मकवानपुर। समर म्युजिक फेस्टिभल मङ्सिर १५ गते हेटौंडामा हुने भएको छ। पिस नेपाल इन्टरटेन्मेन्टले आयोजना गर्ने उक्त कार्यक्रमको लागि चर्चित र्यापर भिटेन हेटौंडा आउने भएका छन् ।
२९ भदौ २०८१ मा हेटौंडा ७ नागस्वतीमा हुने तय भएको कार्यक्रम मौसमी परिस्थितिका कारण स्थगित भएको थियो । अब हुने कार्यक्रममा र्यापर भिटेनको विशेष प्रस्तुति रहने बताइएको छ । कार्यक्रमलाई अझै भव्य र आकर्षक रूपमा आयोजना गरिने गरि आयोजक तयारीमा जुटेका छन् । “हामी समर म्युजिक फेस्टिभल मङ्सिर १५ गते भव्यतासाथ गर्ने तयारीमा छौं” पिस नेपाल इन्टरटेन्मेन्टका प्रबन्धक बाबु तितुङले भने “यस पटक कार्यक्रमलाई अझ व्यवस्थित र आकर्षक बनाउने योजना छ र जनसहभागिता पनि अत्यधिक हुने विश्वास छ।”
यसअघि दशैं म्युजिक फेस्टिभलको आयोजना गर्दा ७ हजारभन्दा बढी दर्शकहरूको सहभागिता रहेको थियो उनले बताए। यस सफलता र जनसहभागिताबाट उत्साहित भएका तितुङले भने “दशैं म्युजिक फेस्टिभलको सफलता पछि हेटौंडा-७ नागस्वतीमै मङ्सिर १५ गते हुने कार्यक्रमलाई अझ स्तरीय बनाउने तयारी गरेका छौं।”
समर म्युजिक फेस्टिभलको कार्यक्रम भव्य र सफल बनाउन सबै तयारी पूरा भएको आयोजकले जनाएको छ ।
मकवानपुर । मकवानपुरकाे हेटौंडामा श्रवण मुकारुङका एकल कविता वाचनसहित सांगीतिक साँझ कार्यक्रम हुने भएको छ । साहित्य संगम मकवानपुरको आयोजनामा मुकारुङकाे कविता वाचनसहित सांगीतिक साँझ हुने भएकाे छ ।
साहित्य संगम मकवानपुरको अक्षयकोष सहयोगार्थ आगामी मंसीर ७ गते कवि मुकारुङका एकल कविता एवम् सांगीतिक साँझ हुने भएको हो । यसअघि भदौ १ गते कार्यक्रम हुनेगरी मिति तय भएकाेमा मुकारुङको स्वास्थ्य अवस्थाका कारण स्थगित गरिएको संगम अध्यक्ष डीबी बर्तौलाले जानकारी दिए । सांगीतिक साँझ कार्यक्रममा श्यामकुमार बानियाँ, अन्जन दहाल, सुनिता बुर्लाकोटी, रमेश गहतराज, लालकाजी परियार र बाल प्रतिभा प्रसिद्धि लामिछाने प्रस्तुती रहने उनले बताए ।
कविता वाचन तथा सांगीतिक साँझ हेटौंडा उपमहानगरपालिका ४ स्थित हेटौंडा पार्टी प्यालेसमा हुने संगम सचिव मनोज पोखरेलले बताए । पोखरेलका अनुसार कार्यक्रममा सहभागिताकाे लागि प्रतिव्यक्ति ५ सय रुपैयाँको टिकटको व्यवस्था गरिएको छ । संगमकाे अक्षयकोषको लागि टिकटकाे व्यवस्था गरिएकाे उनले बताए ।
नेपाली साहित्य जगतमा लोकप्रिय कवि तथा गीतकारकाे छवी बनाएका मुकारुङको देश खोज्दै जाँदा र जीवनको लय कवितासङ्ग्रह, फूलको आवाज, बिसे नगर्चीको बयानलगायतका कविता भीसीडी, हिउँको दरबार गीतसङ्ग्रह, यलम्बर नाटक लगायत प्रकाशित छन् । यसैगरी उनकाे हजुर हजुर ए हजुर, सुनकोशीको सुनको पानी, तिमी तारे भिर, बाटो हेरे हुन्छ आमा, माथी माथी सैलुङगेमा गीतहरु प्रकाशित रहेका छन् ।
मुकारुङ सर्वश्रेष्ठ गीतकार, राष्ट्रिय कविता महोत्सवमा प्रथम, युवा स्रष्टा सम्मान, रवीन्द्र गीत सम्मान, मोहन रेग्मी स्मृति पुरस्कार, युवा वर्ष मोती पुरस्कार, समय सम्मान, लोकेन्द्र साहित्य पुरस्कार, जीवन स्मृति पुरस्कार, शुभप्रभात काव्य सम्मान, स्रष्टा सम्मान, विशिष्ट सम्मान लगायतका पुरस्कारबाट सम्मानित भएका छन् ।
मुकारुङको पछिल्लो समयमा राई माइलाले गाउँ छाड्यो रे (गाउँ आएकाे बाटो चलचित्रमा समावेश) बोलको गीत लोकप्रीय छ ।
तिमीमा चित्त लाएर बसेकी आज मै सुन ।
जागा भयौ तिमी आज शब्दले गर्छु पूजन ॥१॥
कसरी शब्द नै छानूँ फूलझैँ टिप्न सक्दिन ।
काँढा परेर घोच्ला कि चाहन्छु म त तर्किन ॥२॥
पवित्र मनका साथ वस्त्र शुद्ध धरीकन ।
पूजा पाठ म ता गर्छु शुद्ध मन्त्र पढीकन ॥३॥
हरि कीर्तन मै गर्दै सिँगार्छु तुलसी मठ ।
लेख्छु स्तुति म आफैँले अङ्गुली-पीत-चन्दन ॥४॥
दीप कलश विघ्नेश पहिले गर्छु पूजन ।
पूजेर हरि नै फेरि तुलसी गर्छु वन्दन ॥५॥
पहेँलो फूल हो राम्रो पीताम्बर सुहाउने ।
विष्णुको प्रिय हो भन्दै तिमीलाई चढाउने ॥६॥
पारेकी छु उनी ठिक्क माला यो पहिराउन ।
तरुलादि फलाहार नैवेद्य भाग लाउन ॥७॥
तुलसीप्रिय हो तिम्रो साथ गर्छु म वन्दन ।
तुलसीदल राखेर फलमा गर्छु अर्पण ॥८॥
शालिग्राम सँगै राखी तुलसी छेउमा अनि ।
विष्णुरूप भनी मानी विवाह तुलसी गरी ॥९॥
जे जे छन् ठिक्क पारेका सामग्री धूप चन्दन ।
अक्षता आज ता हुन्न द्रव्य पुष्पादि लीकन ॥१०॥
हे हरि ! तुलसी माता ! प्रीतिले गर्छु है स्तुति ।
प्रीतिकै भावले मैलै चढाएँ शब्दसङ्गति ॥११॥
सकेको पूजनै गर्छु मनले गर्छु अर्पण ।
भएमा विघ्नता केही गर माफ म दुर्जन ॥१२॥
मकवानपुर । नेपाली कथानक चलचित्र अग्निदहन ७ मंसिर २०८१ बाट प्रदर्शनमा आउने भएकाे छ । चलचित्रमा बोक्साबोक्सी कुप्रथाको नाममा अझैपनि नेपाली समाजमा भइरहेको अन्याय र अत्याचार तथा त्यसविरुद्धको संघर्षको कथा रहेकाे निर्माण टिमले जनाकारी दिएकाे छ ।
चलचित्र विकास बोर्डले ‘विशेष चलचित्र अवार्ड’ प्रदान गरेको अग्निदहन ७ मंसिरबाट देशैभरका चलचित्र घर (सिनेमा हल) हरुमा प्रदर्शन हुने सोमबार हेटौंडामा पत्रकार भेटघाट मार्फत निर्माण पक्षले जानकारी दिएको हो । मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठानले निर्माण गरेको चलचित्र हलमा प्रदर्शनअघि नेपाल र भारतका विभिन्न ठाउँमा च्यारिटी प्रदर्शन गरिएको छ ।
चलचित्र निर्देशक धनश्याम लामिछानेले हाम्रो समाजमा घटेको सत्यघटनामा आधारित विषयवस्तुमा चलचित्र निर्माण भएको बताए । चलचित्रका संरक्षक मोहनराज शर्मा पौडेलले बोक्साबोक्सी कुप्रथाको उन्मुलन गर्ने अभियानमा चलचित्र सार्थक हुने विश्वास व्यक्त गरे । कलाकार प्रकाश घिमिरेले चलचित्रमा आफ्नो भूमिका र आफ्नो विचार मिलेकाले काम गरिएकाेले नयाँ अनुभव मिलेकाे बताए ।
चलचित्रलाई भोजपुरी र मैथिली भाषामा डबिङ गरिसकिएको छ भने हिन्दीमा पनि डबिङ भइरहेको निर्माण पक्षले जनाएको छ । घनश्याम लामिछानेले निर्देशन गरेकाे चलचित्र करिब एक करोडको लगानीमा निर्माण गरिएको बताइएकाे छ । चलचित्रमा लोकमणि पौडेलको कथा, पटकथा तथा संवाद र कोविदशरण उपाध्यायको परिकल्पना रहेको छ ।
प्रकाश घिमिरे, प्रमिला तुलाचन, माओत्से गुरुङ, अनुपमा भण्डारी, तुलसी क्षेत्री, विष्णु बास्तोला, निर्मल लामिछाने र तारा गुरुङलगायतकाे अभिनय चलचित्र देख्न सकिन्छ । १ महिना अघी टिजर सार्वजनिक भएकाे अग्निदहनकाे टेलर ४ दिन अघि सार्वजनिक भएकाे छ ।
चितवन । गजलकार विनोद अनुज चितवनकाे भरपुरमा सम्मानित भएका छन् । युवा पुस्ताका गजलकार अनुज द्वारिका नेपाल स्मृति गजल पुरस्कारबाट सम्मानित भएका हुन् ।
गजल मञ्च चितवनको नवौँ अधिवेशनकाे अवसरमा सोमबार अनुजलाई २५ हजार रूपैयाँ राशीकाे उक्त पुरस्कार प्रदान गरिएकाे हाे । अधिवेशन उद्घाटन सत्रमा गजल मञ्च चितवनका पूर्वअध्यक्ष प्रभाकर पण्डितले अनुजलाई सम्मानपत्रसहित पुरस्कारले सम्मान गरेका थिए । गजल मञ्च चितवनको अध्यक्ष रहेका बेला २०७८ साल असोजमा दिवगंत द्वारिका नेपालको स्मृतिमा गजल मञ्च चितवनले पुरस्कार स्थापना गरेको थियो ।भरतपुर- ५ आनन्दपुर घर भई हाल अस्ट्रेलियामा रहेका डिला खरेलले यो पुरस्कार सौजन्य गरेका हुन् ।
पुरस्कृत स्रष्टा अनुजले कार्यक्रममा केही गजल सुनाएका थिए । उनले पुरस्कारबापत पाएको सबै रकम भरतपुर- ४ धर्मचोक, लङ्कूमा रहेको ज्ञानज्योति पुस्तकालयको भवन निर्माणका लागि हस्तान्तरण गरेका छन् । पुस्तकालयका अध्यक्ष गोविन्द कँडेललाई अनुजले उक्त रकम कार्यक्रम स्थलमै हस्तान्तरण गरे । पुरस्कृत स्रस्टा अनुजले पुरस्कारले आफूलाई गजल क्षेत्रको विकासका लागि अझै जिम्मेवारी बनाएको बताए ।
मञ्चका अध्यक्ष लेखराम सापकोटाको अध्यक्षतामा भएकाे अधिवेशनकाे उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहेका प्रभाकर पण्डितले विभिन्न कालखण्डमा गजल मञ्चमा सक्रियतापूर्वक लागेर गजलको उत्थान र संरक्षणमा भूमिका खेलेका अनुजलाई पुरस्कार प्राप्त हुनु खुसीको कुरा भएको बताए । मञ्चका संस्थापक अध्यक्ष धनराज गिरि, कविडाँडा साहित्य समाजका अध्यक्ष एलबी क्षेत्रीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
द्वारिका नेपाल स्मृति गजल पुरस्कार २०७९ सालमा मुक्त उदास र २०८० सालमा कमल अर्यालले प्राप्त गरेका थिए । नवौँ अधिवेशनमा पूर्वअध्यक्षहरू किसान प्रेमी, ऋषिप्रसाद लामिछाने, रमेश प्रभात, पुष्प अधिकारी अञ्जली, धनराज गिरिसहित आजीवन सदस्यहरूको उपस्थिति रहेको थियो ।

गजल मञ्च चितवनको अध्यक्षमा अनायास
गजल मञ्च चितवनको अध्यक्षमा रामकृष्ण अनायास चयन हुनु भएकाे छ । सोमबारकाे नवौँ अधिवेशनले अनायासकाे अध्यक्षतामा ८ सदस्यीय समिति निर्विरोध चयन गरेको हाे ।
मञ्च उपाध्यक्षमा कमल अर्याल, सचिवमा प्रमिला सानु, सहसचिवमा सिम्रन क्षेत्री र कोषाध्यक्षमा सरस्वती पौडेल चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा सुमन अविरत, जीवन सुवेदी र समिता पौडेल न्यौपाने चयन भए । बाँकी सदस्यलाई आगामी बैठकबाट थप गरिने नवनिर्वाचित अध्यक्ष अनायासले बताए । आफ्नो कार्यकालमा चितवनमा राष्ट्रिय स्तरका गतिविधि गर्ने र यहाँ बसेर गजल लेखिरहेका स्रस्टालाई एकीकृत गरी गजलका कार्यक्रमहरू गरिरहने उनले जानकारी दिए ।
गजल मञ्चकाे नयाँ नेतृत्व चयन पछि यसअघिका अध्यक्ष लेखराम सापकाेटा भन्छन् ‘मैले १ वर्ष कार्यबाहक र २ वर्ष पूर्ण जिम्मेवारीसहितको नेतृत्व गर्ने अवसर पाएँ । आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गर्न सकेको ठहर मलाई छ । मेरो नेतृत्वको कार्यकालमा मलाई हरहमेसा सहयोग गर्नुहुने उपाध्यक्ष रामकृष्ण अनायास, सचिव सरगम पारु, सहसचिव प्रमिला सानुजी, कोषाध्यक्ष लक्ष्मी घिमिरे, सदस्यहरू सिम्रन क्षेत्री, अविरत सुमन, अविरल यात्री, सरस्वती पौडेल, कृष्णप्रसाद सिंखडा र सुमन अर्याल मुस्कानसहित पूर्वअध्यक्षज्यूहरू, विशिष्ट सदस्यहरू, आजीवन सदस्यहरू, सल्लाहकारहरू सबै प्रति आभारी छु । नयाँ नेतृत्वलाई हार्दिक बधाई एवम् कार्यकाल सफलताको कामना गर्दछु ।’