१.
धेरै कोठा नभए पनि उहिले, घरभित्र मान्छेकै जगजगी हुन्थ्यो
सबै जनासँगै एकै ठाउँ भेला भइन्थ्यो, भान्सामै मगमगी हुन्थ्यो
अहिले कोठा छन् सुनसान छ, तर कुरा गर्ने कोही पनि नभैदिँदा,
सबै कुरा भएर पनि मान्छे एक्लो, पहिले हाँसोकै रगरगी हुन्थ्यो ।
२.
नजिकै रहँदा देखिँदैन, सबैमा आत्मीयता
टाढै हुँदा पनि देखिन्छ, कसैमा आत्मीयता
दूरीले तय गर्दैन, कसैको भावनाको गहिराई,
थाहै न दी झल्किन्छ, हुँदा मनैमा आत्मीयता ।
३.
मौलिकता र आधुनिकताबिच जुहारी पो चलेको छ
पहिले सासूको चल्थ्यो अहिले बुहारीको चलेको छ
भन्थे घुमिफिरी आउँछ परिवर्तन नयाँ र पुराना कुरामा,
वर्णविन्यासको आघातमा शब्दको गुहारी यो चलेको छ !
४.
दैनन्दिन क्रियाकलाप टक्र्याउने माध्यम भएको छ फेसबुक
आफ्ना सबै कुराहरू प्रस्ट्याउने माध्यम भएको छ फेसबुक
सबै कुरा यतै हुने हुँदा के महत्व भो भेटघाट र कुराकानीको,
पारदर्शी हुँदै सबै कुरा नङ्ग्याउने माध्यम भएको छ फेसबुक !
५.
लाजले पनि हिजोआज आफैँसित, लाज पो मान्न थाल्यो
बजारमा हिँड्दा घुम्दा सुन्दा आफैँ, पछ्यौरी तान्न थाल्यो
मर्यादामा बस्न घुमफिर गर्न, ओत खोज्दै छ लजाउँदै लाज,
नसकी देख्न यी उग्र चर्तिकला, कालो चश्मा छान्न थाल्यो !
बुटबल हाल कम्बाेडिया
तुल्सी थापाकाे सम्झनामा संगमकाे ३४६ औं साहित्य सन्ध्या
Tags: No Comments
मकवानपुर । साहित्य संगम मकवानपुरले ३४६ औं नियमित साहित्य सन्ध्या तुल्सी थापा विशेष गरेकाे छ । नेपाल मै पहिलाे पटक दाना कविताकाे सुरुवात गर्नुहुने थापाकाे वार्षीकीमा संगमले विशेष कार्यक्रम गरेकाे हाे ।
शनिबार सङ्गमको ३४६औँ नियमित साहित्य सन्ध्या एवम् तुल्सी थापा स्मृति विशेष, सम्मान तथा रचना वाचन कार्यक्रममा थापाको व्यक्तित्व र साहित्यिक तथा शैक्षिक योगदानकाे सम्झना गरिएको छ । अग्रज साहित्यकार तुलसी घिमिरेले थापा सरलाई सम्झनेक्रममा जीवितै हुँदा सुनाइएको कविता “मीतज्यू” सुनाउँदै भने- ‘दुवैले एकअर्कालाई मीतज्यू भन्ने गरेका थियौं । एकअर्काप्रति प्रेमभाव थियो, आआफ्ना लेखनका बारेमा चर्चा गर्ने गरेका थियौ ।’
सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलले तुल्सी थापाको व्यक्तित्व, शिक्षा क्षेत्र र चेपाङ समुदायमा पुर्याउनु भएको योगदानसँगै साहित्यिक जीवनको बारेमा जानकारी दिए । नाटक, कथा, कविता र अनुवादको क्षेत्रमा थापाकाे योगदानकाे चर्चा गर्दै उनले भने ‘तुल्सी थापाले दाना कवितालाई साहित्याकाशमा नयाँ विधाको रुपमा स्थापित गरेका हुन् ।’ थापाले अनुवादको क्षेत्रमा पुर्याएकाे योगदानको कमै चर्चा हुने गरेको उनले बताए । थोरै तर गुणात्मक र मौलिक लेखनबाट तुल्सी सर चिनिनु भएकाे उनले जानकारी दिए । ‘तुल्सी थापाका दाना कवितालाई विकास र विस्तार गर्न सके उहाँप्रति सच्चा सम्मान हुनेछ’ उनले भने ।
‘थापा मकवानपुरमा मात्र नभएर अन्य क्षेत्रमा पनि सम्मानपूर्वक लिइने साहित्यकार हुन्’ उनले भने ‘अमरसिंहको खोजीमा अमरसिंह’ नाटक उज्ज्वल शर्मा भण्डारीको निर्देशनमा मञ्चन भइ उत्कृष्टताको रूपमा चर्चा भएकाे छ । चेपाङ भाषाको पहिलो पत्रिका ‘चिन्होजान्हो’ प्रकाशनमा समेत उनकाे योगदान रहेकाे छ । जातजातिमध्ये पनि विशेषतः चेपाङलाई मूलधारमा ल्याउने नेतृत्वकर्ताकाे रुपमा समेत थापालाई लिइन्छ । मकवानपुरको उत्तरी क्षेत्रमा शिक्षाकाे विकासमा थापा बिर्सन नहुने नाम हाे ।
कार्यक्रममा तुल्सी थापाकी बहिनी बेली थापाको पनि उपस्थिति रहेको थियो । थापाले शालिन र शान्त स्वभावका दाजुको योगदान तथा सम्झनामा कविता समेत वाचन गरिन् । ‘दिल लगाएर लगनशील भएर साहित्यिक क्षेत्रमा लागिपरेका सबै साहित्यिक योद्धाहरूका साथै सामाजिक यात्रा, साहित्यिक यात्रा र शैक्षिक यात्राको विषयमा मकवानपुरे साहित्य समाजले नै थापालाई सम्झिरहेको अवस्थामा हाम्रै वरिपरी रहिरहेको आभास हुन्छ’ उनले भनिन् ।

श्यामकुमार बानियाँ, र आरसी रिजालले तुल्सी थापाको स्मृति दिवस र उनका बारेमा आआफ्ना अनुभव सुनाए । बानियाँले आफ्ना गुरूका रूपमा सम्झिरहने थापा सरसँगका बाल्यकालदेखिका सम्बन्धलाई सम्झिएकाे कार्यक्रममा आरसी रिजालले थापा सरका कारण मकवानपुरले देशमैं इज्जत कमाएको बताए । उनले भने ‘दाना कवितालाई अभियानका क्रममा हामीले लेखन, वाचन र विमर्श सुरू गर्नुपर्दछ ।’
रचना वाचनमा आँचल साहित्य कला पुञ्जकी सचिव सविता तिमल्सिनाले नेपालमै पहिलो पटक थापा सरद्वारा सुरू गरिएको दाना कविता लेखनबाट प्रेरित भएर दाना कविता सुनाइन् । अहिलेका पुस्ताका आरूशी काफ्ले, आश्रीका न्यौपाने, आश्रीका कार्की रचना वाचन गरेका थिए । सुबास सजलले थापाकै दाना कविता सुनाएकाे कार्यक्रममा किशन पौडेलले हाइकु वाचन गरे ।
कार्यक्रममा राजुराम राउत, माधव पोखरेल, यश लामा, मसान उपासक, देवराज तिवारी, सुवास खनाल लगायतले थापा सरका व्यक्तित्व र व्यक्तिगत अनुभवका साथसाथै आआफ्ना रचनाहरू वाचन गरे ।
नियमित सन्ध्याकै अवसरमा संगमले स्थापना गरेको अक्षयकोषमा पाँच हजार रुपैयाँ भन्दा बढी रकम सहयोग गर्ने २८ जनालाई सम्मान गरिएको थियो । संगमले स्थापना गरेको अक्षयकोषमा हालसम्म ६ लाख ५० हजार रुपैयाँ संकलन भएको अध्यक्ष बर्तौलाले जानकारी दिए । नियमित सन्ध्यामा रचना वाचन गर्नेहरुले तुल्सी थापाप्रति नै समर्पण गरेका थिए ।
८ भाद्र २०८० तुल्सी थापाकाे निधन भएकाे थियाे । थापाका दाना कविता सङ्ग्रह ‘एक निमेष अनन्तको’,नाटक ‘अमर सिंहको खोजीमा अमर सिंह’ र कथासंग्रह ‘फरक आकाश’लगायत साहित्यिक सिर्जना प्रकाशित छन्।गोरखा दक्षिण बाहु चौथो, नारायणी वाङ्मय पुरस्कारसहित विभिन्न सम्मान प्राप्त गरेका थापा भीम विराग सङ्गीत, साहित्य,कला प्रतिष्ठानका पूर्वअध्यक्षसमेत हुन् ।
साहित्य सङ्गम मकवानपुरका अध्यक्ष डीबी बर्तौलाको सभाध्यक्षता र सल्लाहकार तुलसी घिमिरेको प्रमुख आतिथ्यमा भएकाे कार्यक्रमलाई सङ्गमका सचिव मनोज पोखरेलले सहजीकरण गरेका थिए ।
चितवन । अक्षर समूहले अनायासै गजलकार रामकृष्ण अनायासलाई सुनाएकाे छ । अनायासले शनिबार चितवनकाे भरतपुरमा सुरुवातमै छोरीकाे नाममा गजल सुनाए..
छोरी नभएको त्यो महल घर लाग्दैन,
सरकार नागरिकतामा किन आमाको थर लाग्दैन ।
परीक्षा आयो पुस्तक कहिल्यै आएन कर्णालीमा,
पर्चा आयो झण्डा बोकेर भोट माग्नेको भर लाग्दैन ।
……
माथिका गजलका शेरमा पाका पुस्तादेखि युवा पुस्ताले वाह वाही गरेका थिए । गजल सुन्न युवापुस्तादेखि पाका स्रस्टासम्मको उपस्थिति थियो । कार्यक्रमकाे माहोललाई सम्बोधन गर्दै अनायासले छोरीको नाममा लेखिएको माथिका गजल सुनाए ।
भरतपुरमा शनिबार युवा गजलकार रामकृष्ण अनायासको ‘गजल साँझ’ आयोजना गरियो । अक्षर समूह चितवनले आयोजना गरेको कार्यक्रममा अनायासले १२ वटा गजल प्रस्तुत गरे । अनायासले गजल मार्फत व्यङ्ग्य गर्दै भने..
आज घरमै बस, बाटोमा सरकारको सवारी छ,
भन्देउ न पुलिस दाइ कतिलाई समात्ने तयारी छ ।
बाले मृगौला बेचेर आमाको उपचार गर्दैछन्,
यता सेवा बन्द भन्दै अस्पतालको सूचना जारी छ ।
……
गजलकार अनायासले गजलमार्फत सुशासनको अपेक्षा राखे । नागरिकलाई अनाहकमा दु:ख दिने सरकारलाई खबरदारी गर्दै उनले भने….
एक्लै निस्किएको छु मसाल बोकेर गाउँबाट,
ए काठमाडौं, म जतिबेला पनि आउन सक्छु ।
मेरा गजललाई त्यति कमजोर नठान महासय,
म गजल लेखेरै यो सरकार गिराउन सक्छु ।
……
उनले माया प्रेम, समसामयिक, राजनीतिक, सामाजिक गजल प्रस्तुत गरेका थिए । सामाजिक संजाल र अनलाइनहरुमा गजल गतिविधि गर्दै आएका अनायास गजल मञ्च चितवनका उपाध्यक्ष हुन् ।
पुस्तक चर्चा एवम् विभिन्न स्रस्टाका जयन्ती तथा दिवस मनाउँदै आएको अक्षर समूहले मोती जयन्तीको अवसर पारेर एकल गजलवाचनको कार्यक्रम गरिएकाे अक्षर समूहका सचिव लेखराम सापकोटा बताए ।
अक्षर समूह चितवनका अध्यक्ष रमेश प्रभातका अनुसार नेपाली गजलमा मोतीराम भट्टको योगदानको सम्मान गर्दै गजल बिधाको कार्यक्रम गरिएको हो । अक्षर समूह चितवनका पूर्व अध्यक्ष भूपिनले संस्थाबाट यसअघि पनि गजलको कार्यक्रम गर्ने क्रममा गजलकार प्रभाकर पण्डितको गजलसङ्ग्रहको अन्तर्क्रिया एवम् गजलवाचन राखिएको बताए ।
अनायासका बारेमा अक्षर समूहका सचिव सापकोटाले चर्चा गरेका थिए ।
काठमाडौ । काठमाडौमा एकै मन्चबाट २५ कृति लोकार्पण गरिएको छ । ३ भदौमा साहित्यकार अम्बिका धिताललगायतका २४ लघुकथा कृति १ लघुकथा समालोचना गरी २५ कृतिकाे एकैसाथ लोकार्पण गरिएको हो ।
लघुकथाकार श्रीओम श्रेष्ठ रोदन, खेमराज पोखरेल,साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, कल्याण पन्तलगायतले उक्त कृतिको संयुक्त रूपमा बिमोचन गरेका थिए।
साहित्यकार अम्बिका धितालको जूनको जात्रासहित छविलाल खड्का, खेमराज पोखरेल, ममता मृदुल, त्रिलोचन ढकाल, गंगा खड्का, गोपाल संग्रौला, अन्जु शर्मा, कुमुदप्रसाद शर्मा प्याकुरेल, भाभा शर्मा, निर्मल बराल, विश्वराज अधिकारी, डा. कुसमाकर शर्मा गौतम, तुलसी पण्डित, तेजप्रकाश श्रेष्ठको लघुकथा संग्रहको विमोचन गरिएको हो ।
यस्तै रन्जु खनाल, शुक्रराज कुँवर, हिरण्यकुमारी पाठक, रमेन्द्र कोइराला, नवराज शर्मा, डा. हरिप्रसाद भण्डारी, रोशन पराजुली, पीपी कोइराला र सुनिता निरौला पौडेलका लघुकथा कृति लोकार्पण गरिएको हो । यसैगरी प्राडा कपिल लामिछानेको लघुकथा समालोचना कृतिको लोकार्पण गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि रहेका श्रेष्ठले लघुकथाको मानक सिद्धान्त, लघुकथाको अवस्थाबारे आफ्नो भनाइ व्यक्त गरेका थिए । विशिष्ट अतिथि लेकालीले तीसको दशकमा लघुकथाको अवस्था, लघुकथाले पाएको विधागत मान्यतालगायत बताए ।
लघुकथाकार खेमराज पोखरेलको अध्यक्षतामा भएको कृतिहरूको लोकार्पण कार्यक्रममा नेपाल लघुकथा समाजका संस्थापक अध्यक्ष श्रीओम श्रेष्ठ रोदन प्रमुख अतिथि र साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली र कल्याण पन्त विशिष्ट अतिथि थिए।
बृहत् लघुकथा कृति लोकार्पण समूहले आयोजना गरेको कार्यक्रममा लघुकथाकार पोखरेलको जन्मदिन समेत मनाइएको थियो । स्वागत मन्तव्य साहित्यकार रमेन्द्र कोइरालाले गरेको कार्यक्रमको सहजीकरण ममता मृदुलले गरेकी थिइन् ।
संगमकाे सन्ध्या दिवसमा ४ कविले सुनाए दर्जन कविता
Tags: No Comments
मकवानपुर । साहित्य सङ्गम मकवानपुरले स्थापना दिवसकाे अवसरमा आइतबार हेटौंडामा संयुक्त कविता वाचन कार्यक्रम गरेकाे छ । लेखनका हिसाबले चार पुस्ताका चार कविले कविता सुनाएका थिए ।
संगमले हरेक वर्ष मनाउँदै आएकाे स्थापना दिवस अन्तरगत ३५ औं सन्ध्या दिवसकाे अवसरमा आइतबार संयुक्त कविता कार्यक्रम गरिएकाे हाे । कविता वाचनमा एउटै मञ्चमा ४ पुस्ताका कविहरुले आफ्ना ३/३ वटा कविताहरु वाचन गरेका थिए ।
म जस्तै मेरा कविता पनि साना छन्, मसँगै मेरा कविता पनि ठूला हुनेछन् कवि अनसूया खनालले कविता वाचन अघि आफ्ना भनाइ यसरी व्यक्त गरिन् । उनले आफ्ना तीनवटा कविता सुनाइन् । बिचरी चरी, मेरो गाउँ र आमा शीर्षकका कविता उनले सुनाइन् ।
नवपुस्ताकी अनसूयापछि प्रतिमा पाठकले आफ्ना तीन कविता प्रस्तुत गरेकी थिइन् । लामो समयपछि मन्चबाट कविता सुनाउँदै गर्दा उनले अग्रज पुस्ताबाट आफूले धेरै सिकेकाे तर आफूले सिकेका कुरा पुस्तान्तरण गर्न नसकेकाे बताइन् । प्रतिमाले कैदी सम्भावना, बुद्ध र बाँकी अर्कोपटक शीर्षकका कविता वाचन गरेकी थिइन् ।
यसैगरी कवि सुवास खनालले सानो छँदा बुबाको कविता चोरेर स्कुलमा सुनाउँदा पुरस्कृत भएकाे बताउँदै बुबाकाे कवितासँगै आमा पुस्ताले गाउने लाेक भाकाले लेख्न सिकाएकाे बताए । उनले कलेज एक यातना शिविर शीर्षकको कविताबाट वाचन सुरु गरे । यससँगै उनले वजनको वजन र राहत शीर्षकको कविता सुनाए ।
अग्रज पुस्तालाई प्रतिनिधित्व गर्दै कवि साम्ब ढकालले पनि अन्तराल, युक्रेनमा युद्ध :सम्वेदनामय सम्वेदना र फुटपाथबाट सङ्घम् शरणम् गच्छामी शीर्षकका कविताहरु सुनाए ।
सन्ध्या सम्मानबाट पौडेल सम्मानित
साहित्य सङ्गम मकवानपुरले यस वर्षकाे सन्ध्या सम्मानबाट चेतप्रसाद पौडेललाई सम्मानित गरेको छ । संगमकाे सन्ध्यामा नियमित उपस्थित भएका पौडेललाई सम्मान गरिएकाे सचिव मनाेज पोखरेलले जानकारी दिए । सैँपुले साइँलो उपनामले चिनिने पौडेलले त्रिसत्यमा आधारित महाकाव्य समेत लेखेका छन् ।