चितवन । भरतपुर महानगर प्रज्ञाप्रतिष्ठानले विभिन्न व्यक्तिहरूलाई सम्मान गरेको छ । आइतबार भरतपुर महानगरपालिकाले एक कार्यक्रमकाे आयाेजना गरी स्रस्टाहरूलाई सम्मान गरेकाे हो ।
प्रज्ञाप्रतिष्ठानले प्रदान गर्ने विभिन्न सम्मान, पुरस्कार तथा निबन्ध र कथा प्रतियोगितामा पुरस्कृत प्रतिभाहरूलाई सम्मान गरिएको हो । प्रज्ञाप्रतिष्ठानका कुलपति एवम् नगर प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी र प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानाले स्रस्टालाई सम्मान गरेका हुन् ।
भरतपुर प्रज्ञा सम्मानबाट प्रकाश थापा “प्रथा”लाई सम्मानित गरिएकाे छ । भरतपुर – ४ चितवन निवासी थापालाई ५० हजार ७८ रुपैयाँसहित सम्मानपत्रद्वारा सम्मानित गरिएकाे हो । त्यसैगरी कृष्णबम मल्ल प्रज्ञा सम्मान प्राडा कर्णबहादुर बानियाँलाई प्रदान गरिएको छ । भरतपुर- १२ चितवन निवासी बानियाँलाई ५० हजार ७८ रुपैयाँकाे उक्त सम्मान प्रदान गरिएकाे हाे ।
त्यसैगरी पुरस्कारतर्फ चित्रवन प्रज्ञा पुरस्कार डीआर पोखरेललाई प्रदान गरिएको छ । ‘संस्कृतिको सोपानमा चितवन´ कृतिका लागि भरतपुर-१० निवासी पोखरललाई ५० हाजार ७८ रुपैया राशीकाे उक्त पुरस्कारबाट सम्मानित गरिएकाे हाे । त्यस्तै वागीश्वरी प्रज्ञा पुरस्कार सिम्रन क्षेत्रीलाई प्रदान गरिएकाे छ । क्षेत्रीको `झुमर´ उपन्यासलागि उक्त पुरस्कार दिइएकाे हाे । भरतपुर-१ नारायणगढ निवासी क्षेत्रीलाई २५ हजार ७८ रुपैया राशीकाे उक्त पुरस्कारबाट सम्मानित गरिएकाे हाे ।
त्यस्तै भरतपुर प्रज्ञा पुरस्कार (काव्य) जगन्नाथ पण्डितको `घरबारीमा तोरी फुल्यो´ कवितासङ्ग्रह लाई प्रदान गरिएकाे छ । उक्त पुरस्कारको राशि २५ हजार ७८ रुपैया र सम्मानपत्र रहेको छ । भरतपुर प्रज्ञा पुरस्कार (आख्यान) अष्टदेव खनालको ‘अन्तश्चेतना´ उपन्यासले प्राप्त गरेकाे छ । उक्त पुरस्कारको राशि २५ हजार ७८ रुपैया र सम्मानपत्र रहेको छ ।
त्यसैगरी राष्ट्रिय खुल्ला कथा प्रतियोगिता २०८० मा पुरस्कृत स्रस्टालाई पनि सम्मान गरिएको छ । प्रतियोगितामा नुवाकोटका अनन्त लम्सालको ‘अन्तिम पथ. शीर्षकको कथा सर्वोकृष्ट भएकाे थियो । लम्साललाई ४० हजार ७८ रुपैयाँकाे उक्त पुरस्कार प्रदान गरिएकाे हाे । लमजुङकी अनिता पन्थीको ‘मृत्युको अपिल’ शीर्षकको कथाले उत्कृष्ट स्थान हासिल गरेको छ । पन्थीलाई ३० हजार ७८ रुपैयाँ राशीकाे उत्कृष्ठ कथा पुरस्कार प्रदान गरिएकाे हाे ।
त्यस्तै रामेछापका समीप खड्काको ‘भाग्यको कुरो’ शीर्षकको कथाले उत्तम स्थान गरेको छ । खड्काकाे कथा उत्तम हुदै २० हजार ७८ रुपैयाँ राशीकाे पुरस्कार प्राप्त गरे । त्यस्तै मोरङकी मन्दिरा मधुश्री (मन्दिरा कोइराला) को ‘पहिचान’ र राधिका कल्पित (राधिका गौतम पौडेल) को ‘अब लजाउँदैन लज्जावती’ शीर्षकका कथाले प्रोत्साहन पुरस्कार स्वरुप जनही १० हजार ७८ रुपैयाँ हात पारे ।
प्रतिष्ठानले ‘मेरो सपनाको भरतपुर’ शीर्षकमा चितवन जिल्ला स्तरीय निबन्ध प्रतियोगिता २०८० आयोजना गरेको थियो । निवन्ध प्रतियोगितामा हरिप्रसाद तिवारी रविको निबन्ध सर्वोकृष्ट घोषित हुदै १० हजार ७८ रुपैया र प्रमाणपत्र प्राप्त गरे । त्यस्तै अनुस्का न्यौपाने को निबन्ध उत्कृष्ट हुदै ८हजार ७८ र प्रमाणपत्र प्राप्त गरिन । त्यस्तै चिरञ्जीवी दाहालको निबन्ध उत्तम घोषित भएको छ । उनले ६ हजार ७८ रुपैया प्राप्त गरे । प्रोत्साहन पुरस्कार प्राप्त गरेका सन्तोष सुवेदी र स्वस्तिक शर्मालाई जनही ४ हजार ७८ प्रदान गरिएकाे छ ।
प्रज्ञा परिषद्का उपकुलपति इन्द्रप्रसाद रेग्मीको अध्यक्षतामा भएकाे कार्यक्रमलाई प्रज्ञाप्रतिष्ठानका सदस्य सचिव बालकृष्ण थपलिया र सदस्य विष्णु तिवारी उषाले सहजीकरण गरेका थिए । कार्यक्रममा गैंडाकोट नगर प्रज्ञाप्रतिष्ठानका उपकुलपति गोविन्दराज विनोदी, पुरस्कृत स्रस्टा प्राडा कर्णबहादुर बानिया, सिम्रन क्षेत्री, भूपिन, केदारनाथ खनाल, नरेन्द्रकुमार राना, चित्रसेन अधिकारीले मन्तव्य राखेका थिए ।
मकवानपुर । मुक्तक मञ्च मकवानपुरले राजबाबु पहाडी र शोभा शाह थापाको संयुक्त मुक्तकवाचन कार्यक्रम गरेको छ । शनिबार मञ्चकाे १५ औं नियमित वाचन श्रृङ्खलामा पहाडी र थापाले मुक्तक सुनाएका थिए ।
कार्यक्रममा मुक्तककारद्वयले ६/६ मुक्तक वाचन गरेका थिए । पहाडी र थापाका मुक्तकमाथि साहित्यकार देवराज तिवारीले समीक्षात्मक टिप्पणी प्रस्तुत गरेका थिए । कार्यक्रममा स्रस्टाहरूलाई मायाको चिनो तथा प्रशंसापत्र प्रदान गरिएको थियो । साथमा तुलसी घिमिरे, पुरूषोत्तम आचार्य, भवानी तिमल्सिना, स्वस्तिका बानियाँलगायतले मुक्तक वाचन गरेका थिए ।
मञ्च अध्यक्ष सागर तिमल्सिनाको अध्यक्षता, सिस्नुपानी मकवानपुरका अध्यक्ष राजकुमार लामिछानेको प्रमुख आतिथ्यता भएकाे कार्यक्रमलाई सचिव सुवास सजलले सहजीकरण गरेका थिए ।
धेरै फरक छ
तिमी
र म
अनि उनीहरुमा
घडि पनि त
कहिले रोकिन्छ
कहिले चल्छ नि
अनि त्यस्तै त हो
तिम्रो र मेरो समय पनि
कहिले भोकभोकै हिंड्नुपर्ने हुन्छ
कहिले दौडादौडमा कुद्नुपर्ने
कहिले तिम्रै सिर्जनामा पनि त
त्यहीँ जुध्नुपर्ने हुन सक्छ नि !
हो त्यही समय थियो
हिजो तिम्रो र मेरो भेटमा
त्यो पहिलो
पुस्तकालयकै ढोकाको गेटमा
थाहा थिएन मलाई
म सँग भेट्न
बोल्न
देख्न
अनि म सँगसँगै हास्न
तिमी आतुर भएको भन्ने !
आज त राम्री मान्छेको
आगमन भएको छ नि
यहाँ
कति धेरै समयमा
अति मायालु पनि
बन्दै गएकि
यति धेरै किन दुब्लो
भएको नि ?
सधै एकनास हुँदैन
कहिलेकाही तिम्रो मौनतामा
गहनता थप्नुपर्ने पनि
हुन सक्छ नि हेर
मलाई देख्दा बित्तिकै
कति उज्यालो है
तिम्रो त्यो अनुहार
साच्चिकै
किन धेरै खुशी थियौ
तिमी भनन
धेरै समयमा
भेट भएर होकि ?
तिमीले मलाई गेटमा
कुरेर बस्दा त झनै
अचम्म परे नि म
कस्तो खालको माया हो तिम्रो
म त कहाँ बिर्सन सक्छु र
सहजै तिमिलाई सक्दैन नि !
सुनन म दुब्लो भएनि
तिम्रो र मेरो माया
नदुब्लाउदै गएत
भयो नि
चाहेकै त्यहीँ हो
कस्तो तिम्रो र मेरो शब्दचयन
एकैपटक हुन गएको हो
है यही त हो स्नेह
हैन
मायाको
उडान
भर्न त लागेको हैन नि कतै
सायद हुन पनि सक्छ
त्यो शब्दकोषमा नभेटिने ।
१.
छोरो दौरा सुरुवाल,छोरी फरिया चोली आहा !
दशैँ टीका जमराले तिहारको रङ्गोली आहा !
मौसमसंगै फेरिई आउने हाम्रा राम्रा पर्वहरु
ऋतुराज वषन्तमा मनाउँ रङ्गिन होली आहा !
२.
रमाइलो पार्न आयो होली पहाड,तराई
एकै जाति नेपाली हौं छैनौैँ कोही पराई
सद्भावना,भाइचारामा मेची काली रम्दै
एकै बोली आयो होली तनमा रङ्ग भराई ।
सुर्योदय, लक्ष्मिपुर, इलाम
मकवानपुर । मकवानपुरकाे अग्रणी साहित्य संस्था साहित्य सङ्गम मकवानपुरले एउटै मञ्चमा ७ जनालाई सम्मान गरेको छ ।
सङ्गमद्वारा स्थापित विभिन्न सम्मान तथा पुरस्कार २०८० सालकाे लागि शनिबार उनिहरु सम्मानित भएका हुन् । सङ्गमको ३ सय ४१ औं साहित्य सन्ध्या तथा सम्मान समर्पण कार्यक्रममा प्रमुख अतिथि साहित्यकार निर्मोही ब्यासलगायतले ७ जना सर्जकलाई सम्मानित गरेका हुन्।
तत्कालीन जिल्ला विकास समिति मकवानपुर र साहित्य सङ्गम मकवानपुरद्वारा स्थापित १५ हजार ५ सय ५५ रुपैयाँ राशिको ‘मकवानपुर साहित्यश्री सम्मान २०८०’ बाट ईन्द्रजित शर्मा चौलागाईं सम्मानित भएका छन् । मकवानपुरे साहित्यकार शर्मा हास्य तथा टेलिश्रृङ्खलामा अभिनयमा समेत सक्रिय छन् । गत वर्ष उक्त सम्मानबाट शम्भु बास्काेटा सम्मानित भएका थिए ।
यसै गरी १५ हजार ५ सय ५५ रुपैया राशिको ‘भेषनाथ अधिकारी स्मृति छन्द सम्मान २०८०’ बाट धनकुटाकी स्रष्टा कल्पना काफ्ले सम्मानित भएकी छिन् । उक्त सम्मान मकवानपुरे साहित्य सर्जक विशाल अधिकारी आशुतोषले स्थापना गरेका हुन् । उक्त सम्मानबाट गत वर्ष सुदेश सत्याल सम्मानित भएका थिए ।
यस्तै १० हजार राशिको ‘विनोद-सुनिता सुवेदी साहित्य सम्मान २०८०’ बाट ललितपुरका स्रष्टा श्रीराम पाण्डे सम्मानित भए । उक्त सम्मान बालजागृति इङ्लिस सेकेण्डरी बोर्डिङ स्कुल हेटाैडाका प्रिन्सिपल विनोद सुवेदी तथा शिक्षक सुनिता सुवेदीले स्थापना गरेका हुन् । ‘सुभद्रादेवी-मदन मुडवरी स्मृति सम्मान २०८०’ बाट मकवानपुरका साहित्यकार विश्वनाथ सञ्जेल सम्मानित भएका छन् । १० हजार रुपैया राशिको उक्त सम्मान हेटौंडाका (हाल अमेरिका निवासी) दीपक मुडवरीले स्थापना गरेका हुन् । उक्त सम्मानबाट गत वर्ष पूर्णकला घिमिरे सम्मानित भएकी थिइन् ।
यसैगरी हेटौंडाका शिक्षासेवी देवप्रसाद श्रेष्ठले स्थापना गरेकाे १० हजार रुपैया राशिको ‘मङ्गलादेवी श्रेष्ठ नारी स्मृति सम्मान २०८०’ बाट मकवानपुरकी साहित्यकार भावना सापकोटा सम्मानित भएकी छिन् । सापकाेटा आँचल साहित्य कला पुञ्ज मकवानपुरकी अध्यक्ष हुन् । उक्त सम्मानबाट गत वर्ष साहित्यकार विना थिङ्ग सम्मानित भएकी थिइन् । यस्तै १० हजार राशिको ‘मुक्ति-तारा सम्मान २०८०’ बाट मकवानपुरे स्रष्टा सानुभाइ विश्वकर्मा सम्मानित भए । उक्त सम्मान हेटौंडाका साहित्यसेवी मुक्तिगोविन्द वैद्य र तारादेवी वैद्यले स्थापना गरेका हुन् । गत वर्ष उक्त सम्मानबाट साहित्यकार एसके निधन सम्मानित भएका थिए ।
हेटौंडाका साहित्यिक स्रष्टा, अधिवक्ता ऋषि केबी र शिक्षक पूण्यशिला श्रेष्ठले स्थापना गरेकाे १० हजार राशिको ‘रामहरि-देवु सम्मान २०८०’ बाट मकवानपुरका साहित्यकार किशन पौडेल सम्मानित भएका छन् । पौडेल लघुकथा चौतारी मकवानपुरका अध्यक्ष हुन् । गत वर्ष उक्त सम्मानबाट लेखक संघ मकवानपुरका अध्यक्ष छवि अनित्य सम्मानित भएका थिए ।
सङ्गम अध्यक्ष डीबी बर्तौलाकाे सभाध्यक्षता तथा साहित्यकार निर्मोही ब्यासकाे प्रमुख आथिथ्यतामा भएकाे कार्यक्रममा सम्मानित सातै जना स्रष्ट्राले मन्तव्यसहित आआफ्नाे रचना वाचन गरेका थिए । कार्यक्रमकाे सहजीकरण सङ्गम सचिव मनोज पोखरेलले गरेका थिए ।
२५ हजार राशिको निबन्ध पुरस्कार प्रदान गरिने
साहित्य सङ्गम मकवानपुरका संस्थापक केशव श्रेष्ठ ‘ज्योति’ द्वारा स्थापित साहित्य सङ्गम मकवानपुर कृति सम्मान २०७९ संस्थाको कार्यविधिअनुरुप प्रदान गरिने भएकाे छ । २५ हजार १ रुपैयाँ राशिको सो सम्मानकाेलागि सर्वोत्कृष्ट कृति छनौटकाे दर्ता आह्वान गरिएको संगम अध्यक्ष डीबी बर्तौलाले बताए ।
उक्त सम्मानकाे लागि २०७९ बैशाखदेखि चैत्र मसान्तसम्म प्रकाशन भएको निबन्ध विधाका मौलिक सङ्ग्रह पुरस्कार छनौट समितिलाई उपलब्ध गराउनु पर्ने तथा कृति अन्य कुनै पनि राष्ट्रिय पुरस्कारका लागि छनोट नभएको हुनुपर्ने बर्तौलाले जानकारी दिए । आगमी चैत्र २० गतेभित्र पुस्तक, श्रष्टाको नाम, ठेगाना, सम्पर्क नम्बर, प्रकाशित मिति समेत उल्लेख गरी छनोट समितिसमक्ष उपलब्ध गराउनु पर्ने उनले बताए ।