मकवानपुर । नेपाली कथानक चलचित्र अग्निदहन ७ मंसिर २०८१ बाट प्रदर्शनमा आउने भएकाे छ । चलचित्रमा बोक्साबोक्सी कुप्रथाको नाममा अझैपनि नेपाली समाजमा भइरहेको अन्याय र अत्याचार तथा त्यसविरुद्धको संघर्षको कथा रहेकाे निर्माण टिमले जनाकारी दिएकाे छ ।
चलचित्र विकास बोर्डले ‘विशेष चलचित्र अवार्ड’ प्रदान गरेको अग्निदहन ७ मंसिरबाट देशैभरका चलचित्र घर (सिनेमा हल) हरुमा प्रदर्शन हुने सोमबार हेटौंडामा पत्रकार भेटघाट मार्फत निर्माण पक्षले जानकारी दिएको हो । मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठानले निर्माण गरेको चलचित्र हलमा प्रदर्शनअघि नेपाल र भारतका विभिन्न ठाउँमा च्यारिटी प्रदर्शन गरिएको छ ।
चलचित्र निर्देशक धनश्याम लामिछानेले हाम्रो समाजमा घटेको सत्यघटनामा आधारित विषयवस्तुमा चलचित्र निर्माण भएको बताए । चलचित्रका संरक्षक मोहनराज शर्मा पौडेलले बोक्साबोक्सी कुप्रथाको उन्मुलन गर्ने अभियानमा चलचित्र सार्थक हुने विश्वास व्यक्त गरे । कलाकार प्रकाश घिमिरेले चलचित्रमा आफ्नो भूमिका र आफ्नो विचार मिलेकाले काम गरिएकाेले नयाँ अनुभव मिलेकाे बताए ।
चलचित्रलाई भोजपुरी र मैथिली भाषामा डबिङ गरिसकिएको छ भने हिन्दीमा पनि डबिङ भइरहेको निर्माण पक्षले जनाएको छ । घनश्याम लामिछानेले निर्देशन गरेकाे चलचित्र करिब एक करोडको लगानीमा निर्माण गरिएको बताइएकाे छ । चलचित्रमा लोकमणि पौडेलको कथा, पटकथा तथा संवाद र कोविदशरण उपाध्यायको परिकल्पना रहेको छ ।
प्रकाश घिमिरे, प्रमिला तुलाचन, माओत्से गुरुङ, अनुपमा भण्डारी, तुलसी क्षेत्री, विष्णु बास्तोला, निर्मल लामिछाने र तारा गुरुङलगायतकाे अभिनय चलचित्र देख्न सकिन्छ । १ महिना अघी टिजर सार्वजनिक भएकाे अग्निदहनकाे टेलर ४ दिन अघि सार्वजनिक भएकाे छ ।

