मकवानपुर । रमेशमोहन अधिकारीको नियात्रा संग्रह ‘संयात्राको संयोग’ सार्वजनिक भएको छ । शनिबार हेटौंडामा अधिकारीको नियात्रा सङ्ग्रह सार्वजनिक भएको हो ।
झरना साहित्यिक परिवारको ३०६ औं साहित्य श्रृङ्खलामा अधिकारीकाे कृति विमोचन गरिएकाे हाे । अधिकारीको नियात्रा सङ्ग्रहमाथि साहित्यकार दीपक गौतम र रजनी पौडेलले समीक्षा गरेका थिए ।
अधिकारीको यो पाँचौं कृति हो । यसअघि अधिकारीका तीन वटा नियात्रा सङ्ग्रह र एउटा कविता सङ्ग्रह प्रकाशित छन् । अधिकारीको कृति ‘संयात्राको संयोग’ मा २८ वटा शीर्षकमा संस्मरण समावेश छन् । बुलबुल पब्लिकेसनले प्रकाशन गरेको नियात्रा सङ्ग्रहलाई पाँच खण्डमा प्रस्तुत गरिएकाे अधिकारीले बताए ।
झरना साहित्यिक परिवारका अध्यक्ष विश्वनाथ सञ्जालको अध्यक्षता तथा साहित्यकार रामचन्द्र आचार्य ‘फुर्सदी’ को प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।
१.
माली गाईको बाक्लो दूधले बाल्टी बिट छुन्छ आज
चुल्ठे चामल दुधमा पाकी कराही भरि हुन्छ आज
नरिवल, किसमिस, काजु, घ्यू चिनी हाली पकाएको,
साउन पन्ध्र खिरले सबको मैलो मन धुन्छ आज।
२.
मागिखाने अल्छिलाई स्वार्थ लुट्ने दाता प्यारो
ओतदिने छानो भन्दा त्यो अर्कैको छाता प्यारो
आफ्नो भन्दा अरुको नै विश्वास लाग्न थालेपछि
कुरै कुरामा मोहित पार्ने पराइको नाता प्यारो।
३.
नजरको तिर लाउँदै थिएँ घायल भइदियौ
रस रङ्गका कुरा सुनाउँदा कायल भइदियौ
गीत गाउँदै इसाराले जब नयन बोल्न थाले,
तिमी छमछम नाचिदिने पायल भइदियौ।
सुर्योदय-१३, लक्ष्मिपुर, इलाम
मकवानपुर । मकवानपुरको हेटौंडामा शनिबार साहित्यकारद्वय अप्सरा तिम्सिना र दीपक मुडवरी ‘मित्र’ स्मृतिविशेष रचना वाचन कार्यक्रम भएकाे छ । साहित्य संगम मकवानपुरकाे ३४५ औं साहित्य सन्ध्यामा स्रष्टाद्वयका रचना वाचन गर्दै सम्झना गरिएकाे हाे ।
आँचल साहित्य कला पुञ्ज तथा सङ्गम मकवानपुरको संयुक्त आयोजनामा कार्यक्रम भएकाे हाे । तिम्सिना साहित्य सङ्गम मकवानपुरकाे पूर्व उपाध्यक्ष एवम् आँचल साहित्य कला पुञ्ज मकवानपुरकाे पूर्व अध्यक्ष भएकाले संयुक्त आयाेजनामा कार्यक्रम गरिएकाे संगम अध्यक्ष डीबी बर्तौलाले जानकारी दिए ।
तिम्सिनाका सम्बन्धमा मुना अर्यालले तथा मुडबरीका बारेमा निमेष निखिलले परिचर्चा गरेका थिए । तिम्सिना र मुडवरी स्मृतिविशेष रचना वाचनमा साहित्य स्रष्टा पुरुषोत्तम आचार्य, किसन पौडेल, सविता तिमल्सिना, देवराज तिवारी, विष्णुप्रसाद दाहाल, सुवास सजल, सानुभाई विश्वकर्मालगायतले रचना वाचन गरेका थिए ।
संगम अध्यक्ष डीबी बर्तौलाकाे सभाध्यक्षता तथा शिक्षाविद् देव प्रसाद श्रेष्ठकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा संगम सल्लाहकार निमेष निखिल, महाकाव्यकार मुना धिताल अर्याल, नेपाल प्रज्ञा प्रतिष्ठान, काव्य विभाग सदस्य शान्ति प्रियवन्दनालगायतकाे आतिथ्यता रहेकाे थियाे ।
आँचल साहित्य कला पुञ्ज, मकवानपुर अध्यंक्ष भावना सापकाेटाले स्वागत गरेकाे कार्यक्रमलाई संगम सचिव मनोज पोखरेलले सहजिकरण गरेका थिए ।
अप्सरा तिम्सिना, साहित्य र मकवानपुर
तिम्सिनाका ‘अभ्यन्तर’ कथा सङ्ग्रह र ‘किनाराका आवाजहरू’ कविता सङ्ग्रह प्रकाशित छन् । वि.सं. २०६९ सालमा स्थापना भएको आँचलको नेतृत्वमा रहेर उनले मकवानपुरको साहित्यिक इतिहासमा उल्लेख्य योगदान दिइन् ।
महिला लेखकहरूलाई संगठित गर्ने र राष्ट्रियस्तरका लेखकहरूसँग समन्वय, सहकार्य र निरन्तर सम्पर्कमा रहने अभ्यासलाई जोड दिएकी थिइन् । निवर्तमान अध्यक्ष अनिता न्यौपाने तिम्सिनाले संस्थालाई केवल संस्थाभन्दा आफ्नो घरका रूपमा माया गर्ने र सदस्यहरूलाई सोहीअनुसारको मायाप्रेमले संगठित गर्दै लेखनमा हौसला दिने गरेको सम्झनछिन् । उनकाे संस्थाकाे अध्यक्ष रहेकै अवस्थामा निधन भएकाे हाे ।
मुडवरी मकवानपुर र साहित्य
“अठोट” त्रैमासिक पत्रिका हेटौंडाबाट प्रकाशित गरेका मुडवरीले नेपालकै स्थापित तथा नव साहित्यसर्जकहरूका रचनाहरू प्रकाशन गराएका थिए । अमेरिकामा रहँदा “केही अस्पष्ट रेखाहरु” (२०७४) मा प्रकाशन गराएका मुडवरीको दोस्रो कविता सङ्ग्रह “केही अतृप्त स्पर्शहरू” प्रकाशनको तयारीमा हुँदाहुँदै केही समय अघि निधन भएकाे हो ।
उनले आफ्ना दिवङ्गत मातापिताको नाममा साहित्य सङ्गम मकवानपुरले व्यवस्थापन गर्नेगरी “सुभद्रादेवी–मदन मुडभरी स्मृति काव्य पुरस्कार” स्थापना गरेका छन् ।
मकवानपुर । ‘गल्ली संसार’ निबन्ध सङ्ग्रहका कृतिकार रोशन शेरचनसँग हेटौंडामा परिसंवाद हुने भएको छ । ‘उत्तमशान्ति पुरस्कार २०८०’ प्राप्त कृति गल्ली संसारका लेखक शेरचनका साथमा कवि भूपिन परिसंवादमा रहने छन् ।
शुक्रबारको साहित्य सङ्गम मकवानपुरको आयोजनामा हुने उक्त कार्यक्रममा वक्ताका रूपमा नेपाल प्रज्ञा प्रतिष्ठान काव्य विभाग सदस्य शान्ति प्रियवन्दना रहने सङ्गम सचिव मनोज पोखरेलले जानकारी दिए । कार्यक्रममा भूपिन र शेरचनबिच लेखनका साथसाथै समग्र निबन्ध लेखनको प्रवृत्ति तथा ‘गल्ली संसार’ को सेरोफेरोमा रहेर बहस सञ्चालन हुनेछ ।
‘गल्ली संसार’मा ४८ वटा निबन्ध समेटिएको छ । निबन्धहरूलाई ४ भागमा विभाजन गरी ‘वैचारिकी’ अन्तर्गत १४ वटा, ‘पर्यावरण’ अन्तर्गत ८ वटा, ‘स्मृति–सन्झ्याल’ अन्तर्गत १२ वटा र ‘यात्रा र यात्राहरू; अन्तर्गत १४ वटा निबन्धहरू समेटिएका छन् । पुस्तक पद्मश्री पुरस्कार २०८० का लागि उत्कृष्ट १५ भित्र परेको छ ।
शब्दहरूको देश (कविता सङ्ग्रह, वि.सं. २०५३), सरुभक्तहरू (लामो कविता सङ्ग्रह, वि.सं. २०५६), धोबीघाट एक्सप्रेस (निबन्ध सङ्ग्रह, वि.सं. २०७०), मस्तिष्कहरूको मृत्यु (निबन्ध सङ्ग्रह, वि.सं. २०५८), चम्पारन ब्लुज (निबन्ध सङ्ग्रह, वि.सं. २०६८) जस्ता शक्तिशाली पुस्तकहरूको रचना गरी नेपाली साहित्याकाशमा लगानी गरेका शेरचनले वातावरणीय विज्ञानमा विद्यावारिधि गरेका छन् ।
काठमाडौ । खेमनाथ दाहालको कृति ‘सिर्जनामा दृष्टि’को लोकार्पण गरिएको छ। काठमाडौंमा शनिबार साहित्यिक पत्रकार संघको आयोजनामा भएको कार्यक्रममा स्रष्टा दाहलको उक्त कृति लोकार्पण गरिएको हो ।
संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा भएको कार्यक्रममा इतिहासविद् प्राडा सुरेन्द्र केसी, कृति सर्जक खेमनाथ दाहाल, कलाकार मदनदास श्रेष्ठ, पत्रकार पुरुषोत्तम दाहाल, सामालोचक प्राडा कृष्णप्रसाद दाहाल, समीक्षक डा.यज्ञश्वर निरौला, गीतकार सोभित उप्रेती, डा.गोविन्दमान सिंह कार्की, उषा दाहाललगायतले उक्त कृतिको लोकार्पण गरेका हुन् ।
विभिन्न साहित्यकार र विद्वानहरूले दाहालको लेखन शैली र योगदानको प्रशंसा गरे। कृतिको समीक्षा गर्दै यज्ञश्वर निरौलाले दाहालको साहित्य क्षेत्रमा नयाँ परिचय स्थापित गरेको बताए। यस्तै, समालोचक कृष्णप्रसाद दाहालले ‘स्रष्टा दाहालले नियात्रा, उपन्यास र कवितामा आफूलाई प्रस्तुत गर्दै आएको बताए । ‘सिर्जनामा दृष्टि’मा स्रष्टा दाहालले भूमिका लेखनमा कृतिलाई न्याय गरेको आफूले पाएको उनले बताए ।
समालोचक प्रमोद प्रधानले दाहालको व्यक्तित्व र कृतित्वका बारेमा आफू परिचित रहेको बताउँदै उहाँको नियात्रा ‘यात्राको सिकर्नीमा’मा आफूले समीक्षा लेखेको सम्झना गर्दै उहाँ सधैं सक्रिय तर चर्चामा आउन नचाहने साहित्यकार रहेको आफूले पाएको बताए । ‘उहाँको साहित्यमा जीवन र दर्शनका साथै हाम्रो परिवेश पाइन्छ । उहाँ सक्रिय रूपमा साहित्य साधानमा तल्लिन हुनुहुन्छ र चर्चाबाट टाढा रहन मन पराउनुहुन्छ’ प्रधानले भने ।
पुरुषोत्तम दाहालले स्रष्टा दाहालसँग आफू सानोछदादेखि नै परिचित भएको बताउदै नेपाली साहित्यको श्रीवृद्धिमा सिक्किम, दार्जिलिङको ठूलो योगदान रहँदै आएको भनाई राखे । कृति ‘सिर्जनामा दृष्टि’मा रहेका भूमिकामध्ये केही आफूले अध्ययन गरेको बताउँदै स्रष्टा दाहालको लेखनमा वेजोडको कलात्मकता रहेको बताए । कलाकार मदनदाश श्रेष्ठले भाषा, साहित्य कला र संस्कृतिले हामीलाई जीवन्त बनाइ राख्ने बताउँदै यसको संरक्षण, सम्बद्र्धनमा सबैले आ–आफ्नो स्थानबाट भूमिका निभाउनुपर्ने धारणा राखे ।
सुरेन्द्र केसीले समसामयिक देशको परिस्थितिको चर्चा गर्दै देशमा देखिएका तमाम विकृतिलाई पनि सर्जकहरूले उजागर गर्नुपर्ने धारणा व्यक्त गरे । ‘देशको राजनीतिक परिस्थिति राम्रो हुँदामात्र सबैतिर राम्रो हुन्छ, कठिन परिस्थितिमा पनि सर्जकहरू निरन्तर आफ्ना सधानामा तल्लिन रहेका छन् तर राज्यनिरीह छ । हामी सबैले आ–आफ्नो कर्त्व्य पूरा गर्नुपर्छ’ उनले भने ।
साहित्यकार लेकालीले स्रष्टा सर्जकले आफ्नोे सिर्जनमा मौलिकतालाई प्राथकितमा राख्नुपर्ने बताए । पछिल्लो समयमा भएका साहित्यिक गतिविधि, सम्मान र पुरस्कारको चर्चा गर्दै साहित्यिक पत्रकार संघले त्यसको समन्वय गर्दै अघि बढिरहेको उनले जानकारी दिए ।
उक्त कार्यक्रममा सर्जक दाहललाई सम्मान गरिएको थियो । दाहालले आफ्नो मूल विधा काव्य रहेको स्वीकार गर्दै नयाँ उपन्यासको तयारीमा रहेको जानकारी दिए।
३५६ पेजको ‘सिर्जनमा दृष्टि’मा पुण्यप्रसाद शर्मा (सिक्किम)को ‘विश्वका सर्वश्रेष्ठ कविताहरू’, लेखनाथ पोखरेलका ‘फकलीको गाउँ’, मार्वल हाउसकी शालिनी र चिबे नकटो’, विमला ढुंगना निरौला (अमेरिका)को ‘यात्रामा देश’, वसन्त श्रेष्ठ (अमेरिका)को ‘अंगालो भरिको अनुभूति’, डा.डीआर उपाध्यायको ‘कसुर’, मिलन शाह शंकरको ‘कर्ना’, जनक रावलको ‘खाटा बसेको घाउ’, मायादेवी गुरुङ (बेलायत)को ‘ऐना’, अनुशाह (अमेरिकाको) ‘अनुराग’, गोपाल भण्डारी (अमेरिका)को ‘गोपाल भण्डारीका छन्द कविताहरू’, गीता अधिकारीको ‘मैले पढेका ५१ पुस्तक’, लक्ष्मी श्रेष्ठ ‘सगरमाथाको आर्तनाद’, ईश्वरीप्रसाद भुसालको ‘अर्पण’ र राजु सिटौला (अमेरिका)को ‘जीवन मृत्यु’जस्ता १६ कृतिका भूमिका समावेश छन् । कृतिको सम्पादन रमेश दाहालले गरेका छन।
दाहालका कवितासंग्रह ‘श्रद्धाञ्जलि’, खण्डकाव्य ‘रश्मी’, काव्य ‘योद्धा’, कवितासंग्रह ‘हावर्डको चौतारीमा’, महाकाव्य ‘स्वेतपत्र’, कवितासंग्रह ‘म त बन्दी भएको छु’, नियात्रा ‘यात्राको सिकिर्नी’, उपन्यास ‘अहोरात्र’ लगायका कृति प्रकाशित छन् । उनको मिलाप, जनमत, बगरजस्ता पत्रिकामा कभर स्टोरी प्रकाशित हुनुका साथै ‘नव छायाँवादको छवि’, ‘खेमनाथ दाहाल : सिर्जना र मूल्यांकन’, ‘समालोचना वृतमा खेमनाथ दाहाल’ जस्ता कृति प्रकाशित छन् ।
गीतकार गणेश सुवेदीले सहजीकरण गरेको कार्यक्रममा साहित्यकार, पत्रकार,विभिन्न क्षेत्रका व्यक्तिहरुको उपस्थिति थियो। उक्त कृति जनपक्ष प्रकाशन सिक्किमले प्रकाशन गरेको हो ।