मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ लाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएकाे छ । शनिबार हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाले वडालाई बालमैत्री शासनयुक्त वडा घोषणा गरेकी हुन् ।
हेटौडा–२ नगरको दोस्रो बालमैत्री वडा घोषणा भएको छ । हेटौंडा २ का वडा अध्यक्ष विष्णु गोपाल महर्जनले २०७९ साल मंसिरदेखि सुरु भएको बालमैत्री घोषणा अभियानदेखि हालसम्मका प्रगति विवरण प्रस्तुत गरेका थिए । महर्जनका अनुसार वडाले ५१ सूचक पुरा गरेकाेले वडालाई बालमैत्री शासनयुक्त घोषणा गरिएकाे बताए । वडाले बालबालिकाको क्षेत्रमा काम गर्न पञ्चवर्षीय लगानी योजना तथा रणनीतिक योजना तयारी गरी दिगोपनकाे लागि काम गर्ने उनले बताए ।
‘अब वडाले पूरा गरेको सूचकहरुको दिगोपनाका लागि सरकार, जनप्रतिनिधि, अभिभावक र टोल विकास संस्थाहरु लगायतकाकाे उत्तिकै महत्वपूर्ण भूमिका रहने छ’ उनले भने । बालमैत्री स्थानीय शासनकाे लागि तोकिएकाे सूचकमध्ये ४५ वटा सूचक सतप्रतिशत, ३ वटा ९६ प्रतिशत १ वटा ९५ प्रतिशत र १ वटा ९० प्रतिशत पूरा भएकाेले घोषणा गरिएकाे हाे ।
बालमैत्री घोषणा कार्यक्रममा वडा अध्यक्ष महर्जनले वडामा १८ वर्षमुनिका १ हजार ८ सय ११ बालबालिका रहेकाेमा ९ सय ४४ जना अर्थात ५२.१३ प्रतिशत बालक र ८सय ६७ जना अर्थात ४७.८७ प्रतिशत बालिका रहेकाे जानकारी दिए । बालबालिकाको सक्रिय सहभागिताका लागि १९ वटा बालसमूह र १ वटा वडा बालसञ्जाल गठन गरि बालमैत्रीकाे लागि तयारी गरिएकाे थियाे । वडाका बाल सञ्जालमा ४ सय ६० बालबालिका आबद्ध रहेका छन् । विभिन्न संरचनागत समितिमा थप २५ जनासहित कुल ४ सय ८५ बालबालिकाको प्रत्यक्ष सहभागिता रहेककाे छ ।
वडामा १ सामुदायिक र २ संस्थागत गरी ३ विद्यालय र २ वटा बालविकास केन्द्र सञ्चालनमा छन् भने ३ वटै विद्यालय बालमैत्री स्थानीय शासन युक्त घोषणा भइ सकेकाे छ ।
हेटौंडा उपमहानगरपालिकाले २०८० को मंसिरसम्ममा नगरलाई नै बालमैत्री घोषणा गर्ने तयारी गरेपनि २ नम्बर समेत हालसम्म दुई वटा वडा मात्रै बालमैत्री घोषणा भएको छ । यसअघि वडा नम्बर ८ बालमैत्री शासनयुक्त वडा घोषणा भइसकेको छ । बालमैत्री वडा घोषणाकाे लागि र्याली समेत निकालिएको थियो । र्याली २ नम्बर वडाका विभिन्न स्थानकाे परिक्रमा गर्दै कार्यक्रम स्थल पुगेकाे थियाे ।
घोषणा कार्यक्रममा वडा, सिविन बालहेल्पलाइन, सिद्धार्थ माध्यमिक विद्यालय, बाल जागृति बाेर्डिङ स्कुल र ज्ञानोदय बालबाटिका एकेडेमीले बालमैत्री शासनकाे हालसम्मकाे क्रियाकलापहरु तथा अन्य गतिविधि समेटिएकाे प्रदर्शनी समेत गरिएकाे थियाे ।
कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका सदस्य तारा ढुङ्गाना, नगरपालिकाका उपप्रमुख राजेश बानियाँ, प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतम र जिल्ला समन्वय अधिकारी शान्ति विश्वकर्मा, वडा अध्यक्षहरु, महिला बालबालिका तथा समावेशीकरण महाशाखा प्रमुख विष्णु कुमारी लामिछाने लगायतको आतिथ्य रहेको थियो ।

