मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिकामा ट्याङ्करको टायर पड्किएर १ जनाकाे मृत्यु भएकाे छ भने ५ जना घाइते भएका छन् ।
हेटौडा–११,थानाभर्याङस्थित टायर मर्मत पसलमा मधेश प्रदेश ०३–००२ ख ०३०० नम्बरको ट्याङ्करको टायर पड्किएर भारतका महमद ऐजाजकाे भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ । सोमबार राती १ बजेको समयमा पेट्रोल लोड भएको उक्त ट्याङ्करको टायर पन्चर भएकाेमा टायर खोलेर मर्मतपछि हावा भर्ने क्रममा टायर पड्किएकाे हाे ।
घटनामा टायर पसलका संचालक भारतको भोजपुरका ३४ वर्षीय महमद मृत्यु भएको प्रहरीले जनाएकाे छ । टायर पड्किएर गम्भीर घाइते भएका महमदलाई उपचारको लागि चितवन मेडिकल कलेजमा लगिएकाे थियाे । डाक्टरले मंगलबार बिहान ४ बजेर १६ मिनेटको समयमा महमदलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
यस्तै टायर पड्किएर अन्य पाँच जना घाइते भएका छन् । घाइते हुनेमा टायर मर्मत पसलका कामदार पर्सा धोबिनी गाउँपालिका–२ का १८ वर्षीय जाबिर हवारे, ट्याङ्कर चालक हेटौंडा–११, स्मारकका ३९ वर्षीय देवान लामा, हेटौ्डा–११ नवलपुरका ४७ वर्षीय मोहनलाल दुलाल, सहचालक धादिङ जिल्लाको धुनिबेशी नगरपालिका–२, भञ्ज्याङपोखरीका २३ वर्षीय उत्तम बस्नेत, धादिङ जिल्लाकै थाक्रे गाउँपालिका–८ का ३८ वर्षीय लक्ष्मण थापा घाइते भएका छन् ।
घाइते सबैलाई उपचारका लागि चुरेहिल अस्पताल लगिएको थियो । प्रहरीका अनुसार ट्याङ्कर चालक लामाको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ भने अन्य घाइते डिस्चार्ज भएको मकवानपुर प्रहरीले जनाएको छ ।

