चितवन । गजलकार विनोद अनुज चितवनकाे भरपुरमा सम्मानित भएका छन् । युवा पुस्ताका गजलकार अनुज द्वारिका नेपाल स्मृति गजल पुरस्कारबाट सम्मानित भएका हुन् ।
गजल मञ्च चितवनको नवौँ अधिवेशनकाे अवसरमा सोमबार अनुजलाई २५ हजार रूपैयाँ राशीकाे उक्त पुरस्कार प्रदान गरिएकाे हाे । अधिवेशन उद्घाटन सत्रमा गजल मञ्च चितवनका पूर्वअध्यक्ष प्रभाकर पण्डितले अनुजलाई सम्मानपत्रसहित पुरस्कारले सम्मान गरेका थिए । गजल मञ्च चितवनको अध्यक्ष रहेका बेला २०७८ साल असोजमा दिवगंत द्वारिका नेपालको स्मृतिमा गजल मञ्च चितवनले पुरस्कार स्थापना गरेको थियो ।भरतपुर- ५ आनन्दपुर घर भई हाल अस्ट्रेलियामा रहेका डिला खरेलले यो पुरस्कार सौजन्य गरेका हुन् ।
पुरस्कृत स्रष्टा अनुजले कार्यक्रममा केही गजल सुनाएका थिए । उनले पुरस्कारबापत पाएको सबै रकम भरतपुर- ४ धर्मचोक, लङ्कूमा रहेको ज्ञानज्योति पुस्तकालयको भवन निर्माणका लागि हस्तान्तरण गरेका छन् । पुस्तकालयका अध्यक्ष गोविन्द कँडेललाई अनुजले उक्त रकम कार्यक्रम स्थलमै हस्तान्तरण गरे । पुरस्कृत स्रस्टा अनुजले पुरस्कारले आफूलाई गजल क्षेत्रको विकासका लागि अझै जिम्मेवारी बनाएको बताए ।
मञ्चका अध्यक्ष लेखराम सापकोटाको अध्यक्षतामा भएकाे अधिवेशनकाे उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहेका प्रभाकर पण्डितले विभिन्न कालखण्डमा गजल मञ्चमा सक्रियतापूर्वक लागेर गजलको उत्थान र संरक्षणमा भूमिका खेलेका अनुजलाई पुरस्कार प्राप्त हुनु खुसीको कुरा भएको बताए । मञ्चका संस्थापक अध्यक्ष धनराज गिरि, कविडाँडा साहित्य समाजका अध्यक्ष एलबी क्षेत्रीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
द्वारिका नेपाल स्मृति गजल पुरस्कार २०७९ सालमा मुक्त उदास र २०८० सालमा कमल अर्यालले प्राप्त गरेका थिए । नवौँ अधिवेशनमा पूर्वअध्यक्षहरू किसान प्रेमी, ऋषिप्रसाद लामिछाने, रमेश प्रभात, पुष्प अधिकारी अञ्जली, धनराज गिरिसहित आजीवन सदस्यहरूको उपस्थिति रहेको थियो ।

गजल मञ्च चितवनको अध्यक्षमा अनायास
गजल मञ्च चितवनको अध्यक्षमा रामकृष्ण अनायास चयन हुनु भएकाे छ । सोमबारकाे नवौँ अधिवेशनले अनायासकाे अध्यक्षतामा ८ सदस्यीय समिति निर्विरोध चयन गरेको हाे ।
मञ्च उपाध्यक्षमा कमल अर्याल, सचिवमा प्रमिला सानु, सहसचिवमा सिम्रन क्षेत्री र कोषाध्यक्षमा सरस्वती पौडेल चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा सुमन अविरत, जीवन सुवेदी र समिता पौडेल न्यौपाने चयन भए । बाँकी सदस्यलाई आगामी बैठकबाट थप गरिने नवनिर्वाचित अध्यक्ष अनायासले बताए । आफ्नो कार्यकालमा चितवनमा राष्ट्रिय स्तरका गतिविधि गर्ने र यहाँ बसेर गजल लेखिरहेका स्रस्टालाई एकीकृत गरी गजलका कार्यक्रमहरू गरिरहने उनले जानकारी दिए ।
गजल मञ्चकाे नयाँ नेतृत्व चयन पछि यसअघिका अध्यक्ष लेखराम सापकाेटा भन्छन् ‘मैले १ वर्ष कार्यबाहक र २ वर्ष पूर्ण जिम्मेवारीसहितको नेतृत्व गर्ने अवसर पाएँ । आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गर्न सकेको ठहर मलाई छ । मेरो नेतृत्वको कार्यकालमा मलाई हरहमेसा सहयोग गर्नुहुने उपाध्यक्ष रामकृष्ण अनायास, सचिव सरगम पारु, सहसचिव प्रमिला सानुजी, कोषाध्यक्ष लक्ष्मी घिमिरे, सदस्यहरू सिम्रन क्षेत्री, अविरत सुमन, अविरल यात्री, सरस्वती पौडेल, कृष्णप्रसाद सिंखडा र सुमन अर्याल मुस्कानसहित पूर्वअध्यक्षज्यूहरू, विशिष्ट सदस्यहरू, आजीवन सदस्यहरू, सल्लाहकारहरू सबै प्रति आभारी छु । नयाँ नेतृत्वलाई हार्दिक बधाई एवम् कार्यकाल सफलताको कामना गर्दछु ।’

