चितवन । भरतपुर महानगर प्रज्ञाप्रतिष्ठानले विभिन्न व्यक्तिहरूलाई सम्मान गरेको छ । आइतबार भरतपुर महानगरपालिकाले एक कार्यक्रमकाे आयाेजना गरी स्रस्टाहरूलाई सम्मान गरेकाे हो ।
प्रज्ञाप्रतिष्ठानले प्रदान गर्ने विभिन्न सम्मान, पुरस्कार तथा निबन्ध र कथा प्रतियोगितामा पुरस्कृत प्रतिभाहरूलाई सम्मान गरिएको हो । प्रज्ञाप्रतिष्ठानका कुलपति एवम् नगर प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी र प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानाले स्रस्टालाई सम्मान गरेका हुन् ।
भरतपुर प्रज्ञा सम्मानबाट प्रकाश थापा “प्रथा”लाई सम्मानित गरिएकाे छ । भरतपुर – ४ चितवन निवासी थापालाई ५० हजार ७८ रुपैयाँसहित सम्मानपत्रद्वारा सम्मानित गरिएकाे हो । त्यसैगरी कृष्णबम मल्ल प्रज्ञा सम्मान प्राडा कर्णबहादुर बानियाँलाई प्रदान गरिएको छ । भरतपुर- १२ चितवन निवासी बानियाँलाई ५० हजार ७८ रुपैयाँकाे उक्त सम्मान प्रदान गरिएकाे हाे ।
त्यसैगरी पुरस्कारतर्फ चित्रवन प्रज्ञा पुरस्कार डीआर पोखरेललाई प्रदान गरिएको छ । ‘संस्कृतिको सोपानमा चितवन´ कृतिका लागि भरतपुर-१० निवासी पोखरललाई ५० हाजार ७८ रुपैया राशीकाे उक्त पुरस्कारबाट सम्मानित गरिएकाे हाे । त्यस्तै वागीश्वरी प्रज्ञा पुरस्कार सिम्रन क्षेत्रीलाई प्रदान गरिएकाे छ । क्षेत्रीको `झुमर´ उपन्यासलागि उक्त पुरस्कार दिइएकाे हाे । भरतपुर-१ नारायणगढ निवासी क्षेत्रीलाई २५ हजार ७८ रुपैया राशीकाे उक्त पुरस्कारबाट सम्मानित गरिएकाे हाे ।
त्यस्तै भरतपुर प्रज्ञा पुरस्कार (काव्य) जगन्नाथ पण्डितको `घरबारीमा तोरी फुल्यो´ कवितासङ्ग्रह लाई प्रदान गरिएकाे छ । उक्त पुरस्कारको राशि २५ हजार ७८ रुपैया र सम्मानपत्र रहेको छ । भरतपुर प्रज्ञा पुरस्कार (आख्यान) अष्टदेव खनालको ‘अन्तश्चेतना´ उपन्यासले प्राप्त गरेकाे छ । उक्त पुरस्कारको राशि २५ हजार ७८ रुपैया र सम्मानपत्र रहेको छ ।
त्यसैगरी राष्ट्रिय खुल्ला कथा प्रतियोगिता २०८० मा पुरस्कृत स्रस्टालाई पनि सम्मान गरिएको छ । प्रतियोगितामा नुवाकोटका अनन्त लम्सालको ‘अन्तिम पथ. शीर्षकको कथा सर्वोकृष्ट भएकाे थियो । लम्साललाई ४० हजार ७८ रुपैयाँकाे उक्त पुरस्कार प्रदान गरिएकाे हाे । लमजुङकी अनिता पन्थीको ‘मृत्युको अपिल’ शीर्षकको कथाले उत्कृष्ट स्थान हासिल गरेको छ । पन्थीलाई ३० हजार ७८ रुपैयाँ राशीकाे उत्कृष्ठ कथा पुरस्कार प्रदान गरिएकाे हाे ।
त्यस्तै रामेछापका समीप खड्काको ‘भाग्यको कुरो’ शीर्षकको कथाले उत्तम स्थान गरेको छ । खड्काकाे कथा उत्तम हुदै २० हजार ७८ रुपैयाँ राशीकाे पुरस्कार प्राप्त गरे । त्यस्तै मोरङकी मन्दिरा मधुश्री (मन्दिरा कोइराला) को ‘पहिचान’ र राधिका कल्पित (राधिका गौतम पौडेल) को ‘अब लजाउँदैन लज्जावती’ शीर्षकका कथाले प्रोत्साहन पुरस्कार स्वरुप जनही १० हजार ७८ रुपैयाँ हात पारे ।
प्रतिष्ठानले ‘मेरो सपनाको भरतपुर’ शीर्षकमा चितवन जिल्ला स्तरीय निबन्ध प्रतियोगिता २०८० आयोजना गरेको थियो । निवन्ध प्रतियोगितामा हरिप्रसाद तिवारी रविको निबन्ध सर्वोकृष्ट घोषित हुदै १० हजार ७८ रुपैया र प्रमाणपत्र प्राप्त गरे । त्यस्तै अनुस्का न्यौपाने को निबन्ध उत्कृष्ट हुदै ८हजार ७८ र प्रमाणपत्र प्राप्त गरिन । त्यस्तै चिरञ्जीवी दाहालको निबन्ध उत्तम घोषित भएको छ । उनले ६ हजार ७८ रुपैया प्राप्त गरे । प्रोत्साहन पुरस्कार प्राप्त गरेका सन्तोष सुवेदी र स्वस्तिक शर्मालाई जनही ४ हजार ७८ प्रदान गरिएकाे छ ।
प्रज्ञा परिषद्का उपकुलपति इन्द्रप्रसाद रेग्मीको अध्यक्षतामा भएकाे कार्यक्रमलाई प्रज्ञाप्रतिष्ठानका सदस्य सचिव बालकृष्ण थपलिया र सदस्य विष्णु तिवारी उषाले सहजीकरण गरेका थिए । कार्यक्रममा गैंडाकोट नगर प्रज्ञाप्रतिष्ठानका उपकुलपति गोविन्दराज विनोदी, पुरस्कृत स्रस्टा प्राडा कर्णबहादुर बानिया, सिम्रन क्षेत्री, भूपिन, केदारनाथ खनाल, नरेन्द्रकुमार राना, चित्रसेन अधिकारीले मन्तव्य राखेका थिए ।

