मकवानपुर । ‘गल्ली संसार’ निबन्ध सङ्ग्रहका कृतिकार रोशन शेरचनसँग हेटौंडामा परिसंवाद हुने भएको छ । ‘उत्तमशान्ति पुरस्कार २०८०’ प्राप्त कृति गल्ली संसारका लेखक शेरचनका साथमा कवि भूपिन परिसंवादमा रहने छन् ।
शुक्रबारको साहित्य सङ्गम मकवानपुरको आयोजनामा हुने उक्त कार्यक्रममा वक्ताका रूपमा नेपाल प्रज्ञा प्रतिष्ठान काव्य विभाग सदस्य शान्ति प्रियवन्दना रहने सङ्गम सचिव मनोज पोखरेलले जानकारी दिए । कार्यक्रममा भूपिन र शेरचनबिच लेखनका साथसाथै समग्र निबन्ध लेखनको प्रवृत्ति तथा ‘गल्ली संसार’ को सेरोफेरोमा रहेर बहस सञ्चालन हुनेछ ।
‘गल्ली संसार’मा ४८ वटा निबन्ध समेटिएको छ । निबन्धहरूलाई ४ भागमा विभाजन गरी ‘वैचारिकी’ अन्तर्गत १४ वटा, ‘पर्यावरण’ अन्तर्गत ८ वटा, ‘स्मृति–सन्झ्याल’ अन्तर्गत १२ वटा र ‘यात्रा र यात्राहरू; अन्तर्गत १४ वटा निबन्धहरू समेटिएका छन् । पुस्तक पद्मश्री पुरस्कार २०८० का लागि उत्कृष्ट १५ भित्र परेको छ ।
शब्दहरूको देश (कविता सङ्ग्रह, वि.सं. २०५३), सरुभक्तहरू (लामो कविता सङ्ग्रह, वि.सं. २०५६), धोबीघाट एक्सप्रेस (निबन्ध सङ्ग्रह, वि.सं. २०७०), मस्तिष्कहरूको मृत्यु (निबन्ध सङ्ग्रह, वि.सं. २०५८), चम्पारन ब्लुज (निबन्ध सङ्ग्रह, वि.सं. २०६८) जस्ता शक्तिशाली पुस्तकहरूको रचना गरी नेपाली साहित्याकाशमा लगानी गरेका शेरचनले वातावरणीय विज्ञानमा विद्यावारिधि गरेका छन् ।

