मकवानपुर । साहित्य सङ्गम मकवानपुरको ३ सय ३६ औं नियमित साहित्य सन्ध्यामा बालपुस्ताका नवसर्जक ॠत्विक केवी र समर्पण न्यौपानेको संयुक्त कविता सुनिएको छ ।
ॠत्विक र समर्पणले समान ३/३ वटा कविता सुनाएका थिए । ॠत्विकले आमा, समय, र प्रेत आत्मा शिर्षकका कविता सुनाउदा समर्पणले चोमोलुङ्मा,सगरमाथा र एभरेष्ट, टेबलमुनि के छ र इतिहास र मान्छे शिर्षकका कविता सुनाए ।
मकवानपुर जिल्लाकै अग्रणी साहित्यिक संस्थाको नियमित सन्ध्यामा ॠत्विक र समर्पणको कविताका साथै २४ स्रष्टाले रचना सुनाएका थिए । सन्ध्यामा सुनाइएका रचनाको समिक्षा गर्दै मकवानपुरे साहित्यकार सुवास खनालले भने ‘रचनाहरु देश, समय सान्दर्भिक राजनीतिसंग रहेका छन् । बालपुस्ता र नवयुवा पुस्तालाई पनि साहित्यमा स्थान दिनुपर्छ ।’
साहित्य सङ्गम मकवानपुरका अध्यक्ष डिबि बर्तौलाको सभाध्यक्षतामा तथा अग्रज साहित्यकार तुल्सी घिमिरेको प्रमुख आतिथ्यतामा भएको सन्ध्यामा साहित्यकार निमेष निखिल, श्याम कुमार बानियाँ, भावना सापकोटा, छवि सुवेदी, मसान उपासक, सम्प्रस पौडेल, किशन पौडेल, देवराज खरेललगायतको उपस्थिति थियो ।
मकवानपुर । साहित्य सङ्गम चितवनले प्रकाशन गरेको `नौलो राँको´ विशेषाङ्क विहीबार विमोचन गरिएको छ । पत्रकार तथा साहित्यकार द्वारिका नेपालको सम्मानमा संगमले `नौलो राँको´ विशेषाङ्क प्रकाशन गरेको हो ।
साहित्य सङ्गम चितवनका पूर्वअध्यक्ष नेपालको निधन भएपछि संस्थाले उनको सम्झनामा विशेषाङ्क नौलो राँको प्रकाशन गरेको प्रधान सम्पादक शशिकिरण रेग्मीले बताए ।
नेपालका बुवा नीलप्रसाद नेपाल, श्रीमती पार्वती नेपाल, भाइ शालिग्राम नेपाललगायतले नौलो राँको विमोचन गरेका हुन् । बिमोचन कार्यक्रममा एलवी क्षेत्रीले कविता लेख्नु र कविता बुझ्नु फरक विषय भएको बताउदै आफूलाई कवि हो भनेर नभनी कविताको गहिराइमा पुगेर लेख्न सक्ने क्षमता द्वारिकामा भएको बताए ।
समालोचक उदय अधिकारी र रमेश प्रभातले नेपालको सरलता र असहजलाई सहज बनाउने क्षमताले नै उनको व्यक्तित्व उचाइमा पुगेको बताए । उनको लेखनशैली उत्कृष्ट र यथार्थ भएको अधिकारीले बताए ।
कार्यक्रममा साहित्यकार प्रा. होमनाथ सापकोटा, प्रेम रिमाल, धनेश्वर भट्टराई, गणेश श्रमण, बालकृष्ण थपलियाले नेपालको व्यक्तित्वका विषयमा मन्तव्य राखेका थिए । कार्यक्रममा नेपालका बुवा नीलप्रसाद नेपालले समयको महत्वलाई बुझेर काम गर्न आफूले दिएको शिक्षाको पालना छोराले गरेको बताए ।
पत्रकार द्वारिका नेपाल गजल मञ्च चितवन, अक्षर समूह चितवनलगायतका संस्थामा आवद्ध थिए । उनको २०७८ असोज ३१ गते निधन भएको हो ।
सङ्गम चितवनका अध्यक्ष प्रकाश चापागाईँको सभापतित्वमा भएको कार्यक्रममा सङ्गमले प्रकाशित गरेको विशेषाङ्कमा विभिन्न साहित्यकारले नेपालको व्यक्तित्व पक्षहरुलाई समेटेर चर्चा गरिएका सामग्री समेटिएका छन् ।
शरदका किरणहरु
जब जब दैलोमा देखा पर्छन्
अनि त्यति बेला तिम्रा यादहरुले
झनै छपक्कै छोप्न आइपुग्छन्
मङ्गल धुनका ध्वनीहरुले
दशैँ आएको खबर सुनाउँदै हिँड्दा
तब मलाई भन्न मन लाग्छ,
अरे! तिमीहरु कति छिट्टै आएका,
तिमीहरु साँच्चै आउन अल्लि हतारो गर्यौ
मेरी आमा नै आएकी छैनन्, कसरी दशैँ आउँछ !!
म सम्झिन्छु तिमीले हामी दुई भाईलाई
एकै किसिमको लुगा सिलाइदिन्थ्यौ
त्यो पनि अर्को दशैँलाई हुने गरी,
नयाँ लुगा देख्नासाथ हामी कत्ति खुशी हुन्थ्यौँ,
त्यो लामो सर्ट, पाइन्ट माथि लगेर पट्याउथ्यौ
अनि हामी दुई भाई गाउँ भरी
एक चक्कर लगाएर घर आइपुग्थ्यौं
तिमीले हामीलाई घर आइसकेपछि मात्रै चाल पाउथ्यौ
अनि तिम्रो ओठको मुस्कान
अनुहारै भरी पोखिएको देख्थेँ
अहिले आफैं छानि छानि
महङ्गा लुगा लगाउँदा पनि
त्यो खुशी भेट्दिन आमा !
अनि याद छ तिमीलाई !
बिर्सियौ कि सम्झिरहेकी छौ !!
तिमीले दिएको एक रुपैयाँ
लङ्गुर बुर्जामा थापेर चार भएपछि
तिमीलाई देखाउन
पारी गाउँदेखि दौडिंदै घर आइपुग्दा
त्यतिबेला तिम्रो मुहार
खुशीको लाँलीले पोतिएको हुन्थ्यो
अहिले त लाखौं रुपैयाँले पनि
त्यो चार रुपैयाँको जति खुशी पनि दिँदैन आमा !
अनि!
थाहा छ तिमीलाई !
दसैं छुट्टी पाएपछि
स्कुलबाट नाँच्दै नाँच्दै घर आइपुग्दा
घरको पालीमा मेरो पर्खाइमा पिङ्ग हल्लिरहेको हुन्थ्यो
मलाई के थाहा !
हाम्रो सानो सानो खुशीलाई बटुल्न
तिमी कति दु:खको पिङ्गमा हल्लियौ भनेर !
तिमीले मुछेका राता टिका
हाम्रो निधारमा वर्षैभरि मुस्काउने कसम खान्थे,
तिमीले उमारेका ति जौंका पहेँला आकुराले
सुख, शान्ति समृद्धी बोकेर हुर्कन्थ्यो
अनि सधैं हाम्रो शिरमा आशिर्वाद बनेर बसिरहन्थ्यो
हांस्दैनन अचेल टिका निधारमा
न शान्ति खुशी बोकेर ल्याउँछन् जमराहरु
मलाई याद छ ति दिनहरु
जतिबेला तिम्रो साडीको फुर्को समातेर
नौं दिन नै तिमी सङ्ग भवानीको मन्दिर पुग्थेँ,
दुई हात जोडी हाम्रा लागि खै के के माग्थ्यौ
तिमी त्यतिबेला मैले बुझ्न सकेको भए
म पनि त तिम्रो लागि केही माग्ने थिएँ
अनि तिमीलाई यसरी परदेशिनु नै पर्ने थिएन
तिम्रा हातले बनाएका दसैंका परिकारहरु
साँच्चै मिठा हुन्थे,
खै अहिले त दसैंका स्वादहरु नै खल्लो लाग्छन्
अचेल मङ्गल धुनका ध्वनीहरुले शान्ती होइन
मनमा कोलाहल मच्चाए झैं लाग्छ,
चचहुईका आवाजहरुले
मलाई नै जिस्काए झैं लाग्छ,
तिमी नहुदाँ मामाघर पनि विरानो भए झैं लाग्छ
बरु ,जीवनभर दसैं नआए पनि हुन्छ
तर तिमी सधैं आउँनु है आमा !
दसैं त तिमी आएपछि पो आउँदो रहेछ
भरतपुर १ नारायणगढ, दियालो रोड, चितवन