मकवानपुर । मकवानपुरको हेटौंडामा शनिबार साहित्यकारद्वय अप्सरा तिम्सिना र दीपक मुडवरी ‘मित्र’ स्मृतिविशेष रचना वाचन कार्यक्रम भएकाे छ । साहित्य संगम मकवानपुरकाे ३४५ औं साहित्य सन्ध्यामा स्रष्टाद्वयका रचना वाचन गर्दै सम्झना गरिएकाे हाे ।
आँचल साहित्य कला पुञ्ज तथा सङ्गम मकवानपुरको संयुक्त आयोजनामा कार्यक्रम भएकाे हाे । तिम्सिना साहित्य सङ्गम मकवानपुरकाे पूर्व उपाध्यक्ष एवम् आँचल साहित्य कला पुञ्ज मकवानपुरकाे पूर्व अध्यक्ष भएकाले संयुक्त आयाेजनामा कार्यक्रम गरिएकाे संगम अध्यक्ष डीबी बर्तौलाले जानकारी दिए ।
तिम्सिनाका सम्बन्धमा मुना अर्यालले तथा मुडबरीका बारेमा निमेष निखिलले परिचर्चा गरेका थिए । तिम्सिना र मुडवरी स्मृतिविशेष रचना वाचनमा साहित्य स्रष्टा पुरुषोत्तम आचार्य, किसन पौडेल, सविता तिमल्सिना, देवराज तिवारी, विष्णुप्रसाद दाहाल, सुवास सजल, सानुभाई विश्वकर्मालगायतले रचना वाचन गरेका थिए ।
संगम अध्यक्ष डीबी बर्तौलाकाे सभाध्यक्षता तथा शिक्षाविद् देव प्रसाद श्रेष्ठकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा संगम सल्लाहकार निमेष निखिल, महाकाव्यकार मुना धिताल अर्याल, नेपाल प्रज्ञा प्रतिष्ठान, काव्य विभाग सदस्य शान्ति प्रियवन्दनालगायतकाे आतिथ्यता रहेकाे थियाे ।
आँचल साहित्य कला पुञ्ज, मकवानपुर अध्यंक्ष भावना सापकाेटाले स्वागत गरेकाे कार्यक्रमलाई संगम सचिव मनोज पोखरेलले सहजिकरण गरेका थिए ।
अप्सरा तिम्सिना, साहित्य र मकवानपुर
तिम्सिनाका ‘अभ्यन्तर’ कथा सङ्ग्रह र ‘किनाराका आवाजहरू’ कविता सङ्ग्रह प्रकाशित छन् । वि.सं. २०६९ सालमा स्थापना भएको आँचलको नेतृत्वमा रहेर उनले मकवानपुरको साहित्यिक इतिहासमा उल्लेख्य योगदान दिइन् ।
महिला लेखकहरूलाई संगठित गर्ने र राष्ट्रियस्तरका लेखकहरूसँग समन्वय, सहकार्य र निरन्तर सम्पर्कमा रहने अभ्यासलाई जोड दिएकी थिइन् । निवर्तमान अध्यक्ष अनिता न्यौपाने तिम्सिनाले संस्थालाई केवल संस्थाभन्दा आफ्नो घरका रूपमा माया गर्ने र सदस्यहरूलाई सोहीअनुसारको मायाप्रेमले संगठित गर्दै लेखनमा हौसला दिने गरेको सम्झनछिन् । उनकाे संस्थाकाे अध्यक्ष रहेकै अवस्थामा निधन भएकाे हाे ।
मुडवरी मकवानपुर र साहित्य
“अठोट” त्रैमासिक पत्रिका हेटौंडाबाट प्रकाशित गरेका मुडवरीले नेपालकै स्थापित तथा नव साहित्यसर्जकहरूका रचनाहरू प्रकाशन गराएका थिए । अमेरिकामा रहँदा “केही अस्पष्ट रेखाहरु” (२०७४) मा प्रकाशन गराएका मुडवरीको दोस्रो कविता सङ्ग्रह “केही अतृप्त स्पर्शहरू” प्रकाशनको तयारीमा हुँदाहुँदै केही समय अघि निधन भएकाे हो ।
उनले आफ्ना दिवङ्गत मातापिताको नाममा साहित्य सङ्गम मकवानपुरले व्यवस्थापन गर्नेगरी “सुभद्रादेवी–मदन मुडभरी स्मृति काव्य पुरस्कार” स्थापना गरेका छन् ।

