मकवानपुर । साहित्य सङ्गम मकवानपुरले स्थापना दिवसकाे अवसरमा आइतबार हेटौंडामा संयुक्त कविता वाचन कार्यक्रम गरेकाे छ । लेखनका हिसाबले चार पुस्ताका चार कविले कविता सुनाएका थिए ।
संगमले हरेक वर्ष मनाउँदै आएकाे स्थापना दिवस अन्तरगत ३५ औं सन्ध्या दिवसकाे अवसरमा आइतबार संयुक्त कविता कार्यक्रम गरिएकाे हाे । कविता वाचनमा एउटै मञ्चमा ४ पुस्ताका कविहरुले आफ्ना ३/३ वटा कविताहरु वाचन गरेका थिए ।
म जस्तै मेरा कविता पनि साना छन्, मसँगै मेरा कविता पनि ठूला हुनेछन् कवि अनसूया खनालले कविता वाचन अघि आफ्ना भनाइ यसरी व्यक्त गरिन् । उनले आफ्ना तीनवटा कविता सुनाइन् । बिचरी चरी, मेरो गाउँ र आमा शीर्षकका कविता उनले सुनाइन् ।
नवपुस्ताकी अनसूयापछि प्रतिमा पाठकले आफ्ना तीन कविता प्रस्तुत गरेकी थिइन् । लामो समयपछि मन्चबाट कविता सुनाउँदै गर्दा उनले अग्रज पुस्ताबाट आफूले धेरै सिकेकाे तर आफूले सिकेका कुरा पुस्तान्तरण गर्न नसकेकाे बताइन् । प्रतिमाले कैदी सम्भावना, बुद्ध र बाँकी अर्कोपटक शीर्षकका कविता वाचन गरेकी थिइन् ।
यसैगरी कवि सुवास खनालले सानो छँदा बुबाको कविता चोरेर स्कुलमा सुनाउँदा पुरस्कृत भएकाे बताउँदै बुबाकाे कवितासँगै आमा पुस्ताले गाउने लाेक भाकाले लेख्न सिकाएकाे बताए । उनले कलेज एक यातना शिविर शीर्षकको कविताबाट वाचन सुरु गरे । यससँगै उनले वजनको वजन र राहत शीर्षकको कविता सुनाए ।
अग्रज पुस्तालाई प्रतिनिधित्व गर्दै कवि साम्ब ढकालले पनि अन्तराल, युक्रेनमा युद्ध :सम्वेदनामय सम्वेदना र फुटपाथबाट सङ्घम् शरणम् गच्छामी शीर्षकका कविताहरु सुनाए ।
सन्ध्या सम्मानबाट पौडेल सम्मानित
साहित्य सङ्गम मकवानपुरले यस वर्षकाे सन्ध्या सम्मानबाट चेतप्रसाद पौडेललाई सम्मानित गरेको छ । संगमकाे सन्ध्यामा नियमित उपस्थित भएका पौडेललाई सम्मान गरिएकाे सचिव मनाेज पोखरेलले जानकारी दिए । सैँपुले साइँलो उपनामले चिनिने पौडेलले त्रिसत्यमा आधारित महाकाव्य समेत लेखेका छन् ।

