मकवानपुर । पेट्रोलियम व्यवसायीहरुले आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु स्थगित गरेका छन् । नेपाल पेट्रोलियम डिलर एसोसिएसन लगायतले पेट्रोलियम बिक्रेतालाई कमिसन नथप्ने सरकारी निर्णयकाे विराेधमा पेट्रोलियम पदार्थको ढुवानी तथा बिक्री बन्द गरेका थिए । पेट्रोलियम पदार्थ ढुवानी तथा बिक्री बन्द भए पछी शनिबार पेट्रोलियम पदार्थकाे अभाव हुने संकेत देखिएकाे थियाे ।
एलपी ग्यास तथा पेट्रोलियम पदार्थको कारोबार गर्ने व्यवसायीले राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समिति बनाएरै आन्दाेलन गरेका थिए । राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिले आयल निगमसँग शनिबार ४ बुँदे सहमति गर्दै आन्दोलन फिर्ता लिएका हुन् । निगम प्रवक्ता बिनितमणि उपाध्यायका अनुसार व्यवसायीको मागको सन्दर्भमा ७ दिनभित्र उचित निष्कर्ष निकाल्ने गरी सहमति भएको हो । पेट्रोलियम बिक्रेता कमिसन र ढुवानी भाडा समायोजनसम्बन्धी मागको हकमा ७ दिनभित्र र इन्धनको कारोबारसम्बन्धी मागको सम्बन्धमा जेठ १५ सम्म सम्बाेधन हुने सहमति भएकाे उपाध्यायले बताए । उनले भने, ‘समहतिसँगै विरोधका कार्यक्रमहरु शनिबारकै मितिबाट स्थगन गरी इन्धन कारोबार यथावत् राख्ने निर्णय भयो ।’
बाह्य तथा आन्तरिक ढुवानी साधनको भाडामा डिजेलको मूल्य अनुपातमा घटबढ हुने गरी स्वचालित भाडा कायम गर्न माग गर्दै पेट्रोलियम डिलर्स एशोसिएशन र पेट्रोलियम ढुवानी व्यवसायीहरु आन्दोलनमा उत्रिएका थिए । यातायात क्षेत्रमा जसरी इन्धन ढुवानीमा समेत वैज्ञानिक भाडा लागू गर्नुपर्ने भन्दै एलपी ग्यास तथा पेट्रोलियम पदार्थको कारोबार गर्ने व्यवसायी समिति बनाएर आन्दोलन गरेका थिए । ‘हाम्रा मागका सम्बन्धमा निगमसँग ४ बुँदे माग सहमति भएकाे छ’ समन्वय समिति प्रवक्ता विश्व प्रसाद अर्यालले भने– ‘इन्धन ढुवानी तथा विक्री वितरण सहज गराउँछाैं । आम उपभाेक्तालाई आवश्यक इन्धन खरिद गर्न तथा अनावश्यक संचित नगरी दिन आग्रह गर्दछु ।’
रुसले युक्रेनमा गरेको आक्रमणका कारण कच्चा तेलको मूल्य बढेपनि निगमले पेट्रोलियम व्यवसायीले पाइरहेको कमिसन बढाएको छैन । पेट्रोलियम ढुवानी व्यवसायीहरुले ६ बुँदे माग राख्दै अत्यावश्यक वस्तु इन्धनको ढुवानी नै बन्द गरेका थिए । त्यसकाे मारमा शुक्रबार र शनिबार सर्वसाधरण परेका थिए ।

