१.
धेरै कोठा नभए पनि उहिले, घरभित्र मान्छेकै जगजगी हुन्थ्यो
सबै जनासँगै एकै ठाउँ भेला भइन्थ्यो, भान्सामै मगमगी हुन्थ्यो
अहिले कोठा छन् सुनसान छ, तर कुरा गर्ने कोही पनि नभैदिँदा,
सबै कुरा भएर पनि मान्छे एक्लो, पहिले हाँसोकै रगरगी हुन्थ्यो ।
२.
नजिकै रहँदा देखिँदैन, सबैमा आत्मीयता
टाढै हुँदा पनि देखिन्छ, कसैमा आत्मीयता
दूरीले तय गर्दैन, कसैको भावनाको गहिराई,
थाहै न दी झल्किन्छ, हुँदा मनैमा आत्मीयता ।
३.
मौलिकता र आधुनिकताबिच जुहारी पो चलेको छ
पहिले सासूको चल्थ्यो अहिले बुहारीको चलेको छ
भन्थे घुमिफिरी आउँछ परिवर्तन नयाँ र पुराना कुरामा,
वर्णविन्यासको आघातमा शब्दको गुहारी यो चलेको छ !
४.
दैनन्दिन क्रियाकलाप टक्र्याउने माध्यम भएको छ फेसबुक
आफ्ना सबै कुराहरू प्रस्ट्याउने माध्यम भएको छ फेसबुक
सबै कुरा यतै हुने हुँदा के महत्व भो भेटघाट र कुराकानीको,
पारदर्शी हुँदै सबै कुरा नङ्ग्याउने माध्यम भएको छ फेसबुक !
५.
लाजले पनि हिजोआज आफैँसित, लाज पो मान्न थाल्यो
बजारमा हिँड्दा घुम्दा सुन्दा आफैँ, पछ्यौरी तान्न थाल्यो
मर्यादामा बस्न घुमफिर गर्न, ओत खोज्दै छ लजाउँदै लाज,
नसकी देख्न यी उग्र चर्तिकला, कालो चश्मा छान्न थाल्यो !
बुटबल हाल कम्बाेडिया

