मकवानपुर । साहित्य सङ्गम मकवानपुरको ३ सय ३६ औं नियमित साहित्य सन्ध्यामा बालपुस्ताका नवसर्जक ॠत्विक केवी र समर्पण न्यौपानेको संयुक्त कविता सुनिएको छ ।
ॠत्विक र समर्पणले समान ३/३ वटा कविता सुनाएका थिए । ॠत्विकले आमा, समय, र प्रेत आत्मा शिर्षकका कविता सुनाउदा समर्पणले चोमोलुङ्मा,सगरमाथा र एभरेष्ट, टेबलमुनि के छ र इतिहास र मान्छे शिर्षकका कविता सुनाए ।
मकवानपुर जिल्लाकै अग्रणी साहित्यिक संस्थाको नियमित सन्ध्यामा ॠत्विक र समर्पणको कविताका साथै २४ स्रष्टाले रचना सुनाएका थिए । सन्ध्यामा सुनाइएका रचनाको समिक्षा गर्दै मकवानपुरे साहित्यकार सुवास खनालले भने ‘रचनाहरु देश, समय सान्दर्भिक राजनीतिसंग रहेका छन् । बालपुस्ता र नवयुवा पुस्तालाई पनि साहित्यमा स्थान दिनुपर्छ ।’
साहित्य सङ्गम मकवानपुरका अध्यक्ष डिबि बर्तौलाको सभाध्यक्षतामा तथा अग्रज साहित्यकार तुल्सी घिमिरेको प्रमुख आतिथ्यतामा भएको सन्ध्यामा साहित्यकार निमेष निखिल, श्याम कुमार बानियाँ, भावना सापकोटा, छवि सुवेदी, मसान उपासक, सम्प्रस पौडेल, किशन पौडेल, देवराज खरेललगायतको उपस्थिति थियो ।

