तिमीमा चित्त लाएर बसेकी आज मै सुन ।
जागा भयौ तिमी आज शब्दले गर्छु पूजन ॥१॥
कसरी शब्द नै छानूँ फूलझैँ टिप्न सक्दिन ।
काँढा परेर घोच्ला कि चाहन्छु म त तर्किन ॥२॥
पवित्र मनका साथ वस्त्र शुद्ध धरीकन ।
पूजा पाठ म ता गर्छु शुद्ध मन्त्र पढीकन ॥३॥
हरि कीर्तन मै गर्दै सिँगार्छु तुलसी मठ ।
लेख्छु स्तुति म आफैँले अङ्गुली-पीत-चन्दन ॥४॥
दीप कलश विघ्नेश पहिले गर्छु पूजन ।
पूजेर हरि नै फेरि तुलसी गर्छु वन्दन ॥५॥
पहेँलो फूल हो राम्रो पीताम्बर सुहाउने ।
विष्णुको प्रिय हो भन्दै तिमीलाई चढाउने ॥६॥
पारेकी छु उनी ठिक्क माला यो पहिराउन ।
तरुलादि फलाहार नैवेद्य भाग लाउन ॥७॥
तुलसीप्रिय हो तिम्रो साथ गर्छु म वन्दन ।
तुलसीदल राखेर फलमा गर्छु अर्पण ॥८॥
शालिग्राम सँगै राखी तुलसी छेउमा अनि ।
विष्णुरूप भनी मानी विवाह तुलसी गरी ॥९॥
जे जे छन् ठिक्क पारेका सामग्री धूप चन्दन ।
अक्षता आज ता हुन्न द्रव्य पुष्पादि लीकन ॥१०॥
हे हरि ! तुलसी माता ! प्रीतिले गर्छु है स्तुति ।
प्रीतिकै भावले मैलै चढाएँ शब्दसङ्गति ॥११॥
सकेको पूजनै गर्छु मनले गर्छु अर्पण ।
भएमा विघ्नता केही गर माफ म दुर्जन ॥१२॥

