१.
माली गाईको बाक्लो दूधले बाल्टी बिट छुन्छ आज
चुल्ठे चामल दुधमा पाकी कराही भरि हुन्छ आज
नरिवल, किसमिस, काजु, घ्यू चिनी हाली पकाएको,
साउन पन्ध्र खिरले सबको मैलो मन धुन्छ आज।
२.
मागिखाने अल्छिलाई स्वार्थ लुट्ने दाता प्यारो
ओतदिने छानो भन्दा त्यो अर्कैको छाता प्यारो
आफ्नो भन्दा अरुको नै विश्वास लाग्न थालेपछि
कुरै कुरामा मोहित पार्ने पराइको नाता प्यारो।
३.
नजरको तिर लाउँदै थिएँ घायल भइदियौ
रस रङ्गका कुरा सुनाउँदा कायल भइदियौ
गीत गाउँदै इसाराले जब नयन बोल्न थाले,
तिमी छमछम नाचिदिने पायल भइदियौ।
सुर्योदय-१३, लक्ष्मिपुर, इलाम

