मकवानपुर । नेपाल आयल निगमले पेट्रोल, मट्टितेल र डिजेलको मूल्य घटाएको छ ।
निगमले शनिबार राती १२ बजेबाट लागु हुनेगरी पेट्रोलमा प्रतिलिटर ३ र डिजेल र मट्टितेलमा प्रतिलिटर १ रुपैयाँले मूल्य घटाएको हो। इन्डियन आयल कर्पोरेसनबाट मूल्य घटेर आएकोले मूल्य घटाएको निगमले जनाएको छ ।
निगमले खाना पकाउने ग्यासको मूल्यमा भने यथावत् रहेको जनाएको छ ।
मकवानपुर । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ६४ अर्ब ५४ करोडकाे बजेट प्रस्तुत गरेकाे छ । शनिबार प्रदेशसभामा आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले आगामी आर्थिक वर्षका लागि ६४ अर्ब ५४ करोड ४ लाख रुपैयाँको बजेट प्रस्तुत गरे ।
कुल बजेटमध्ये चालूतर्फ २६ अर्ब १० करोड १६ लाख रुपैयाँ, पुँजीगत तर्फ ३६ अर्ब ९३ करोड ८७ लाख रुपैयाँ र वित्तीय व्यवस्थापनतर्फ १ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएकाे छ । प्रदेश सरकारले कुल विनियोजनको चालूतर्फ ४०.४४ प्रतिशत, पुँजीगततर्फ ५७.२३ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ २.३२ प्रतिशत बजेट छुट्ट्याएको छ ।
प्रस्तुत बजेट मार्फत आगामी वर्ष प्रदेश सरकारले कर राजस्वबाट २७ अर्ब ३८ करोड ५७ लाख रुपैयाँ, अन्य राजस्वबाट ६ अर्ब ५१ करोड रुपैयाँ, सङ्घीय वित्तीय हस्तान्तरणबाट १५ अर्ब ५७ करोड ६५ लाख रुपैयाँ, चालू आर्थिक वर्षको अनुमानित सञ्चित कोषको बचत र अन्य प्राप्तिबाट १४ अर्ब ८६ करोड रुपैयाँ प्राप्त गर्ने अनुमान गरेकाे छ ।
चालु आर्थिक वर्षकाे भन्दा आगामी आर्थिक वर्षकाे बजेट १ अर्ब ८४ करोड रुपैयाँले बढी हाे । चालु आवकाे लागि प्रदेश सरकारले ६२ अर्ब ७० करोड रुपैयाँको बजेट ल्याएकाे थियाे ।
Budget-Baktabya बागमती प्रदेशमकवानपुर । बागमती प्रदेश सरकारले प्रदेशका ११९ स्थानीय तहलाई ८ अर्ब ३७ करोड रुपैयाँ वित्तीय हस्तान्तरण स्वरुप उपलब्ध गराउने भएकाे छ ।
प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले समानीकरण अनुदान, सशर्त अनुदान, समपूरक अनुदान र विशेष अनुदान मार्फत प्रदेशका स्थानीय तहलाई उक्त रकम विनियाेजन गरिएकाे बताए ।
राष्ट्रिय वित्त आयोगको सिफारिसमा समानीकरण अनुदान तर्फ १ अर्ब ६६ करोड रुपैयाँ, सशर्त अनुदानतर्फ ३ अर्ब ४३ करोड रुपैयाँ, समपूरक अनुदानतर्फ २ अर्ब ४८ करोड रुपैयाँ र विशेष अनुदानतर्फ ७९ करोड ३८ लाख रुपैयाँ विनियोजन गरिएकाे उनले बताए ।
मकवानपुर । प्रतिनिधि सभा सांसद महेश कुमार बर्तौलाले हेटौडा सिमेन्ट उद्योग संचालनमा राजनीति गर्न नहुने बताएका छन् ।
बिहीबार उद्योगको निरीक्षण गर्दै बर्तौलाले जिल्लाका सबै राजनीतिक दलका नेतृत्वले उद्योग सञ्चालनका लागि एक भएर प्रयास गर्नुपर्ने बताए ।‘राजनीतिक दलहरु हेटौंडा सिमेन्ट उद्योग संचालनको मुद्दामा एकतावद्ध हुनु पर्छ’ बर्तौलाले भने । ‘उद्योग संचालन र उत्पादनमा राजनीति गर्न हुन्न’ उनले भने ‘उद्योग संचालनका लागि सबैको साझा प्रयत्न जरुरी छ ।’
‘सिमेन्ट उद्योग नियमित सञ्चालन तथा उत्पादन पुरानो मेसिनबाट सम्भव हुदैन’ नेकपा एमालेका प्रमुख सचेतक समेत रहेका बर्तौलाले भने ‘पुरानो मेसिन हटाएर नयाँ मेसिन जडान गरेपछी मात्र उद्योग सञ्चालन गर्न सकिन्छ ।’ उनले उद्योगकाे लागि नयाँ मेसिन खरिद गर्ने फाइल उद्योग मन्त्रालय हुँदै अर्थ मन्त्रालय पुगेको जानकारी दिए ।
उद्योग दीर्घकालीन रुपमा संचालनका लागि नयाँ मोडलमा अघि बढ्नु पर्ने उनकाे भनाई थियाे । उद्योग संचालनको मोडल तयार भइरहेको बताउँदै उनले भने ‘उद्योगमा नयाँ प्रविधि जडान गरी संचालनका लागि लगानी सहितको प्रस्ताव अर्थ मन्त्रालयमा स्वीकृतिको चरणमा रहेको छ ।’ अर्थ मन्त्रालयसँग १ अर्ब १२ करोड रुपैयाँ मागसहित दीर्घकालीन सोंचसहित योजना बनाइएको उनले बताए ।
बर्तौलाले उद्योग संचालनका लागि राज्यले अभिभावकत्व लिएर काम गर्नुपर्ने बताए । ‘तत्कालका लागि उद्योग संचालन गर्न केही रकम राज्यका तर्फबाट लगानी गर्नुपर्छ’ उनले भने । उपलब्धी हुनेगरी उद्योगको विकास र संरक्षणमा काम गर्नुपर्छ’ उनले भने ’उद्योग संचालनका लागि पहल गर्छु ।’ उद्योगमा थप आर्थिक लगानी गर्नुपर्ने परिस्थिति रहेकाले सरकारले त्यसतर्फ ध्यान दिन जरुरी रहेको र उद्योगलाई निरन्तरता संचालन हुने वातावरण निर्माण गर्नुपर्नेमा उनले बताए ।
उद्योग नवनियुक्त अध्यक्ष नरेन्द्र भण्डारीकाे निमन्त्रणामा उद्योग निरीक्षण गर्न बर्तौला उद्योग परिसर पुगेका हुन् ।
मकवानपुर । हेटौंडा सिमेन्ट उद्योगका नवनियुक्त अध्यक्ष नरेन्द्र भण्डारीले पदभार ग्रहण गरेका छन् । बुधबार उनले उद्योग कार्यलयमा कार्यभार सम्हालेका हुन् ।
संघीय मन्त्रिपरिषदले केही दिन अघि भण्डारीलाई उद्योगको अध्यक्षमा नियुक्ति गरेको थियो । पदभार ग्रहण गर्दै अध्यक्ष भण्डारीले उद्योगमा विभिन्न समस्या भएपनि समाधान गर्न सकिने बताए । ‘विगत तीन/चार बर्षमा भएकाे कमिकमजाेरी पहिल्याउने छौ’ भण्डारीले भने ‘ समाधानको अल्पकालिन र दिर्घकालिन बाटो तय गरिने छ ।’ कामकाे सिलसिलामा आउने कमेन्टहरु सकारात्मक रुपमा आए सहज र उपयुक्त वातावरण सिर्जना गरि उत्पादनलाई बजारमा व्यवस्थापन गरिने उनले बताए ।
महाप्रवन्धक वसन्त कुमार पाण्डेले उद्योगको अवस्था राम्राे नभएको बताउदै आन्तरिक स्राेतबाट उद्योग संचालन हुने अवस्था नरहेकाे भनाई व्यक्त गरे । उनले सरकारकाे उचित निर्णय र सहयाेग आवश्यक रहेको बताए । ‘उद्योगबाट अवकाश भएका कर्मचारीकाे उपादान दिन सकिएको छैन’ उनले भने ‘अर्थ मन्त्रालयसम्म पहल गरिएकाेमा कम्तिमा दुई बर्षका लागि समस्या अस्थायी रुपमा समाधान हुन सक्ने छ ।’ उद्योगकाे समस्या टुङ्गिने वातावरण बन्ने तर नटुङ्गिने गरि क्रियाकलाप भैरहेकाेले उद्योग हालको अवस्थामा रहेको उनले बताए ।
नेकपा एमाले मकवानपुर जिल्ला अध्यक्ष श्रीधर पाेखरेलले ५ हजार भन्दा बढिलाई राेजगारी दिने उधाेग बन्द हुन नदिन बताए । ‘मजदुर कर्मचारीकाे सहयाेग विना उद्योगमा केही गर्न सकिने अवस्था छैन’ उनले भने । ५२/५३ वटा चुन ढुङ्गा तथा सिमेन्ट उद्याेगसँग प्रतिष्पर्धा गर्नु अवस्था रहेकाे बताउँदै उनले यही हालतमा सिमेन्ट उद्याेगले गति लिन नसक्ने भनाई राखेका थिए । प्रतिष्पर्धामा उत्रन सबै मिलेर काम गर्नु पर्छ उनले भने ।
संविधान सभा सदस्य अनन्त पौडेलले सबै मिलेर सार्थक प्रयास गरे सफल हुन सकिकने धारणा राखे । कुनै समय मुनाफामा चलेकाे सिमेन्ट उद्योग नेपालकै खानीले बाच्नुपर्छ उनले भने । पदभार ग्रहण कार्यक्रममा उद्योगका मजदुर, कर्मचारीसँगै बागमती प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईं, मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष उज्वल चौलागाईलगायतकाे उपस्थिति रहेको थियो ।