मकवानपुर । बागमती गाउँपालिका ५ का २१ वर्षिय दिकाश लोप्चन अचेल मोबाइल मर्मत मै व्यस्त हुन्छन् । गाउँपालिका कार्यालयको ठ्याक्कै सामुन्ने उनको सानो पसल छ । हेर्दा सानो, तर ठुलो सपना पुरा गर्न सहायता गरिरहेको छ पसलले ।
स्नातक तह चौथो वर्षमा अध्ययनरत उनलाई अध्ययनलगायतको लागि आर्थिक समस्या छैन । परिवारसँग पनि उनले सहयोग लिनु परेको छैन, बरु आर्थिक सहायता गर्दछन् परिवारलाई । नियमित अध्ययनसँगै उनले मोबाइल मर्मतको गर्नेबारे ६ महिना तालिम लिए । तालिम पश्चात ४५ हजार लगानी गरेर पसल सुरु गरे । पसल सुरुवात गर्न नारी सिप सिर्जना केन्द्रले ११ हजार बराबरको समाग्री सहयोग ग-यो ।
अब आफ्नो जीविकाको लागि कुनै समस्या नभएको बताउँछन् उनी । केन्द्रले सामग्री सहयोग गरेसँगै दीगो रुपमा व्यवसाय गर्ने सिपबारे ५ दिने तालिम पनि लिए । सो तालिम र सहायता पाएपछि व्यवसाय चलाउन सजिलो भएको बताउँछन् ।
४५ हजार लगानी गरेका उनले अहिले दिनमै १५ सय कमाउँछन् । “लगानी ४५ हजार त एक महिनामै उठाए उनले” नारी सिप सिर्जना केन्द्रका सामाजिक परिचालक केवल बिकले भने “दिकाशको लगानशिलता युवाको लागि उदाहरणीय छ ।”
“विदेशमा मात्रै पैसा कमाउन सकिन्छ भन्ने छैन, जागँर चाहिन्छ” दिकाश भन्छन् “हामी थोरै लगानी गरेर आफ्नै देशमा आफ्नै गाउमा ब्यापार व्यवसाय वा अन्य कुनै न कुनै काम सुरु गर्न सक्छौ ।” सबै सफलता मिल्ने महान व्यक्तिहरुले पनि सुरुवात सुन्य लेभलबाट नै सुरु गरेका कथ पढेर आफूलाई काम गर्ने हिम्मत जागेको बताउँछन् उनी । “समस्या बाधा आएता पनि धैर्यता र सहनशीलताले एक दिन अवश्य सफलता मिल्नेछ” उनले भने । लोप्चन झण्डै १ वर्षदेखि यो पेशमा छन् ।
बागमती गाउँपालिका २ बजार टोलकी सोनी माझिको दैनिकी बंगुरको स्याहारमा बित्छ । पाठापाठी सहित गरी झण्डै २ दर्जन बंगुर पालिकी छिन् सोनीले । बेकम्मा बस्नुपर्दा मनोसामाजिक समस्या हुने गरेको बताउने उनी अब भने बंगुरसँगै खोरमै रमाउँछिन् । “काममा व्यस्त भएपछि मनमा अनेक कुरा नखेल्ने रैछ, कामकै ध्यान हुने, आफू नि स्वस्थ्य हुने, आम्दानीको बाटो पनि बन्ने” उनले भनिन् “थोरै लगानीमा सहयोग पाएपछि आफूले अरु पनि थपेर पाल्न सक्छु भन्ने लाग्यो ।”

नारी सिप सिर्जना केन्द्रले उनलाई बंगुर व्यवसायको लागि ४ वटा बंगुर सहयोग गरेको थियो । “४ पाल्ने मेहनतमा १० पाल्न सक्छु भन्ने आंट आयो अनि थपें” उनले भनिन् “अहिले सबै गाभिन (गर्भिणी) छ, सबैले पाठापाठी दिंदा त राम्रो आम्दानी हुनेछ।” गत मंसिरमा संस्थाले उनीहरुलाई सहयोग गरेको थियो ।
बंगुर वितरण गर्नु अघि केन्द्रले पालनको बारेमा २ दिने व्यवसायीक सिपसंगै ७ दिन तालिम दिएको थियो । सानोतिनो समस्या र दाना पानीको मात्रा सोनी आफैं हेर्न सकिन्छन् । “घरमा उसै बस्दा खालि दिमाग के के सोच्न आउँथ्यो, तनाव हुन्थ्यो, अब कामले भ्याई नभ्याई हुदा, केहि तनाव पनि हुन्न, म त बंगुरसंगै गित गाउंदै काम गरिराहुन्छु, औधि खुसि छु, आफ्नो कामको क्षमता नचिनेर रहेछ म आफैं तनावमा थिए” उनले भनिन् । उनलाई खोर निर्माणमा बागमती गाउँपालिकाले अनुदान प्रदान गरेको छ ।
उनीसँगै स्थानीय सुन्तली माझीले पनि १२ वटा बंगुर पालेकी छिन् । यसबाट आफ्नो आय आर्जनमा निकै राहत पाएको सुन्तलीले बताइन् ।

यसै वडाको टाँडीचोककी दहमाया पुलामी अचेल टकाटरको टनेलोको स्याहारमा व्यस्त हुन्छिन् । “पहिलो अचार खाने रहर हुँदा टमाटर किन्थे अहिले बेचर घरखर्च चलाएको छु” उनले भनिन् “थोरै दुख गरेर पनि पैसा कमाउन सकिएला भन्ने सोचकै थिएन मैले त ।”
उनले हाँस्दै भनिन् “करेसा बारी मै यस्तो पैसा कमाउँन सकिने रहेछ, हामीले नै अल्छि गरेर रहेछ ।” केन्द्रले नै टनेलो निर्माणको लागि र बिरुवा समेत सहयोग गरेपछि आफूले सजिलै टमाटर र खोर्सानी उत्पादन गरेको उनले सुनाइन् ।केही लट टमाटर बेचेर, घरमै खर्च भएको र अबको आम्दानीबाट चाँही अर्को टनेलो थप्ने योजना रहेको उनले बताइन् ।

“करेसाबारीमा छ्यास्स दुइ तीन बोट लगाउथेउ, फले खाइन्थ्ये, नत्र वास्तै हुन्थेन, अब त धेरै लगाएपछि माया र स्याहार गर्छौ, आम्दानी पनि राम्रो छ” उनले भनिन् “दुख हैन तरीका जान्नु पर्ने रहेछ ।” उनीहरुलाई टनेलो निर्माण गरेर बिरुवा वितरण गरेर, थोपा सिँचाइको व्यवस्था समेत संस्थाले गरेको नारी सिप सिर्जना केन्द्रकी फिल्ड संयोजक गिता अर्यालले बताइन् ।
यसैगरी यसै पालिकाको वडा नम्बर ४ को पाँचपाण्डवमा बोयर प्रजातिको बाख्राको बोका केन्द्रले सहयोग गरेपछि ब्याडे बोकाबाट उन्नत प्रजातिको पाठापाठी उत्पादनमा सहयोग भएको छ । महिला समूहको जिम्मेवारीमा रहने गरी प्रदान गरिएको बोयर प्रजातिको बोकाबाट यो क्षेत्रमा सयभन्दा बढी पाठापाठी उत्पादन भएका छन् ।

अर्यालका अनुसार यस गाउँपालिकाको वडा २ मा १७ घरलाई ४ वटाको दरले बंगुर प्रदान गरिएको थियो, यसबर्ष १६ जनालाई दिने योजना रहेको छ । यसैगरी वडा १ देखि ५ सम्म ४८ घरलाई टनेल तरकारी खेतीको लागि सहयोग गरिएको थियो । यसैगरी वडा ३ को १६ जनालाई बाख्रा र सबै वडामा २० वटाका दरले कुखुरा दिएको थियो । ग्रामिण क्षेत्रमा आर्थिक वृद्धि भइ, स्कुल पढाउन र घरखर्चमा यसले धेरै सहयोग पुर्याएको फिल्ड संयोजक अर्यालले बताइन् ।
मकवानपुरमा मानब बेचविखन रोकथाम तथा सुरक्षित स्थागमन प्रबर्द्धन परियोजना अन्तरगत लागु गरिएको यो कार्यक्रमबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा युवाहरुले राहत पाएका छन् । मकवानपुर जिल्लाको राक्सिराङ र बागमती गाउँपालिकामा यो परियोजना लागु गरिएको परियोजना संयोजक ज्योती बम्जनले बताइन् । युवाहरुलाई स्वदेशमै रहेर उद्यम गर्न आत्म निर्भर रहन धेरै सहायता पुगेको उनले बताइन् ।

आवो अन्तरास्ट्रिय संस्थाको आर्थिक सहयोगमा नारी सिपद्वारा यो परियोजना लागु भएपछि युवाहरुलाई स्वरोजगारमा लाग्न प्रेरणा मिलेको केन्द्रको अध्यक्ष सरस्वती बर्तौलाले बताइन् । “जीविकोपार्जनको लागि असुरक्षित बराइसराई गर्ने, विदेश जाने र दुख पाउने, कष्टकर जीवनबाट छुट्कारा दिलाउने हाम्रो लक्ष्य हो” अध्यक्ष बर्तौलाले भनिन् । युवालाई कुनै न कुनै रुपमा आफ्नो गाउँठाउँमा रहेर स्वरोजगार, सिर्जनशील र आत्मानिर्भर बनाउने र जोखिमबाट बचाउँने अभियानमा संस्थाले सहयोग गरेको अध्यक्ष बर्तौलाले बताइन् ।
केन्द्रले जोखि वर्गको उत्थानको लागि यो परियोजना लागु गरेको भएपनि लाभग्राही सबैले आफ्नो लागि संघर्ष कम गरेको स्थानीय जनप्रतिनिधिहरुले भनाइन् छ । जुन रुपमा सहायता र सहयोग प्राप्त भएको छ, त्यो रुपमा अपनत्व भएको छैन, संस्थाले वा पालिकाले गरेको सहयोगलाई आधार मानेर आफूहरुले पनि व्यवसाय वा सिप फैलाउने हो भने जीविकोपार्जनमा अझै धेरै राहत प्राप्त हुने बागमती गाउँपालिका अध्यक्ष सर्केश घलानले बताए ।

केन्द्रले स्थानीयवासीहरुलाई टोल टोलमा समुह बनाएर मानब बेचविखन रोकथाम तथा सुरक्षित स्थागमन प्रबद्र्धनको लागि टेवा पुग्ने गरी स्थानीय आवश्यकता, समस्या तथा समाधानको विषयमा सामुदायिक छलछफल समेत गर्ने गरेको छ । यस्ता छलफल केन्द्रहरुबाट स्थानीय आवश्यकता तथा समस्याहरुको उठान हुने र सम्बोधन गर्न सहज हुने गरेको सामाजिक सहजकर्ता बागमती गाउँपालिका वडा ३ की जानुका दोङले बताइन् । सरसफाइलगायतको पाटोमा पनि महिलाहरु अग्रसर भएको उनले बताइन् ।
मकवानपुर । मकवानपुरको हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कम्पनी लिमिटेडले चार वर्षअघि बढाइएको भाडा अहिले असुल गर्न खोजेको प्रति उद्योगिहरुले असन्तुष्टि जनाएका छन् ।
४ वर्ष पहिले बढाएको भाडा २०७९ सालमा आएर पत्र काटेको भन्दै उद्योग संघ मकवानपुर आन्दोलन उत्रने भएको हो । औद्योगिक क्षेत्र व्यवस्थापनले यहाँको उद्योगहरूलाई कुल १४ करोडभन्दा बढी रकमको बिल पठाइएको जनाइएको छ ।
क्षेत्रफलको दृष्टिकोणले देशकै ठूलो हेटौँडा आद्योगिक क्षेत्रका उद्योगीहरूलाई अहिले प्रोत्साहनभन्दा उद्योग बन्द गर्न बाध्य पार्न लागिएको आरोप लगाइरहेका छन् ।
उद्योग संघ मकवानपुरले आज मकवानपुर आइपुगेका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूलाई भेटेर भाडा लागू नगर्न माग गरे ।
उद्योग संघ अध्यक्ष स्वागतराज प्याकुरेलले जग्गा भाडादर वृद्धिप्रति संघको पूर्ण असहमति रहेको भन्दै लागू नगर्न मन्त्रीसमक्ष अनुरोध गरेको बताए ।
लिमिटेडले हेटौँडा औद्योगिक क्षेत्रको प्रति रोपनी १९ हजार ६ सय ९१ रुपैयाँको दरले भाडा भुक्तानी गर्न औद्योगिक क्षेत्रका १ सय ४९ वटा उद्योगहरूलाई पत्रसहित बिल पठाएको छ ।
कार्यालयले २०७५ को निर्णय अनुसारको बढेको जग्गा भाडा भुक्तानीका लागि उद्योगीहरूलाई पत्र काटेको हो । लिमिटेडले हेटौँडा औद्योगिक क्षेत्रको हाल कायम भाडादरमा १ सय ३३ प्रतिशत वृद्धि गरेर सोही अनुसारको भाडा भुक्तानीका लागि पठाएको हो ।
२०७५ मंसिर ५ को निर्णयानुसारको भाडा तिर्नुपर्ने भन्दै ४ वर्षपछि उद्योग प्रतिष्ठानहरूलाई पत्र काटेको जनाइएको छ । “आजसम्म बिना जानकारी बस्ने अनि यसरी एक्कसी भुक्तानीको पत्र पठाउने यो न्याय संगत भएन” एक उद्योगिले भने । “चार वर्षअघि बढाइएको भनिएको भाडाको भुक्तानी दिन यतिबेला पत्र काटेर हुन्छ रु” उनले भने । औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय हेटौँडाका प्रमुख भोजराज विनाडीका अनुसार ‘२०७५ सालमै भाडा बढाउने निर्णय कार्यान्वयन गर्न भनिएको थियो ।
“सोही अनुसार हामीले भुक्तानीका लागि बिलसहित पत्र काटेका हौ ।” विनाडीले भने ।
बिल अनुसार हेटौँडा औद्योगिक क्षेत्रमा १७ रोपनी जग्गा भाडामा लिएर सञ्चालन गर्दै आएको एउटा उद्योगले यसै महिनामा ९ लाख ५ हजार रुपैयाँ भाडा भुक्तानी गर्नुपर्ने भएको छ ।
कोरोना महामारीपछि थिलोथिलो भएको उद्योगहरू बाँमे सर्न लाग्दा यस्तो तनाव दिइएकोले यो तिर्न नसकिने अवस्थामा उद्योगहरू नरहेको संघका अध्यक्ष प्याकुरेल बताउँछन् ।
बल्ल उठ्न थालेको र हाल तरलता अभाव र महँगीका कारण धरासयी अवस्थामा भाडा वृद्धिको निर्णयले हतोत्साहित बनाएको उनको भनाइ छ । हेटौँडा औद्योगिक क्षेत्रमा रहेका १ सय ४९ वटा उद्योगमध्ये १ सय ३३ वटा सञ्चालनमा छन् । ५ वटा पूर्ण रूपमा बन्द अवस्थामा छन् । ११ वटा उद्योग निर्माणाधीन अवस्थामा रहेको कार्यालयले जनाएको छ ।
मकवानपुर । संघीय सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले बागमती प्रदेशको राजधानी हेटौंडाको मयुरधाप औद्योगिक क्षेत्र निर्माण कार्य चाँडै थालिने आश्वासन दिएका छन् । मन्त्री बडूले आज वैकल्पिक औद्योगिक क्षेत्र निर्माण स्थलको अनुगमन गर्दै यस्तो बताएका हुन ।
मकवानपुरको हेटौंडा–१४ मा निर्माण गर्न लागिएको मयुरधाप औद्योगिक क्षेत्रमा चाँडै निर्माण कार्य सम्पन्न गरीने र काठमाडौंका उद्योगलाई यहाँ विस्थापन गर्न सकिने उद्योगमन्त्री बडुले बताए । १ वर्ष अघि नै वातावरणीय प्रभाव मुल्याङ्कपछि निर्माण कार्य थालिने तयारी भएको भए पनि उक्त स्थानमा औद्योगिक क्षेत्र निर्माण गर्न पर्सा वन्यजन्तु आरक्षले अनुमति नदिएपछि काम अधिबढ्न सकेको छैन ।
उनले उद्योग व्यवसायको अवस्था र समस्या बारे स्थानीयस्तरमा पुगी जानकारी लिनु पर्ने पनि बताए । स्थानीय स्तरसम्म पुग्दा यो क्षेत्रको समस्यालाई प्रभावकारी ढंगले समाधान गर्न सहज हुने उनले बताए । हाल देशको अर्थतन्त्र सहज नभएको, आयातमा निर्भरता बढ्नुका साथै निर्यातको अपेक्षा पूरा गर्न नसकिएकोले व्यापार घाटा बढेको उनले बताए ।
मुलुकको राष्ट्रिय उत्पादन र निर्यातजन्य उत्पादन बढाउन आवश्यक रहेको त्यसका लागि नीति निर्माण गरेको, सरकारले चलाएका १० वटा औद्योगिक क्षेत्र पूर्ण रुपमा सञ्चालन हुन नसकेको, औद्योगिक क्षेत्रमा जमिन ओगटेर उद्योग सञ्चालन नगरेकाको हकमा निर्णायक समाधान खोजिने उनले बताए ।
अवलोकन टोलीमा नेपाली कांग्रेस मकवानपुर जिल्लाको जिल्ला सभापति बुद्ध लामा, हेटौंडा उपमहाननगरपालिका १४ का वडा अध्यक्ष दिपक खड्का, उपमहानगरपालिकाको उपप्रमुख राजेश बानियाँलगायतको उपस्थिती थियो ।
आजै मन्त्री बडुले मकवानपुर उद्योग वाणिज्य संघका पदाधिकारीहरुसँगको भेटमा राष्ट्रिय उत्पादन बढाउन चलिरहेका उद्योगहरु पूर्ण क्षमतामा चालाउनु पर्ने बताए । बिराटनगर जुट मिल, जनकपुर चुरोट कारखाना, हेटौंडा कपडा उद्योग जस्ता उद्योगहरु पुनः संचालनमा ल्याउनु पर्ने र नया“ उद्योगहरु स्थापना गर्नुपर्ने उनले बताए । हेटौंडा कपडा उद्योग पुनः संचालन गर्न बजेट विनियोजन भइसकेको र निजी क्षेत्रले संचालन गर्न चाहेमा प्रक्रिया प्रारम्भ गरिने उनले बताए ।
बिदेशी मुद्रा सञ्चिति र व्यापार घाटा घटाउन उद्योगहरुको साठी प्रतिशत उत्पादन विदेश निर्यात गर्नुपर्ने, सुनसरीमा ६५० बिगा र सुदुरपश्चिमको हरैयामा ३२० बिगा जमिन उद्योग स्थापनाको लागि छुट्याइएको, औद्योगिक क्षेत्र नै निजी क्षेत्रले चलाउन चाहे भाडामा उपलब्ध गराउन सकिने उनले बताए ।
उनले नापतौल कार्यालय हेटौंडामा स्थापना गर्न काठमाडौं गएपछि तुरुन्तै लाग्ने आश्वमस समेत दिए । “झन्झट घटाउन उद्योग दर्ताको लागि एकल विन्दु सेवा केन्द्रको अवधारणामा मन्त्रालयले तयारी गरेको छ” उनले भने “सिमेन्ट, क्लिंकर र फुटवेयरमा देश आत्मनिर्भर भइसकेको छ, दैलेखको पेट्रोलियम पदार्थ निकाल्दा लागतभन्दा उत्पादन धेरै हुने देखिए उत्पादन शुरु गरिनेछ ।”
विजुली उत्पादन गरी एलपीजी ग्या“स खपत घटाउन सकिने र आरक्षको समस्या हटाएर मयुरधाप विस्तारित औद्योगिक क्षेत्र सञ्चालन गरिने उनले बताए ।
मउवासंघको कार्यक्रममा संघका पूर्व अध्यक्ष जिवनकाजि माकजु श्रेष्ठ, भुवनलाल श्रेष्ठ, सल्लाहकार महेन्द्र राउत, वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, उपाध्यक्षद्वय प्रमोद सिंह रानाभाट र उज्वल चौलागाई, महासचिव दिपक उप्रेती, कोषाध्यक्ष सन्तोष कुमार अर्याल, सचिव राजाराम कार्की, नेपाली का“ग्रेस मकवानपुरका सभापति बुद्ध लामा, हेटौंडा क्याम्पसका अध्यक्ष आनन्दराम पराजुली, हेटौंडा सिमेन्ट उद्योगका महाप्रवन्धक बसन्त कुमार पाण्डे, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव बाबुराम गौतम, मकवानपुर चेम्बर अफ कमर्शका अध्यक्ष माधव न्यौपाने सहभागिता रहेको थियो ।
मकवानपुर । सन् १९८९ मा विश्व बैंकको २ दशमलव २ मिलियन अमेरिकी डलर सहयोग प्राप्तिसँगै सूरू गरिएको नगर विकास कोषमा आगामी विकासको लागि आफूले सक्दो प्रयास गर्ने हेटौंडा उपमहानगरपालिका प्रमुख मिनाकुमारी लामाले बताएकी छिन्।
नगरविकास कोषले सहरी पूर्वाधार विकासमा वित्तीय लगानी प्रवाह गर्ने गर्दछ । नगर विकास कार्यक्रमका लागि १९९५ मा जर्मन विकास बैंकमार्फत् प्राप्त ४ दशमलव ५ मिलियन युरो सहयोगबाट नेपालको ३२ नगरपालिकाको पूर्वाधार विकासमा खर्च गरिएको थियो ।
प्रथम चरणको कार्यान्वयन सफल भएसँगै जर्मन विकास बैंकमार्फत् कोषलार्ई सहयोग निरन्तर भयो । सन् २००० मा नगर विकास कार्यक्रमको दोस्रो र २०१० मा तेस्रो चरणको योजना सञ्चालन भयो । काठमाडौंमा भएको नगर विकास कोषको पहिलो बैठकमा सहभागिता भएसंगै आज कार्यक्रममा लामाले सपथ लिएकी हुन् ।
नगर विकास कोष सञ्चालक समितिको २०३ औं बैठकमा उनी सहभागी भएकी हुन् । बैठकमा कोषका सञ्चालक समितिका सदस्यहरुको स्वागत तथा सपथग्रहण र निवर्तमान सदस्यहरुको बिदाइ गरिएको थियो । कोषको आव २०७९/८० को नीति कार्यक्रम तथा तयारी उपसमिति गठन गरिएको छ ।
कोषका सञ्चालकहरुमा पोखराका मेयर धनराज आचार्य, हेटौंडाकी मेयर लामा, सूर्योदय नगर इलामका मेयर रणबहादुर राई, लमही नगर दाङका मेयर जोगराज चौधरी, बौधीमाई नगर रौतहटका मेयर प्रदीपकुमार यादब, लम्कीचुहा नगर कैलालीकी मेयर सुशीला शाहीलगायत १४ जना छन् ।
सहरहरुलाई सुन्दर र सफा बनाउने योजनासहित करिब ३ दशकअघि परिकल्पना गरिएको नगर विकास कोष आफ्नै हिसाबले काम गरिरहेको छ ।
विश्व बैंक, एशियाली विकास बैंक (एडीबी) लगायत दातृ निकायको सहयोग लिएर काम गर्दै आएको कोषले नगरपालिका क्षेत्रमा बसपार्क, उद्यान, व्यवस्थित बजार, प्रशासकीय भवन, विद्यालय भवन, अस्पताल भवन, खानेपानी, व्यापारिक भवनलगायत १ हजार २ सयभन्दा बढी आयोजना लगानी गरेको छ । कोषले नेपाल सरकार, विश्व बैंक, एडीबी, जर्मन विकास बैंक, जीआईजेड, युएनसीडीएफ, ईयु डेलिगेसन टु नेपाल आदि विकास साझेदारको वित्तीय तथा प्राविधिक सहयोग परिचालन गरिरहेको छ ।
मुलुक संघीयतामा गएपछि स्थानीय तहहरु स्वायत्त र बलिया भएका छन् । नगर विकास कोष भने आफ्नै शैलीमा काम गरिरहेको छ । दीगो सहरी पूर्वाधार र सेवाप्रवाहको सुनिश्चिताका लागि ऋण परिचालनको विधिबाट संरचनाहरु निर्माण गरिनुपर्छ भन्ने मुल मर्मसाथ २०४५ फागुन २ गते नगर विकास कोष स्थापना भएको हो । पहिले समितिको रुपमा स्थापना भएकोमा २०५३ सालमा नगर विकास कोष ऐनद्वारा स्वायत्त संस्था नगर विकास कोषको रुप दिईएको थियो ।
नेपाल सरकारको करिब १ करोड २९ लाख इक्विटी सेयरबाट थालनी भएको कोषले हाल नगरपालिका र साना सहरमा सहरी पूर्वाधार र सामाजिक पूर्वाधारका आयोजनाहरुमा आफ्नो सेवा विस्तार गर्दै कुल पुँजी करिब ५ दशमलव ८ अर्ब पुर्याएको छ । सहरी विकासका बहुआयामिक पक्षलाई समेटी एकीकृत सहरी पूर्वाधार विकासका लागि वैकल्पिक वित्तीय उपकरण सम्वर्धन तथा प्रबर्द्धन र सहरी विकासमा आवद्ध संस्थाको क्षमता विकासका कार्य गर्दै आएको छ ।
कोषले हालसम्म सहरी पूर्वाधारका रुपमा बसपार्क, व्यावसायिक भवन, नगरपालिका भवन, स्कुल भवन, मनोरञ्जन पार्क, फोहरमैला व्यवस्थापन, ढल व्यवस्थापनलगायत आयोजनामा ९ अर्ब ६१ करोड ऋण तथा २ अर्ब २९ करोड अनुदान लगानी गरिसकेको छ ।
आयोजनाको प्राविधिक, वित्तीय, संस्थागत, वातावरणीय, कानुनीलगायत पक्षहरुको विश्लेषण गरेर कोषले आयआर्जन हुने खालका आयोजनामा आयोजना लागतको ९० प्रतिशत्सम्म लगानी गर्छ । नगर विकास कोष भनेको नगरपालिकाहरुको प्राविधिक र आर्थिक सल्लाहकार हो । नगरपालिकाहरुको पूर्वाधार विकासमा वित्तीय लगानीका लागि कोष आर्थिक र प्राविधिकरुपमा सक्षम छ ।
मकवानपुर । सरकारले आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीति सार्वजनिक गरेको छ । शुक्रबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।
सार्वजनिक मौद्रिक नीतिले गरेको व्यवस्थाअनुसार राष्ट्र बैंकले ७ प्रतिशत रहेको ब्याज दरलाई बढाएर ८.५ प्रतिशत पुर्याएको छ ।