मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर १० बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुने भएकाे छ । ८ भदौमा बालमैत्री वडा घोषणा गरिने सोमबार पत्रकार भेटघाट गरी वडा अध्यक्ष फुर्वा दोर्जे तमाङले जानकारी दिए ।
वडाअध्यक्ष तमाङले भने ‘१० नम्बर वडा बालश्रम मुक्त, बाल विवाह मुक्त र बालमैत्री स्थानीय शासनयुक्त हुनेछ।’ बालमैत्री घोषणाका लागि आवश्यक ५१ सूचकमध्ये ४९ वटामा शतप्रतिशत, एउटा सूचक ९५ प्रतिशत र अर्को एउटा सूचक ८१ प्रतिशत पुरा भएपछि बालमैत्री वडा घोषणा गरिन लागेकाे हाे । यसअघि नै यो वडालाई पूर्ण खोप वडा, पूर्ण साक्षर वडा र खुला दिसामुक्त वडा घोषणा गरिसकिएको छ।
वडामा १८ वर्षमुनिका १ हजार ८९५ बालबालिका रहेकाेमा जसमध्ये ५२.६ प्रतिशत बालक र ४७.४ प्रतिशत बालिका रहेका छन्। ४ वटा विद्यालय रहेकाे वडामा १० वटा बाल समूह र एउटा बाल सञ्जाल छन्। यी समूहमा २५० बालबालिका आबद्ध छन्।
प्रेस विज्ञप्तिः
बालबालिकामा लगानी; सुनिश्चित भविष्यको थालनी भन्ने मूल नाराका साथ यही मिति २०८१ भाद्र ८ गते शनिबार हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० लाई निकृष्ट बालश्रम मुक्त, बाल विबाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा कार्यक्रम समारोहको पूर्वसन्ध्यामा यो पत्रकार सम्मेलन आयोजना गरिएको हो । बागमती प्रदेशको राजधानी समेत रहेको यस हेटौंडा उपमहानगरपालिकाको १९ वटा वडा रहेकोमा यस १० नं. वडाले बालमैत्री स्थानीय शासन अभियान सञ्चालन गरी विभिन्न चरण पार गर्दै घोषणाको तयारी गरिरहेको छ।
यस वडा नम्बर १० को क्षेत्रफल २.४ वर्ग कि.मी. रहेको छ भने वडाको पूर्वि सिमानामा त्रिभुवन राजपथ, पश्चिम सिमानामा राप्ती खोला, उत्तरमा महेन्द्र राजमार्ग, र दक्षिण भागमा कर्रा खोला रहेको छ।यस वडाका अधिकांश भागहरु शहरी क्षेत्र रहेको छ। यस वडामा घरधूरी तथ्याङ्क संकलन सर्वेक्षण, २०७९ अनुसार १८ वर्ष मूनिका बालबालिकाको जनसंख्या १८९५ रहेको छ जस्मा ९९६ बालक र ८९९ बालिका रहेका छन् । कूल बालबालिकाको जनसंख्यालाई आधार मान्दा ५२.६ प्रतिशत बालक र ४७.४ प्रतिशत बालिक रहेका छन । यस वडामा सामुदायिक र संस्थागत गरी जम्मा ४ वटा विद्यालयहरु सञ्चालनमा रहेका छन् । यसैगरी १० वटा बालसमूहरु र १ वडा बाल सञ्जाल रहेको छ जसमा २५० जना बालवालिकाहरु आवद्ध छन् भने विभिन्न संरचनागत समितिहरु समेत गरी जम्मा २६२ जना बालबालिकाहरुको प्रत्यक्ष सहभागिता रहेको छ
वडामा बालमैत्री स्थानीय वडा समिति, वडा बालअधिकार समिति, बालसमूहरु, बालसमूह सञ्जाल, टोल विकास संस्थाहरु, युवा क्लब, आमा समूह साथै विभिन्न सामुदायिक संस्थाहरु क्रियाशील छन् । पूर्ण खोप वडा घोषणा, पूर्व साक्षर वडा घोषणा, खुल्ला दिसामुक्त वडा घोषणा भई सकेको यस वडालाई नेपाल सरकारको मापदण्डको आधारमा तयार भएको बालमैत्री स्थानीय शासन घोषणा गर्न आवश्यक ५१ वटा सूचकहरुमा अभ्यास गरी ५१ वटा सूचकहरुमध्ये ४९ वटा सूचकहरु १०० प्रतिशत, १ वटा सूचक ९५ प्रतिशत, १ वटा सूचक ८१ प्रतिशतसम्म नतिजा हासिल गर्दै बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने अवस्थामा आईपुगेका छौं । आजका बालबालिका भविष्यका राज्यका नेतृत्वकर्ता हुन्। आज हामिले बालबलिकालाई आवश्यक शिक्षा, स्वास्थ्य, हेरचाह, अवसर, वृद्दिविकास र सहभागिताको अवसर दिन सकेमा मात्र भविषयमा राज्यले एउटा असल, सभ्य र सझम नागरिक पाउनसक्दछ। बालबालिकाको व्यक्तित्व तथा वृद्दि विकासको लागि दिईने वातावरण, अवसर र व्यवहार नै बालमैत्री हो।बालबालिकाहरुको मौलिक तथा आधारभूत अधिकारलाई सुनिश्चित गर्न ल्याईएको शासकीय अवधारणा नै बालमैत्री स्थानीय शासन हो ।
बालमैत्री स्थानीय शासन अभियान स्थानीय शासन राष्ट्रिय रणनीति, २०६८ को कार्यान्वयन सँगै विभीन्न स्थानीय तहहरुले शुरुवात गरी कार्यान्वयनको प्रक्रिया अगाडी बढाईएकोमा हाल बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ र बालमैत्री स्थानीय घोषणा कार्यविधि, २०७९ कार्यान्वयनमा रहेको छ। नेपाल सरकाले २०८७ सम्ममा सबै स्थानीय तहहरुलाई बालमैत्री स्थानीय तहको रुपमा घोषणा गर्ने लक्ष लिएको छ।
हेटौंडा उपमहानगरपालिकाले पनि बालमैत्री स्थानीय शासनयुक्त उपमहानगरपालिकाको रुपमा घोषणा गर्न २०७९ भाद्र ५ गते सरोकारवालाहरुको उपस्थितिमा प्रतिबद्दतामा हस्ताक्षर गरी भाद्र २४ गते नगर कार्यपालिकाबाट निर्णय गरीएकोमा यो महान अभियानलाई आत्मासात गर्दै कार्यान्वयनको लागि प्रत्येक वडाले विद्यालय, टोल, समुदायहरुमा विभिन्न सचेतनामूलक कार्यक्रमहरु संचालन गर्दै आएको छ। हाम्रो वडा नं १० ले पनि नेपाल सरकारले निर्धारण बाल अधिकारका महत्वपूर्ण पक्षहरु बाल बचाउ, बाल संरक्षण, वाल विकास, र बाल सहभागिता साथै यसको लागि संस्थागत विकासका ५१ वटा सूचकहरु पूरा गर्दै बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणाको अन्तिम तयारीको अवस्थामा पुगेका छौ। सूचक पूरा भएको सन्दर्भमा सरोकारवाला निकायहरुसँग बसी अन्तरक्रिया, अनुगमन तथा समीक्षा गरिएकोमा हाल बालमैत्री स्थानीय शासन कार्यान्वयन तथा दिगोपना कायम गर्नको लागी अन्तिम सूचक मापनको प्रतिवेदन, स्थिती पत्र, वडाको पञ्च वर्षिय रणनीतिक योजना समेत तयार भईसकेको अवस्था छ भने जिल्ला स्तरीय अनुगमन समितिबाट अनुगमन गरी बाल मैत्री स्थानीय शासनयुक्त वडाको रुपमा घोषणा गर्नको लागि जिल्ला समन्वय समितिबाट अनुमति प्राप्त भइसकेको अवस्था छ। यस अभियानलाई सफल पार्न यस वडाका सम्पूर्ण वडावासीहरु लगायत विद्यालय, टोल विकास संस्था, नागरिक समाज, सवै सरकारी तथा गैरसरकारी संघसंस्थाहरुले आ-आफ्नो स्थानबाट सक्दो साथ सहयोग दिनु भएको कारणले नै हामि घोषणाको अन्तिम चरणमा पुग्न सफल भएको हौ। हामिसँग हातेमालो गर्दै हाम्रो अभियानमा साथ सहयोग दिनु हुने सम्पूर्णमा हार्दिक कृतज्ञता ज्ञापन गर्दछु।अन्त्यमा भाद्र ८ गते शनिवार १० नं वडा निकृष्ट बालश्रम मुक्त, बाल विवाह मुक्त, बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा कार्यक्रम टि.सि. एन. चौरबाट विहान १० बजे बृहत प्रभातफेरी सहित शुरु भई वडा परिक्रमा पश्चात सोलिड्यारिटि ईन्टरनेशनल एकेडेमीको सभाहलमा सञ्चालन हुन गईरहेको हुदाँ यो घोषणा कार्यक्रमलाई १० नं वडाको गौरव र शानको विषयको रुपमा लिई यस महान अभियानलाई सभ्य र भव्य रुपमा सम्पन्न गर्न सम्पूर्ण वडावासीहरुले आ-आफ्नो स्थानवाट साथ, सहयोग र सहभागिता र अभियानमा ऐक्यबद्वता जनाईदिनु हुन सम्पूर्ण आदरणीय वडाबासीहरुमा वडा कार्यालय हार्दिक अपिल समेत गर्दछ।
फुर्वा दोर्जे तामाङ
१० नं. वडा अध्यक्ष एवं बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा मूल समारोह समिति संयोजक

