मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले प्रदेश सभामा विश्वासको मत प्राप्त गरेका छन् । साउन ८ मा मुख्यमन्त्री नियुक्त भएका लामाले ३० दिन भित्र प्रदेश सभाबाट विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्था अनुरुप विश्वासकाे मत लिएका हुन् ।
मुख्यमन्त्री लामाले प्रदेश सभामा राखेकाे विश्वासकाे मतकाे पक्षमा ६४ मत परेकाे थियाे । यसैगरी विपक्षमा ३५ मत परेकाे थियो भने तटस्थमा ३ मत परेकाे थियाे । लामालाई नेपाली कांग्रेसका ३७ र एमालेका २७ सांसद जनाले विश्वासकाे मत दिएका हुन् । उनकाे विपक्षमा नेकपा माओवादी, नेकपा एकिकृत समाजवादी राप्रपा र हाम्राे नेपाली पार्टीका सांसदहरुले विपक्षमा मतदान गरे ।
त्यसपछि सभामुख भुवनकुमार पाठकले विश्वासकाे मत सम्बन्धी प्रस्ताव बहुमतले पारित भएकाे घोषणा गरेका थिए । बागमती प्रदेश सभामा ७ दलका ११० सांसद रहेकाेमा मंगलबारकाे बैठकमा १०३ जना सदस्य उपस्थित भएकाे उनले जानकारी दिए ।
लामाले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम प्रदेश सभाबाट विश्वासको मत लिएका हुन् । विश्वासको मतका लागि मंगलबार दिउासो ३ बजेकाे लागि प्रदेशसभा बैठक आव्हान गरिएकाे थियाे ।
मंगलबारकाे बैठकमा विशेष र शुन्य समय नहुने सभामुख पाठकले जानकारी गराए लगत्तै मख्यमन्त्री लामाले आफ्नो धारणासहित विश्वासको मत सम्बन्धी प्रस्ताव पेश पेश गरेका थिए । विश्वासको मतसम्बन्धी प्रस्तावकाे छलफलमा भाग दिदै नेपाली काँग्रेका नेता रामकृष्ण चित्रकार, नेकपा एमालेका संसदीय दलका नेता जगन्नाथ थपलियाले सरकारलाई शुभकामना दिदै विश्वासकाे मतकाे पक्षमा रहेकाे धारणा राखेका थिए ।
यसैगरी नेकपा माओवादी केन्द्रका युवराज दुलालले नयाँ मुख्यमन्त्री र सरकारलाई बधाई दिए । तर उनले सुशासनकाे लागि बनेकाे नयाँ गठनबन्धनकाे सरकारले मन्त्रीकाे संख्या बढाउने र नियुक्ति गरिएका मन्त्रीले सपथ खान नपाउनु हास्यास्पद भएकाे बताए । उनले माओवादी केन्द्र रचनात्मक प्रतिपक्षकाे भूमिकामा रहने बताउँदै विश्वासकाे मतकाे विपक्षमा रहेकाे जानकारी दिएका दिए ।
यसैगरी राप्रपा संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्री लामाको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै विपक्षमा मतदान गर्ने बताएका थिए । उनले राप्रपा सशक्त प्रतिपक्षको भूमिकामा रहने बताए । संविधान संशोधनको स्पष्ट खाका नबनेकाले राप्रपा वर्तमान गठबन्धन सरकारलाई सघाउने पक्षमा नरहेको उनले बताए । नेकपा एकिकृत समाजवादीका कृष्ण पोखरेलले विश्वासकाे मतकाे विपक्षमा रहने जानकारी सभामा गराएका थिए ।
यस्तै नेमकिपा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाको विश्वासको मतको प्रस्तावमा तटस्थ बसेकाे छ । संसदीय दलका नेता सुरेन्द्रराज गोसाईंले विगतदेखि नै प्रतिपक्षको भूमिकामा रहेकाले यस पटक पनि प्रतिपक्षमा रहने बताए । उनले बागमती प्रदेश सभा नागपासकाे खेल जस्तो भएकाे बताए । को कतिवेला माथि पुग्छ काे कति वेला तल झर्छ थाहै नहुने खेलमा सरकार गठनमा लागेकाे आराेप लगाए । उनले पुजिँवादी व्यवस्थामा बादशाहले नयाँ नयाँ घोडा फेरिरहने बताउँदै जनता कति घाेडा बनिरहने भन्दै प्रश्न समेत गरे ।
दलगत रुपमा प्रदेश सभा सदस्यले बाेलेपछि मुख्यमन्त्री लामाले उठेका प्रश्नकाे जवाफ दिएका थिए । लामाले आफूलाई विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा मतदान गर्न माओवादी केन्द्र सहितका विपक्षी दलहरुलाई लिखितरुपमा पत्राचार गरेर आग्रह गरेकाे सभामा जानकारी समेत गराएका थिए । त्यसपछि विश्वासको मत सम्बन्धी प्रस्तावमा मत विभाजन भएकाे थियाे । हस्ताक्षर सहितको मत विभाजनमा प्रदेश सभा सदस्यहरुले मुख्यमन्त्री लामाको विश्वासको मत सम्बन्धी प्रस्तावको पक्ष, विपक्ष वा तथस्टमा मत दिएका प्रदेश सभा सचिवालयले जनाएको छ ।
प्रदेश सभाकाे अर्को बैठक बुधबार दिउँसाे बस्ने गरी मंगलबारकाे बैठक सभामुखले स्थगित गरेकाे जानकारी गराए ।
बागमतीमा काङ्ग्रेस र एमालेको सयुक्त सरकार गठन छ । बागमतीमा पहिलो पटक कांग्रेसबाट सरकारको नेतृत्व लिएका लामाले साउन १२ मा एक विना विभागीय मन्त्रीसहित सरकारलाई पूर्णता दिएका थिए । बागमती प्रदेशमा सबैभन्दा ठुलो दल कांग्रेसका ३७ र एमालेका २७ सांसद छन् । यस्तै, माओवादी केन्द्रका २१, राप्रपाका १३, एकीकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद छन् ।

