाट निर्वाचित वडाध्यक्ष र कार्यपालिका सदस्यहरु कार्यपालिका बैठककाबीच एकअर्कालाई फूलमाला र अबीर लगाएर बिदा भए ।
“हामीले राजीनामै दिएर पनि चुनावमा होमिन सक्थ्यौं तर, त्यसो गर्दा जनताको काम प्रभावित हुने देखिएकाले कार्यालयबाट हुने जनताको काम चाहिँ गर्ने तर, सरकारी सुविधा चाहिँ त्याग गर्ने निष्कर्षमा पुगेका छौं” गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले भने ।
“अर्को पटक पनि पार्टीले टिकट दिएमा र जनताले पत्याएमा पुनः गाउँपालिकाको काम कारबाही सम्हाल्न हामीमध्ये धेरै दोहोरिन सक्छौं, अहिलेलाई सबै सुविधा त्यागेर उच्च नैतिकता प्रस्तुत गरेका छौं” उनले भने ।
करिब पाँच वर्षसम्मसँगै यात्रा गर्दा कार्यपालिका सदस्यहरुबाट धेरै सहयोग प्राप्त भएको र आफूहरुले सोचेभन्दा धेरै काम गर्न सफल भएको पनि अध्यक्ष मल्लले स्मरण गरे ।
“हामी फरक फरक पार्टीबाट निर्वाचित भएर आएका थियौं । फरक पार्टी र फरक विचार हुँदा काम गर्न अप्ठेरो भएका अन्य स्थानीय तहका धेरै उदाहरण छन् तर, हाम्रोमा कुनै दिन पनि त्यस्तो विवाद भएन । जनताको काममा हामी एक मन भएर लाग्यौं” अध्यक्ष मल्लले भने । उनले आफ्नो कार्यकाल सफल बनाउन भूमिका खेल्ने सबै क्षेत्रका व्यक्तित्व र संघसंस्थाहरुलाई पनि धन्यवाद र आभार व्यक्त गरे ।
बैठकमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिृकत देवचन्द्र गर्तौलाले जनप्रतिनिधिहरुलाई बिदाई गर्दै आगामी निर्वाचनबाट जोसुकै निर्वाचित भएर आएता पनि कानुन, विधि र प्रक्रियामा रहेर आफूहरु सहयोग गर्न तयार रहेको बताए ।
मकवानपुर/प्राधिकरणले भारतबाट आयात हुने बिजुली आयात गर्न समस्या परेका कारण विद्युत् आपूर्ति बन्द हुँदा हेटौंडाका उद्योगहरु मारमा परेका छन् । कोरोना भाइसरको संक्रमणको कारण बन्द रहेका उद्योगहरु विस्तारै बाँमे सर्न लागेको बेला अघोषित लोड सेडिङ हुँदा फेरी समस्या परेको हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन प्रमुख राजेन्द्र कँडेलले बताए । लगातार १४ घण्टासम्म बत्ति काटिएको कारण उद्योग सञ्चालनमा समस्या भएको कंडेलले बताए ।
शनिबार ७ घन्टा आइतबार १२ घन्टा र सोमबार १४ घन्टा बत्ति काटिएको उनले बताए । आज मंगलबार पनि बिहान ६ बजेपछी मात्रै बत्ति आएकाे र साँझ पनि बत्ति काटीने संभावना रहेकाे उनले बताए ।
भारतबाट आयात हुने बिजुली आयात गर्न समस्या परेका कारण देखाउँदै प्राधिकरणले बत्ति काटेपछि हेटौंडाको मात्रै हैन देशका तीन ठूला औद्योगिक करिडोरसहित सयौं उद्योगमा विद्युत् आपूर्ति प्रभावित भएको छ । गत मंगलबार साँझबाट रोकिएको विद्युतको आपूर्ति केही ठाउँमा बुधबार बिहान र केही क्षेत्रमा दिउँसो मात्रै फेरि सुरु भएको थियो ।
हेटौंडा औद्योगिक क्षेत्र भित्र मात्रै चालु अवस्थाका एकसय १० वटा उद्योग सहित १३ वटा संघसंस्था तथा कार्यालयहरु छन् । औद्योगिक क्षेत्रको विद्युत काटिदा उद्योगसँगै यहाँका सरकारी कार्यालयहरु पनि प्रभावित भएका छन् । उद्याेगकाे करिब ५० प्रतिशत उत्पादन कटाैती भएकाे कंडेलले बताए ।
बैंक ब्याजदर, तरलता अभावबाट जुध्दै गरेका उद्योगीहरु अब विद्युत् आपूर्तिको समस्याबाट पीडित हुनुपर्ने अवस्था आएको भन्दै उद्योगिहरु निराश भएका छन् । लोडसेडिङ जस्तो अवस्था देखिएको बताउँदै कंडेलले भने ‘यो अवस्थाले उद्योगहरुलाई भयावह अवस्थामा पु¥याउने छ ।’ भारतबाट आउने तीन सय मेगावट बिजुलीमध्ये केही परिमाणको आयात रोकिएपछि औद्योगिक क्षेत्रमा मात्रै लाइन काटिएको जानकारी प्राधिकरणले गराएको छ ।
बिजुली आपूर्तिको सुनिश्चितता नहुँदा ओद्योगिक उत्पादनमा ठूलो समस्या देखिएको कंडेलले बताए । विद्युत आपुर्ति नहुँदा उद्योगको उत्पादन मात्रै हैन निर्माण कार्य समते प्रभावित भएको उनले बताए । हेटौंडा औद्योगिक क्षेत्रभित्र मात्रै हाल झण्डै २ दर्जन उद्योगहरु निर्माणधिन छन् । बत्ति काटिदा निर्माण कार्य समेत प्राभवित भएको छ ।
भारतबाट बिजुली किन्न गरिएको प्रतिस्पर्धामा प्राधिकरणलाई ‘बिड’ नपरेका कारण बिजुलीको आयात प्रभावित भएको प्राधिकरणले जनाएको छ । नेपालले भारतसँग प्रति युनिट भारु ६ देखि ७ रुपैयाँमा बिजुली किन्ने गरेको थियो । गत मंगलबारको प्रतिस्पर्धामा नेपालले भन्दा महँगोमा बिजुली किन्न भारतीय कम्पनीहरु तयार भएपछि नेपाललाई समस्या भएको बताइएको छ । नेपालले प्रतियुनिट ८ रुपैयाँ भारु बोलकबोल गरेकामा बिजुली प्रतियुनिट १२ रुपैयाँ भारुमा अन्यत्र विक्रि हुने भएपछि नेपालमा आपूर्ति रोकिएको हो ।
भारतसँग नेपालले दैनिक औसत ५ सय मेगावट बिजुली आयात गरिरहेकोमा बिहारबाट आउने तीन सय मेगावट बिजुलीको आयात पनि प्रभावित भएको प्राधिकरणले जनाएको छ । उत्पादित विद्युत भारतमै खपत बढेको भन्दै सम्झौताअनुसार बिजुली दिन भारत तयार नभएपछि थप समस्या देखिएको हो ।
मकवानपुर । नेपाल चेम्बर्स अफ कमर्स मकवानपुर अध्यक्षमा माधव न्याैपाने चयन भएका छन् । कमर्सको मंगलबार भएको दोश्रो साधारण सभा तथा प्रथम अधिवेसनले न्याैपानेकाे अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हाे । अधिवेशनले १७ सदस्य नयाँ कार्यसमिति चयन गरेको छ ।
कमर्स मकवानपुर उपाध्यक्ष कबिन सांगामी, महासचिब रबिन्द्रप्रसाद घिमिरे, सचिबमा शेखर थपलीया, कोषाध्यक्षमा शम्भु पुडासैनी र सहकोषाध्यक्षमा बिवेक भण्डारी चयन भएका छन् । समितिको सदस्यमा संजयकुमार गुप्ता, शर्मिला श्रेष्ठ, पारसमणी थिङ, सन्तोष खतिवडा, हरीशरण सुवेदी, गांगाप्रसाद पौडेल, राजेश अग्रवाल, शुसान्त खतिवडा, शिवनारायण श्रेष्ठ र लक्ष्मीनारायण श्रेष्ठ चयन भएका छन् ।
कमर्सका अध्यक्ष बिजयलाल श्रेष्ठको अध्यक्षतामा भएको साधारण सभामा नेपाल चेम्बर्स अफ कर्मसका केन्द्रीय बाणिज्य सभापती निरज राईको प्रमुख आतिथ्यता तथा बागमती प्रदेश अध्यक्ष शिद्धिलाल श्रेष्ठको विषेश आतिथ्यता रहेको थियो ।