मकवानपुर । हेटौंडामा १५ दिने कफी बनाउने तालिम बिहीबारबाट सुरु भएकाे छ । युवाहरूलाई सीपयुक्त, आत्मनिर्भर र रोजगारीतर्फ उन्मुख गराउने उद्देश्यले तालिमकाे उद्घाटन गरिएको हाे ।
तालिमकाे उद्घाटन गर्दै उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री बिन्दु श्रेष्ठले युवालाई सीपमूलक तालिममार्फत स्वरोजगारमा जोड्नु आवश्यकता रहेकाे बताइन् । ‘पुनर्स्थापना केन्द्रहरू केवल उपचार गर्ने स्थान मात्र होइनन्, यहाँबाट नयाँ जीवनको सुरुवात हुनुपर्छ’ उनले भनिन् ‘कफी बनाउने सीपले युवाहरूलाई आत्मसम्मानसहित आत्मनिर्भर बन्न सहयोग पुर्याउँछ ।’ प्रदेश सरकारले सीप मुलक कार्यक्रमलाई निरन्तर दिदै समर्थन समेत गर्ने उनले बताइन् ।
राष्ट्रिय मानव अधिकार आयोग, बागमती प्रदेश प्रमुख चन्द्रकान्त चपागाईंले पुनर्स्थापना र मानव अधिकार एक–अर्कासँग गहिरो रूपमा जोडिएको विषय भएकाे बताए । ‘सीप विकास र रोजगारीको अवसर बिना पुनर्स्थापना अपूरो हुन्छ’ उनले भने ‘यस्तो तालिमले युवालाई समाजमा सम्मानका साथ पुनःस्थापित हुन सहयोग गर्दछ, जुन मानव अधिकारको महत्वपूर्ण पक्ष हो ।’
उद्योग तथा वाणिज्य कार्यालय, मकवानपुर प्रमुख रामप्रसाद भुसालले तालिमलाई व्यवहारिक र बजारमुखी बनाउन जोड दिनु पर्ने बताए । ‘कफी बनाउने सीप अहिले रोजगारी र उद्यमशीलताको राम्रो सम्भावना बोकेको क्षेत्र हो‘ उनले भने ‘तालिमपछि सहभागीहरूले आफैं रोजगारी सिर्जना गर्न सक्ने अवस्था बनाउनु पर्छ ।’
सिआन पुनर्स्थापना केन्द्रका निर्देशक सौजन क्षेत्री (डी.सी.) ले युवाहरूलाई कमजोरीका आधारमा होइन, क्षमताका आधारमा अघि बढाउने बताए । केन्द्रको उद्देश्य र अभियानबारे प्रकाश पार्दै उनले भने ‘तालिम आत्मविश्वास र भविष्य निर्माण तर्फको महत्वपूर्ण पाइला हो ।’
उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय अन्तरगतकाे उद्योग तथा वाणिज्यको आर्थिक सहयोग तथा सिआन पुनर्स्थापना केन्द्र, हेटौंडाको आयोजनामा सुरु गरिएकाे तालिममा विशेषतः सिआन पुनर्स्थापना केन्द्रमा उपचाररत युवाहरूलाई प्राथमिकता दिइएकाे छ । कफी बनाउने तालिम सिआन भवन, हेटौंडा–९, लामसुरेमा सञ्चालन हुने छ ।
आयोजकले तालिमले युवाहरूलाई सीप, अनुशासन र आत्मनिर्भर जीवनतर्फ प्रेरित गर्ने विश्वास लिइएको बताएकाे छ । प्रदेश सरकारको उद्यमशीलता, सीपमूलक तालिम र स्वरोजगार प्रवर्द्धन गर्ने नीति तथा कार्यक्रमलाई समेत प्रभावकारी रूपमा टेवा पुर्याउने अपेक्षा गरिएको छ ।
मकवानपुर । कृषि कर्ममा युवालाई प्रोत्साहन गर्न नसकिएको बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसूदन पौडेलले बताएका छन् ।
परम्परागत शैलीमा आधुनिक प्रविधिलाई जोडेर कृषि कर्मलाई युवामाझ लैजान नसकिएको भन्दै कृषि प्रतिको दृष्टिकोण फेर्न जरुरी रहेको उनले बताएका हुन् ।
कृषि उत्पादन भए पनि त्यसको प्रभावकारी बजारीकरणमा चुनौती औँल्याउँदै मन्त्री पौडेलले उत्पादन बढाउनुभन्दा पनि उत्पादित वस्तुको ब्राण्डिङमा जोड दिनुपर्ने बताए। उनले नेपालमा संसारमा नपाइने विशिष्ट कृषि उत्पादनहरू रहेको र त्यसलाई विश्व बजारमा पुर्याउन सके मनग्ये आम्दानी गर्न सकिने बताउँदै यस विषयमा सरकारको ध्यान केन्द्रित भएको जानकारी दिए ।
हेफर इन्टरनेशनल नेपालद्वारा आयोजित र कृषि तथा पशुपन्छी विकास मन्त्रालय, बागमती प्रदेशको प्राविधिक सहयोगमा भएको ‘कृषि तथा पशुपन्छी विकास सम्बन्धी कार्यक्रममा सहकार्यको सम्भावना र अवसरबारे सरोकारवालासँगको प्रादेशिक अन्तरक्रिया कार्यक्रम’ मा प्रमुख अतिथिको रूपमा बोल्दै मन्त्री पौडेलले युवालाई कृषिमा आकर्षित गर्नका लागि प्रदेश सरकारले ‘कृषि ज्ञान रत्न’ कार्यक्रम ल्याएको बताए । हाल यो कार्यक्रम अन्तर्गत १० लाख रुपैयाँसम्म अनुदान दिने व्यवस्था गरिएको भए पनि आवश्यकताअनुसार यसलाई बढाउन सकिने उनको भनाइ थियो ।
मन्त्रालयका सचिव बैकुण्ठ अधिकारीको अध्यक्षतामा सम्पन्न अन्तरक्रियामा बागमती प्रदेशमा कृषि तथा पशुपन्छी क्षेत्रमा कार्यरत साझेदार संस्थाहरूको भूमिका र प्रभावकारिताको समिक्षा गरिएको थियो । छलफलमा हेफर इन्टरनेशनल नेपालका कार्यक्रमहरूलाई प्रादेशिक नीति, रणनीति, योजना, कार्यक्रम र प्राथमिकतासँग कसरी तादम्यता मिलाउन सकिन्छ भन्ने विषयमा विशेष जोड दिइएको थियो ।
यसका साथै, साझेदारीबाट भविष्यमा अपेक्षित उपलब्धि र सम्भावनाहरूका बारेमा समेत सरोकारवालाहरूबीच गहन विमर्श गरिएको हेफरका कार्यक्रम प्रबन्धक कृष्ण कट्टेलले बताए । कार्यक्रममा हेफर नेपालकी कार्यक्रम निर्देशक सबिना प्रधानले हेफरको काममा हातेमालो गर्नेहरूकै कारण संस्थाले कृषिमा योगदान गर्न संभव भएको बताइन् । कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका ललित घलान, मकवानपुर बागमती गाउपालिका अध्यक्ष सर्केस घलानलगायतको सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
मकवानपुर । मकवानपुर मनहरी गाउँपालिका वडा न ४ ठाडो खोलाकी २५ वर्षिया रिमाको अनुहारमा अहिले चमक भरिएको छ । ३ वर्ष अघिसम्म आफ्नो दैनिकी देखेर आफैं उकुसमुकुस थिइन्
रिमा । आर्थिक रुपमा कमजोर परिवार घर चलाउन नै धौधौ थियो । मनहरी बजारबाट झण्डै २ घण्टा खहरे र उकाली हिडाइपछि पुगिन्छ रिमाको बस्ति ।काठले बारेर बनाइएको घरको आकार, जहाँबाट घाम सजिलै भित्र चिहाउँछ, पानी सहजै पस्दछ । पहिरोको जाखिममा छ त्यही घर पनि । २ महिना अघिको झरीमा घरछेउकै बारी पहिरोले लग्यो । तर रिमाको हिम्मत घटेको छैन । २ वर्ष अघि स्थानीय सरकारले आफूलाई दिएको पाडी उनको हिम्मतको एउटा कडि हो ।
आर्थिक अवस्था सुधारको लागि मनहरी गाउँपाललिकाले रिमालाई २ वर्ष पहिले अनुदानमा पाडी दिएको थियो । जसलाई रिमाले ३ हजार ५ सय ६० रुपैयाँ मात्रै लगानी गरिन् । स्थानीय सरकारबाट उनले लिएको यो अनुदान पहिलो पटक हो । “यसरी सरकारले हामी दुखी गरिबलाई राहत दिन्छ भन्ने नै थाहा थिएन, आफैंले पाएपछि थाहा भयो” रिमा भन्छिन् “अहिले बेच्यो भने पनि ६० हजार माथि नै आउँछ, तर बेच्दिन, यसबाट दुध विक्री गर्ने र पाडापाडी बढाउने विचार छ।”
विकट वस्ति बासोबास गर्ने उनले यसअघि गाउँपालिका जान नै डर लाग्ने गरेको बताइन् । “कसरी जाने कसलाई भेट्ने के भन्ने थाहै थिएन, बच्चाको जन्मदर्ता गराउन जाँदा पनि कति पटक भित्र बाहिर गरेर धेरै कष्टले बनाएर आएँ” उनले सुनाइन अब त चाहिएको कुरा भन्न सक्छु । आफ्नो टोलमा समूह गठन भएपछि,केही समस्या राख्न र आफ्ना जनप्रतिनिधिसँग बोल्न सक्ने भएको उनले बताइन् ।
“एक साता अघि पनि गाउँपालिकाले चुल्हो बाँडिरहेको छ तर यहाँ १५ रुपैयाँदेखि ६० रुपैयासम्म पैसा उठाएको पाएँ, अरु वडाहरुमा बुझ्दा पैसा नै नपर्ने रहेछ, निशुल्क चुल्होलाई यता किन पैसा उठाएको उजुरी गर्दिउ भनेपछि पैसा लिएन” रिमा भन्छिन् “संसार बोल्नेको मात्रै रहेछ, गाउँपालिकाको सेवा सुविधा अरु वडामा के के छ बुझेर हामी अघि बढ्छौ ।” रिमाले अर्को भैसी, एक हल गोरु पनि पालेकी छिन्, बाँकी समय खेती र ज्यालामा लगाउँछिन् । आर्थिक सशक्तिकरणको पाइलाहरु मजबुत बन्दै छन् रिमाको ।
ठाडो खोला कृषक महिला समूहको सचिवको जिम्मेवारी रिमामाथि नै छ, उनी अहिले गाउँपालिकाको अध्यक्ष उपाध्यक्षसँग समूहको भलाइको लागि आवाज उठाउन सक्ने भएकी छिन् “आफ्नो कुरा नराखेसम्म अरुले तलाइ ला भनेर त कहाँ दिने रहेछ र ?” रिमा भन्छिन् “आफैं तातेपछि केही राहत त हुने रहेछ ।”
रिमाको जस्तै घर चलेको छ ३८ वर्षिया अविना प्रजाको पनि क्षयरोगको कारण ३५ वर्षकै उमेर ५ वर्ष अघि उनको श्रीमान माइला प्रजाको मृत्यु भयो । अहिले १५ वर्षिय छोरालाई पनि क्षयरोगको संक्रमण देखिएको छ । वडाबाट २ वर्ष पहिले ५ वटा बाख्रा सहयोग पाएकी थिइन् अविनाले । जसले छोराछोरी पढाउन र घर चलाउन आर्थिक रुमपा सहज भयो । ज्यालमजदुर गरेर भए पनि श्रीमान् हुदा घर चलेको थियो, उहाँ बिरामी भएपछि उपचारमा खर्च गर्न पनि सकिएन, बितेर गएपछि झन् मलाई शंकट नै थियो” अविना भन्छिन् “समूहका साथीहरुको पहलमा वडाले सहयोग गरेपछि मैले छोराछोरी पढाउन र घर धान्न सकेको हुँ ।” वडाले दिएको ५ वटा बाख्राबाट अनिवाले २१ वटा पु¥याइन्, हुर्केका बाख्राहरु बेचिन्, अहिले साना ठुला गरी ११ वटा बाख्रा छन् । छोराको उपचारमा पनि यही बाख्राको आम्दानीले राहत भएको बताउँछिन् अविना ।
अविनाको लागि बाख्रा बाहेक अरु आय स्रोत छैन, तरकारीको लागि उनको बस्तिमा पानीको समस्या छ । “सुख्खा मौसममा पिउने पानी नै हुदैन, पाखो बारी छ बाख्रा सजिलो छ” राधिकाले भनिन् । २०८१ भदौमा २ वटा बाख्रा चाँही बाघले खायो, त्यसको पैसा आउँछ भनेर आश्वासन पाइन् तर क्षतिपुर्ति भने पाइनन् ।
सबैभन्दा ठुलो कुरा त आफ्नो लागि आफैं लाग्नु पर्ने रहेछ भन्ने बुझाइ भएको छ स्थानीय राधिका प्रजालाई पनि । मकवानपुर महिला उत्थान समूहको सहजिकरणमा कृषक समूह गठन भएपछि यहाँका समुदायले तरकारी खेती, बाख्रा पालन, पाडा पालन गरिरहेका छन् । पाखोबारीमा कृषि उपज राम्रो हुदैन, वर्षमा ३ महिनामात्रै खान पुग्छ, त्यसैले उनले २५ कठ्ठा खेत अरुको कमाएकी छिन्, जसको भाडा दिएर आफूलाई बर्षभरी पुग्ने अनाज उत्पादन हुन्छ । स्थानीय सरकारले धानको बिउमा पनि अनुदान दिन्छ, यसले पनि धेरै राहत हुन्छन् ।
स्थानीय सरकार र स्थानीय सर्वसाधारणबीच पूलको काम गरेको छ ठाडोखोला कृषक महिला समूहले । सरकारको संरचनाकै रुपमा रहेको टोल विकास समूह भने यहाँ सकृय छैन । टोल विकास समूह नभएपछि टोलको भलाइको लागि अन्य विकास निर्माणको पाटो भने ओझेलमै छ । २ वर्ष अघि टोल विकास समिति गठन गरेको तर, को को समितिमा छन् भन्ने समेत जानकारी छैन ।
टोल विकास समुह सक्रिय भएमा स्थानीय ठाउँमा बाटो निर्माण, हानिकारक अभ्यास निवारणको लागि पनि पहल हुने अपेक्षा गर्छन महेश प्रजा । यो बस्तिमा जानको लागि गोरेटो बाटोको अरु विकल्क छैन । सामान्य ट्याक्टर आउने ट्रयाक मात्रै पनि नभएपछि खेतसम्म मल लैजान पनि सकस छ स्थानीयहरुलाई । “आर्थिक रुपमा हामी पछाडी छौ, दिनहुँ ज्याला मजदुरीमै जाने हो, अरुको जग्गा कमाएका छौ, मल लैजान पनि व्यक्तिले बोक्नुपर्छ, वडासम्म व्यक्तिले लगेको आवाजले बल पुग्ने रहेनछ” स्थानीय राधिका प्रजाले भनिन् । वडा सरकारले पार्टीगत रुपमा टोललाई विकासबाटै पक्षपात गरेको आभाष पनि छ स्थानीयहरुलाई । “वडा सरकारको पनि केही गलत कदम छन्, तर हामीले गरेको कुराको सुनुवाइ हुदैन, टोल विकास छैन, हाम्रो पहुँच पुग्दैन” उनले भनिन् ।
वडा र गाउँपालिकाले दिने अनुदानमा कहिले काँही धरौटीको व्यवस्था गर्दा प्राप्त अनुदान पनि स्थानीयको पहुँचभन्दा बहिर रहेको मकवानपुर महिला उत्पान समूहकी सामाजिक सहजकर्ता विष्णुमाया तितुङ बताउँछिन् । “केही समय अघि वडाबाट ५ वटा बाख्राको लागि २० हजार पैसा डिपोजिट गर्नेगरी सहयोग आएको थियो, २० हजारको जोहो गर्न नसक्दा कसैले पनि बाख्रा लिनु भएन” विष्णुमायाले भनिन् ।
स्थानीय विकासको लागि टोल विकास समितिहरुलाई सक्रिय बनाउन नसक्दा विकासमा सहकार्य गर्न समस्या भएको वडा अध्यक्ष प्रकाश थापाले स्वीकार गरे । केही टोल विकास समितिहरु सक्रिय छन्, विकासका योजना निर्माणमा पनि सहकार्य गर्छन, केहीलाई अब हामीले थप शसक्त बनाउनु पर्ने छ, त्यो हामी गर्दैछौ” थापाले भने ।
विकट बस्तिहरुमा योजना बनाउँदा टोल विकाससँगै समाजको अगुवाहरुसँग समेत छलफल गर्ने गरेको उनले बताए । यता मनहरी ६ प्रतापपुरमा गठिन शुभकामना पुरुष समूहको अध्यक्ष बुद्धि राईलगायतको पहलमा टोलमा तरकारी खेतिको लहर चलेको छ । तरकारीको लागि आवश्यक सिंचाइको व्यवस्थापन भएको छ । मौसमअनुसारको तरकारीको लागि बिउ तथा मल्चिङ प्लाष्टिकहरुमा स्थानीय सरकारबाट अनुदान पाएपछिको सहयोग र समन्वयले स्थानीयहरुको आर्थिक अवस्था मजबुत बन्दै आएको छ । आवश्यकता अनुसार धारा, ट्युबेल छन्, खोलाको पानी कुलो मार्फत ल्याउने व्यवस्था पनि छ । तरकारीबाट राम्रै आम्दानी हुन्छ स्थानीय इश्वरी राइले भनिन् ।राइले ३ कठ्ठा जग्गामा भण्टा लगाएकी छिन् ।
जुवातास खेल्ने रक्सी खानेहरु पनि पछिल्लो समय तरकारी खेतितर्फ आकर्षक भएको सामाजिक सहजकर्ता विष्णुमाया तितुङ बताउँछिन् । मकवानपुर महिला उत्थान समूहले टोलमा पुरुषहरुमात्रै रहेको शुभकामना पुरुष कृषक समूह गठन गरेको छ । महिलाहरुलाई पनि आर्थिक तथा नेतृत्व विकासमा सशक्त बनाउन गोदावरी महिला कृषक समूह गठन गरिएको छ । टोलको हानिकारक अभ्यास उन्मुलनको लागि महिला समूह र पुरुष समूह साथसाथै लागि पर्ने गरेका छन् । स्थानीय सरकारले टोलको विकासका लागि गर्नुपर्ने काममा पनि हामी सँगै खबरदारी गछौं, सँगै योजनाहरु माग्ने गरेको छौ” गोदावारी महिला कृषक समूहकी अध्यक्ष दुर्गा राइले भनिन् “अहिले त वडाले नै हामीलाई बोलाएर आफ्नो योजनाहरु सुनाउँछ, पहिले वास्तै गर्दैनथ्यो, हामीले पनि चासो नदिएर हो की ?” वडाबाट प्राप्त अनुदान तथा सहयोगले आफूहरुको जीवनस्तरमा धेरै राहत भएको दुर्गाले बताइन् ।
यहाँ गठित प्रतापपुर टोल विकास समूह अध्यक्ष कालेबहादुर राइका अनुसार वडाले टोल विकासलाई भने खासै समन्वय गर्ने गरेको छैन । सबै जानकारी शेयर हुदैन, सहयोग त गर्ने योजना यसपाली पर्छ भन्ने आश्वासन हामीले पाएका छौ” उनले भने । मनहरी ६ का वडा सदस्या विष्णु भक्त राईले सबै स्थानीयहरु सचेत भएको कारण योजना बनाउँदा र बजेट राख्दा पनि सल्लाह हुने गरेको बताए । यो बस्तिमा ३६५ भन्दा बढी परिवारको बसोवास छ । “सबैले एकजुट भएर माग राख्छन्, केही सुनुवाइ हुन्छ, सबै त पु¥याउन पनि समस्या हुन्छ” उनले भने । समूहले समसामयिक सवालमा स्थानीय सरकारका प्रतिनिधिहरुलाई राखेर सावजनिक सुनुवाइ गर्ने गरिएको सहकर्ता तितुङले बताइन् । “स्थानीय तहहरुले बल्ल चासो दिन थालेका छन्, अब चासो दिन थालेपछि उताबाट पनि मर्यादा गर्ने रहेछन्” तितुङले भनिन् ।
मकवानपुर । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमका अनुसार पेट्रोलमा २ र डिजेलमा ३ रुपैयाँ मूल्य बढाइएको हो ।
भारतीय आयल निगमबाट पेट्रोलमा २ रुपैयाँ ४५ पैसा र डिजेलमा ६ रुपैयाँ ५३ पैसा बढेर मूल्यसूची आएकोले मूल्य बढाइएको निगमले जनाएको छ । तर निगमले उपभोक्ताको हितलाई ध्यान दिदै पेट्रोलमा २ र डिजेलमा ३ रुपैयाँमा मात्रै वृद्धि गरेको जनाइएको छ ।
निगमका अनुसार बढेको मूल्य शनिबार राति १२ बजेबाट लागू भएको छ ।

मकवानपुर । नेपाल आयल नियगमले पेट्रोलको मूल्य घटाएको छ । निगमले बिहीबार राती १२ बजेदेखि लागु हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटाएको हो ।
निगमका अनुसार काठमाडौँ उपत्यका, पोखरा र दीपायलमा पेट्रोल प्रतिलिटर १५९ रुपैयाँ, सुर्खेत र दाङमा १५८ रुपैयाँ तथा बाँकी क्षेत्रमा १५६.५० रुपैयाँ कायम भएको छ । डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य यथावत राखिएको निगमले छ ।
