मकवानपुर । प्रतिनिधि सभा सांसद महेश कुमार बर्तौलाले हेटौडा सिमेन्ट उद्योग संचालनमा राजनीति गर्न नहुने बताएका छन् ।
बिहीबार उद्योगको निरीक्षण गर्दै बर्तौलाले जिल्लाका सबै राजनीतिक दलका नेतृत्वले उद्योग सञ्चालनका लागि एक भएर प्रयास गर्नुपर्ने बताए ।‘राजनीतिक दलहरु हेटौंडा सिमेन्ट उद्योग संचालनको मुद्दामा एकतावद्ध हुनु पर्छ’ बर्तौलाले भने । ‘उद्योग संचालन र उत्पादनमा राजनीति गर्न हुन्न’ उनले भने ‘उद्योग संचालनका लागि सबैको साझा प्रयत्न जरुरी छ ।’
‘सिमेन्ट उद्योग नियमित सञ्चालन तथा उत्पादन पुरानो मेसिनबाट सम्भव हुदैन’ नेकपा एमालेका प्रमुख सचेतक समेत रहेका बर्तौलाले भने ‘पुरानो मेसिन हटाएर नयाँ मेसिन जडान गरेपछी मात्र उद्योग सञ्चालन गर्न सकिन्छ ।’ उनले उद्योगकाे लागि नयाँ मेसिन खरिद गर्ने फाइल उद्योग मन्त्रालय हुँदै अर्थ मन्त्रालय पुगेको जानकारी दिए ।
उद्योग दीर्घकालीन रुपमा संचालनका लागि नयाँ मोडलमा अघि बढ्नु पर्ने उनकाे भनाई थियाे । उद्योग संचालनको मोडल तयार भइरहेको बताउँदै उनले भने ‘उद्योगमा नयाँ प्रविधि जडान गरी संचालनका लागि लगानी सहितको प्रस्ताव अर्थ मन्त्रालयमा स्वीकृतिको चरणमा रहेको छ ।’ अर्थ मन्त्रालयसँग १ अर्ब १२ करोड रुपैयाँ मागसहित दीर्घकालीन सोंचसहित योजना बनाइएको उनले बताए ।
बर्तौलाले उद्योग संचालनका लागि राज्यले अभिभावकत्व लिएर काम गर्नुपर्ने बताए । ‘तत्कालका लागि उद्योग संचालन गर्न केही रकम राज्यका तर्फबाट लगानी गर्नुपर्छ’ उनले भने । उपलब्धी हुनेगरी उद्योगको विकास र संरक्षणमा काम गर्नुपर्छ’ उनले भने ’उद्योग संचालनका लागि पहल गर्छु ।’ उद्योगमा थप आर्थिक लगानी गर्नुपर्ने परिस्थिति रहेकाले सरकारले त्यसतर्फ ध्यान दिन जरुरी रहेको र उद्योगलाई निरन्तरता संचालन हुने वातावरण निर्माण गर्नुपर्नेमा उनले बताए ।
उद्योग नवनियुक्त अध्यक्ष नरेन्द्र भण्डारीकाे निमन्त्रणामा उद्योग निरीक्षण गर्न बर्तौला उद्योग परिसर पुगेका हुन् ।

